Comments Add Comment

पहिलो उडानमा आएका यात्रुलाई राजविराजमा स्वागत

१० असार, सप्तरी । आफ्नै गृहजिल्लामा जहाजबाट ओर्लिन पाउँदा सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझिया निवासी कृष्णलाल पण्डित निकै खुसी देखिए । मुस्कुराउँदै जहाजबाट ओर्लिएका ५५ बर्षीय पण्डितले भने, आफ्नो ठाउँमा जहाजबाट आउँदा एकदमै खुशी छु ।’

उनी काठमाडौंमा काम गर्ने छोरालाई भेट्न बसमा गएका थिए । रात्रीबसमा काठमाडौं गएका उनी रातभरी सुत्न पाएका थिएनन् । तर, छोराले जहाज चढाइदिएपछि केहीबेरमा राजविराज आइपुगेका छन् ।

राजविराज ६ की फुलियादेवी यादव पनि धेरै खुशी देखिइन् जहाजबाट ओर्लिदा । छोरा सचिदानन्दसँगै काठमााडौंबाट जहाजमा राजविराज आएकी ७० बर्षीया उनले भनिन्, ‘बस या माइक्रोमा जाँदा धेरै उल्टी हुन्थ्यो । तर केहिबेरमै राजविराज आएपछि त्यस्तो केहि समस्या झेल्नुपरेन् ।’

श्री एयरलायन्सको ५० सिटे जहाजले आइतबारदेखि राजविराज विमानस्थलमा नियमित उडान सुरु गरेको छ ।

शनिबार र मंगलबारबाहेक सातामा ५ दिन नियमित एउटा उडान गर्ने तालिका श्री एयरले बनाएको छ ।

२०१६ सालमा निर्माण भएको राजविराज विमानस्थलका रन वे काम हालै सम्पन्न भएर उद्घाटन गरिएको थियो । उडानको पहिलो दिन काठमाडौंबाट ४६ जना यात्रु राजविराज आएका छन् । राजविराजबाट २२ जना यात्रु काठमाडौं गएको श्री एयरलायन्सले जनाएको छ ।

जहाज राजविराजबाटै उड्न थालेपछि आफ्नो ठाउँ र काठमाडौं ओहोरदोहोर गर्नेहरुका लागि सजिलो भएको छ । राजपाका महासचिव केशव झा पनि पहिलो उडानबाटै काठमाडौं लागेका छन् । उनले यही ठाउँबाट जहाज उड्न थालेपछि असाध्यै खुशी लागेको बताए ।

राजविराजबाट जहाज उडन शुरु भएपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरीको पश्चिमी क्षेत्रका जनतालाई काठमाडौं जान सहज भएको छ । यसअघि विराटनगर या जनकपुर जानुपर्ने विवशता रहेको थियो ।

पहिलो यात्रु र कर्मचारीलाई सम्मान

श्री एयरलायन्सले पहिलो उडान गरेको दिन विमानस्थलमा राजनीतिक दलका नेतादेखि उद्योगी व्यापारी उपस्थित भए । छेउछाउका बासिन्दाहरुको उल्लेख्य रुपमा भीड लाग्यो ।

दिउँसो १ः१५ बजे काठमाडौंबाट उडेर २ः१० बजे यहाँबाट उड्ने तालिका एयरलायन्सले बनाए पनि आइतबार प्रधानमन्त्रीको टोली चीनबाट आएका कारण जहाज ढिलो विमानस्थलमा आएको थियो । यसबीचमा चर्काे घामकाबीच जहाज हेर्न र यात्रु तथा जहाजका कर्मचारीलाई स्वागत गर्न राजविराजका मेयर, उप मेयर, उद्योगी, व्यवसायी उभिरहेका थिए ।

पहिहलो पटक जहाज लिएर आउने जहाजका पाइलट, एयर होस्टेससहितका कर्मचारी र काठमाडौंबाट आउने र जाने सम्पूर्ण यात्रुलाई स्वागत गरिएको छ । राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झाले गम्छा तथा फूलको माला लगाइदिएर उनीहरुको सम्मान गरे ।
जहाज उड्न थालेपछि सप्तरी जिल्लाको विकासमा एक इँटा थपिएको बताउँदै सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले भने, यसबाट जिल्लामा थप चहलपहल बढ्नेमा आशावादी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment