Comments Add Comment

विदेश गएको बेला खानेपानी मन्त्रालयका सचिव हटाइए

१० असार, काठमाडौं । मेलम्ची आयोजनालाई लिएर ठेकेदार कम्पनीसँग विवाद भइरहेका बेला खानेपानी मन्त्रालयका सचिव कृष्णराज बीसीको सरुवा भएको छ ।

बीसी खानेपानीको विषयमा एक कार्यक्रममा सहभागी हुन ताजकिस्तान गएका छन् ।

त्यही बेला उनलाई हटाएर विवादित छविका गजेन्द्र कुमार ठाकुरलाई सचिव बनाइएको छ । ठाकुर यसअघि पनि खानेपानी मन्त्रालयको सचिव थिए ।

त्यसपछि ठाकुर र विज्ञान मन्त्रालयमा सचिव बीसीको मन्त्रालय साटासाट भयो । अहिले बीसीलाई हटाएर ठाकुरलाई नै खानेपानी मन्त्रालयमा ल्याइएको छ ।

विदेशबाट फर्किँदा आफ्नो सरुवा भएको थाहा पाएपछि सचिव बीसी असन्तुष्ट छन् ।

सचिव बीसी आफ्नो नयाँ कार्यालय जान छाडेका छन् । उनी निकट स्रोतले भन्यो, ‘उहाँ -कृष्णराज बीसी) नेपाल फर्किँदा अर्कै सचिवले हाजिर भएर काम सुरु गरिसकेको रहेछ, त्यो बेलादेखि विदा लिएर बस्नु भएको छ ।’

केपी शर्मा ओली चीन भ्रमणका गएको बेला बीसीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको स्रोतले बतायो ।

ठाकुरले भने गत मंगलबारदेखि खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

ठाकुर विवादित छविका मानिन्छन् । उनी सिँचाइ मन्त्रालयमा हुँदा घुस लिएर कर्मचारी सरुवा गरेको भन्दै कर्मचारीहरुले आन्दोलन नै गरेका थिए ।

त्यसपछि प्रचण्डको पालामा उनलाई शान्ति मन्त्रालयमा सरुवा गरिएको थियो । देउवा सरकारमा महेन्द्र यादव खानेपनी मन्त्री हुँदा त्यहाँ गए । त्यहाँबाट फेरि उनलाई तत्कालीन विज्ञान मन्त्रालयमा सरुवा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment