Comments Add Comment

जनप्रतिनिधिले बहिस्कार गरेपछि वीरगञ्जको नगरपरिषद स्थगित

महानगरको बजेट ५ अर्ब

१० असार, वीरगञ्ज । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाको दोस्रो नगरपरिषद स्थगित भएको छ । जनप्रतिनिधिहरुको बहुमत नपुगेका कारण नगरसभाको बन्द सत्र स्थगित गरिएको हो ।

महानगरपालिकाका विभिन्न वडाका वडा सदस्यहरुले सेवा सुविधाको माग राख्दै नगरसभाको उद्घाटन सत्रसमेत बहिष्कार गरेका थिए ।

उद्घाटनसत्र बहिस्कार गरेका वडा सदस्यहरु बन्द सत्रमा समेत सहभागी नभएपछि बन्द सत्र अघि बढ्न सकेन । नगरसभाको बन्द सत्र अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको छ ।

बन्दसत्रमा सहभागी हुन बारम्बार आग्रह गरिएको भए पनि वडा सदस्यहरुले नमानेपछि आवश्यक कोरम नपुगेका कारण बन्द सत्र हालका लागि स्थगीत गरिएको वीरगञ्ज महनगरपालिकाका प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । ‘महानगरपालिकामा १ सय ६२ जना जनप्रतिनिधि छन्, बन्द सत्रमा ५० प्रतिशत भन्दा बढी जनप्रतिनिधिहरु उपस्थित हुनु पर्ने प्रावधान छ । तर आज ४३ जना मात्र उपस्थित भए’ उनले भने ।

मागबारे नगरसभामा छलफल गर्ने र पारित गर्ने भन्दा पनि उनीहरु नमानेका नगर प्रमुख सरावगीले बताए ।

महानगरपालिकाको बजेट पाँच अर्ब

वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को लागि ४ अर्ब ९७ करोड १ लाख ७७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

वीरगन्जको नगरसभा गृहमा आइतबार आयोजित दोस्रो नगरसभामा उपप्रमुख शान्ति कार्कीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले सबै भन्दा बढी पूर्वाधार क्षेत्रको विकासका लागि बजेट छुट्याएको छ ।

कूल बजेटको ६७ प्रतिशत अर्थात तीन अर्ब ३६ करोड ६० लाख ८५ हजार रकम पूर्वाधार क्षेत्रको विकासका लागि विनियोजन गरिएको छ ।

यसैगरी वातावरण तथा विपद व्यवस्थापनका लागि १ करोड ९१ लाख ५० हजार, सामाजिक विकासामा ८५ करोड ५५ लाख २३ हजार, कृषि, पर्यटनमा दुई करोड २० लाख ६७ हजार, सामाजिक सुरक्षा भत्ताका लागि २० करोड रकम विनियोजन गरिएको छ ।

व्ययतर्फ चालु खर्चमा १ अर्ब ४४ करोड ७९ लाख नौ हजार, पूँजीगत खर्चमा तीन अर्ब ५१ करोड ४३ लाख ८५ हजार र वित्तीय व्यवस्थामा एक करोड ६ लाख ३ हजार रुपैयाँ छुट्याइएको छ ।

आय तर्फ नेपाल सरकारबाट सशर्त अनुदान ५५ करोड, प्रदेश सरकारबाट ससर्त अनुदानबाट तीन करोड, संघीय सरकारका कार्यक्रमसंग आबद्ध रकम २५ करोड ४६ लाख ७६ हजार, वैदेशिक स्रोततर्फ विभिन्न परियोजना कार्यान्वयनका लागि दुई अर्ब ६१ करोड ८२ लाख ९५ हजार, नगर विकाष कोषको पूर्वस्वीकृत ऋणबाट २३ करोड ३५ लाख २७ हजार, नेपाल सरकारको समानीकरण अनुदानबाट ४३ करोड १७ लाख, प्रदेश सरकारको समानीकरण अनुदानबाट ७७ लाख ९९ हजार, राजश्व बाँडफाँडबाट २२ करोड १ लाख २० हजार र आन्तरिक आयमा कर, सेवा शुल्क र दस्तुरबाट ५९ करोड ५३ लाख ६० हजार रुपैया आम्दानी हुने वीरगन्ज महानगरपालिका कार्यालयले जनाएको छ ।

महानगरपालिकाले बीबीसी नेपाली सेवाको वीरगञ्ज संवाददाता माधुरी महत्तो र भोजपुरी भाषा एंव संस्कृतिविद् उमाशंकर द्विवेदी, नेपाल ब्लड डोनर्स एसोसिएसन पर्सालाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment