Comments Add Comment

चितवनका कुन स्थानीय तहको कति ?, भरतपुरको बजेट ३ अर्ब ३४ करोड

१०, असार, चितवन । चितवनको भरतपुर महानगरपालिकाले दोस्रो नगरसभा मार्फत तीन अर्ब ३४ करोड पाँच लाख ८६ हजार रूपैयाँको बजेट ल्याएको छ ।

जसअन्तर्गत चालू तर्फ १ अर्ब ७० करोड ४९ लाख, पुँजीगततर्फ १ अर्ब ६२ करोड ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ ४ करोड ५० लाख, पूर्वाधार तथा सहरी विकासमा ५९ करोड, वातावरण तथा विपद् व्यवस्थापन १२ करोड, संस्थागत विकास तथा सेवा प्रवाहमा ३५ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

भरतपुर महानगरको गौरवको आयोजनाको रुपमा लिइएको रिङरोड र लिङक रोड यही महिनाभित्रै शिलान्यास गरी निर्माण प्रक्रिया अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भरतपुरका मूख्य तीन स्थानमा आकाशे पुल निर्माण, मूख्य चोकहरुमा अत्याधुनिक ट्राफ्रिक लाइट जडान, भरतपुर विमानस्थलको स्तरोन्नती, मेघौली विमानस्थललाई नियमित सञ्चालन, देवघाटधाममा विद्युतीय शवदाह गृह स्थापना गर्ने योजनालाई विशेष प्राथमिकतामा राखिएको छ ।

भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडालाई कुल ३१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । पहिलाको सिंगो कविलास गाविस रहेको हालको वडा नं २९ ले सबैभन्दा बढी एक करोड १५ लाख, वडा नम्बर १०, १५ देखि १७, २३, २५,२६, २७ र २८ ले एक करोड १० लाखका दरले र बाँकी १९ वटा वडाले एक करोड पाँच लाखका दरले रकम पाउने भएका छन् ।

रत्ननगर नगरपालिका

पूर्वी चितवनको रत्ननगर नगरपालिकाले दोस्रो नगरसभाबाट ८४ करोड ५४ करोडको बजेट सार्वजनिक गरेको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले समृद्ध नगर निर्माणका लागि भन्दै शिक्षा क्षेत्रमा लगानी बढि गरिएको बताए । शिक्षापछि पूर्वाधार, कृषि, पर्यटन, स्वास्थ्यमा बढी लगानी हुनेछ ।

कुल बजेटको २५ प्रतिशतको हाराहारीमा शिक्षामा विनियोजन गरिएको मेयर वनले बताए । नगरपालिकाले बजेटमार्फत सिटी हल निर्माण गर्ने, गौशाला, बसपार्क र भ्यू-टावर निर्माण गर्ने लक्ष्य लिएको छ । रत्ननगरले चालु आव ०७४/७५ का लागि ६८ करोड ३६ लाख ५९ हजारको बजेट ल्याएको थियो । रत्ननगर नगरपालिकालाई केन्द्र सरकारले ४४ करोड ८० लाख बजेट दिनेछ ।

खैरहनी नगरपालिका

खैरहनी नगरपालिकाले ६२ करोड ३९ लाख ५१ हजारको बजेट ल्याएको छ । नगर सभामा नगर उपप्रमुख सुनिता थपलियाले आगामी वर्षका लागि वाषिर्क नीति, कार्यक्रम तथा वजेट पेश गरेकी थिइन् ।

आन्तरिक आय ५ करोड १९ लाख पुर्‍याउने लक्ष्य लिएको खैरहनी नगरपालिकाले वित्तिय समानीकरणमा २४ करोड २९ लाख, प्रदेश सरकारबाट प्राप्त ३ करोड ३ लाख, अन्य आय १ करोड ५० लाख आम्दानी हुने अनुमान गरेको छ । गरपालिकाले कुल बजेटको २३ प्रतिशत पूर्वाधारमा, २४ प्रतिशत शिक्षामा १४/१४ प्रतिशत सामाजिक सुरक्षा र साधारण खर्चमा लगाएको छ । स्वास्थ्य, पर्यटन र कृषिमा कुल बजेटको ५/५ प्रतिशतका दरले रकम विनियोजन गरिएको छ ।

चालु आवका लागि नगरपालिकाले ४८ करोड ७५ लाखको बजेट पारित गरेको थियो । खैरहनी नगरपालिकालाई केन्द्र सरकारबाट विभिन्न अनुदानवापत ३२ करोड २१ लाख रकम प्राप्त हुने बजेटमा उल्लेख छ ।

नगरपालिकाले आगामी वर्षमा कृषि उत्पादन अभिवृद्धि एवम् वजार प्रर्वद्धनका लागि हाटवजार सञ्चालन गर्ने, दुध उत्पादक किसानहरुलाई अनुदानको व्यवस्था गर्ने, आगामी वर्ष वालश्रम मुक्त नगरपालिका घोषणा गर्ने, नगरपालिका क्षेत्र भित्र १५० शैय्यासम्मको बाल अस्पताल निर्माणका लागि पहल गर्ने, नगरपालिका क्षेत्रभित्र चक्रपथ निर्माणका लागि योजना वनाई कार्यान्वयन गर्ने, वसपार्क निर्माण गर्ने, खेतीयोग्य जमिन प्लटिङ गरेको जग्गा घडेरीको रुपमा बिक्री गर्ने कार्यलाई निरुत्साहित गर्ने नीति ल्याउने विषय बजेट तथा कार्यक्रममा समेटेको छ ।

राप्ती नगरपालिका

पूर्वी चितवनकै राप्ती नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि ५१ करोड २० लाख ४५ हजार बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले पेश गरेको नीति कार्यक्रम तथा वजेट नगर सभाले पारित गरेको छ ।

राप्ती नगरपालिकाले आगामी आर्थिक वर्षमा सर्शत अनुदानबाट १९ करोड ८१ लाख, राजस्व वाडँफाँटबाट १० करोड ८७ लाख, समानीकरण अनुदान १६ करोड ५२ लाख, आन्तरिक आय ४ करोड हुने अनुमान गरेको छ । नगर सभाले आगामी आर्थिक वर्षदेखी सुरु हुने गरी नगरपालिकाको भवन र सिटी हल निर्माण गर्ने कार्यलाई मुख्य योजनाको रुपमा अघि बढाएको छ ।

राप्ती नगरपालिका वडा नं ४ मा करिव ५ सय जना क्षमताको सिटी हल निर्माण गर्ने प्रस्ताव गरेको छ । नगर प्रमुख बरालले यसवर्ष सबैभन्दा बढी बजेट पूर्वाधारमा खर्च हुने बताइन् ।

कालिका नगरपालिका 

कालिका नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ का लागि ४९ करोड १८ लाख ६२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

‘कालिका नगरपालिकाको चाहना, कृषि पर्यटन र पूर्वाधार विकासको सम्भावना’ भन्ने नारा नगरपालिकाले दिएको छ । बजेटमा आम्दानीतर्फ आन्तरिक राजश्व २ करोड, नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान १४ करोड २६ लाख, समानीकरण अनुदान १३ करोड ५७ लाख, प्रदेश सभाबाट प्राप्त हुने सशर्त अनुदान ८२ लाख ३१ हजार, समानीकरण अनुदान २ करोड ५५ लाख ९३ हजार राखिएको छ ।

यसैगरी नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ८ करोड ६७ लाख ३८ हजार, शान्ति सुरक्षा भत्ता अनुदान ७ करोड, सडक बोर्डबाट प्राप्त हुने अनुदान ३० लाख रहेको छ ।

त्यस्तै व्ययतर्फ चालु खर्च २३ करोड ४७ लाख ९७ हजार, पूँजीगत खर्च १८ करोड ७० लाख ६५ हजार, सामाजिक सुरक्षा भत्ता ७ करोड रहेको छ । सडक बोर्ड कार्यक्रमको ३० लाख गरी कुल ४९ करोड १८ लाख ६२ हजारको आयव्यय विवरण प्रस्तुत भएको हो ।

नगर प्रमुख खुमनारायण श्रेष्ठले आर्थिक वर्ष २०७५/७६ को नीति वक्तव्य प्रस्तुत गर्दै कृषि, पर्यटन र पूर्वाधारलाई नगरको मुख्य प्राथमिकतामा राखिएको बताए ।

माडी नगरपालिका

चितवनको माडी नगरपालिकाले बजेटको ठूलो हिस्सा खोला नियन्त्रणमा खर्च गर्ने भएको छ । माडीमा हरेक बर्खामा उर्लिएर आउने खोलाका कारण सदरमुकाम भरतपुरसँग सम्पर्क बिच्छेद हुने गर्दछ । माडीमा दजनौं ठाडा खोलाहरु छन् ।

बर्षेनी जनधनको क्षति गर्ने, कटान गर्ने कारणले नगरपालिकाले खोला नियन्त्रणका उपायहरुमा लगानी बढाएको छ । माडी नगरपालिकाको आगामी आर्थिक बर्ष २०७५/७६ को लागि ९० करोड ३८ लाख ३५ हजारको बजेट ल्याएको छ । जसमा चालू तर्फ १४ करोड २७ लाख ३५ हजार, पूँजीगत तर्फ ७६ करोड ११ लाख रकम विनियोजन गरिएको छ ।

नगरपालिकाको आन्तरिक स्रोतबाट २ करोड ५० लाख बराबरका योजना तटबन्धनका लागि केन्द्रित हुनेछन् । यस्तै कतिपय खोलामा पुल बनाउन कठिन भएकाले ‘कजवे’ निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ । चन्द्रे, रिमाल, बाँदरमुढे लगायतका खोलामा कजवे बनाइने छ ।

नगरपालिकाकाले ३८ करोड बराबरको आन्तरिक आम्दानी हुने लक्ष्य लिइएको छ । माडीलाई संघीय सरकारले ३० करोड ३५ लाख र प्रदेश सरकारले ३ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

माडीका मेयर ठाकुर ढकालका अनुसार आगामी वर्ष विभिन्न भित्री सडक खण्डमा कालोपत्रे गर्न २४ करोड, शिक्षामा गुणस्तरीय र आकर्षण बढाउन २ करोड, कृषिमा ९ करोड, पर्यटन प्रवर्द्धन तथा विकासमा ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । बाँदरमुढे खोलामा भारतीय सहयोगमा १० करोड बराबरको परियोजना सञ्चालन गर्ने लक्ष्य छ ।

इच्छाकामना गाउँपालिका

जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामनाले ४० करोड ३५ लाख ३६ हजार ७ सय ४९ को बजेट गाउँसभामा पेश गरेको छ ।

गाउँपालिकाले आन्तरिक राजश्व तर्फ ३ करोड ८५ लाख उठाउने लक्ष्य लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।

कृषि पर्यटनलाई लक्षित गरी बजेट विनियोजन गरिएको र पूर्वाधार निर्माणमा बिषेश ध्यान दिइएको अधिकृत सापकोटाले बताए । इच्छाकामनामा गाउँपालिकालाई केन्द्र सरकारले २२ करोड १५ लाख विभिन्न अनुदान दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment