Comments Add Comment

नेता पक्रेको विरोधमा विद्यालय बन्द, मारमा अवोध बालबालिका

११, असार, चितवन । चितवनमा विद्यालय खुलेलगत्तै आइतबार र सोमबार दुई दिन निजी तथा सरकारी विद्यालयहरु बन्द भएका छन् ।

प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) का जिल्ला नेता पक्राउ गरेको भन्दै विरोधमा उक्त संगठनले जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आहृवान गरेका छन् । विद्यालय वन्द भएपछि बालबालिकाहरु पढ्ने अधिकारबाट बञ्चित भएका छन् ।

अखिल क्रान्तिकारीले जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई क्रमशः रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पस र माडी बहुमुखी क्याम्पसबाट पढिरहेको समयमा गैर न्यायिक ढंगबाट प्रहरी प्रशासनले गिरˆतार गरेको भन्दै दुबै जनाको तत्काल रिहाइको माग गर्दै बन्द गरेको जनाएको छ ।

पक्राउ परेका विद्यार्थी नेता रिहाइ नभएसम्म आन्दोलन जारी रहने क्रान्तिकारीले जनाएको छ । तर, चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले पक्राउ परेका विद्यार्थी नेता तत्काल रिहा नगर्ने बताए । ‘उनीहरुलाई सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएको छ’ एसपी राठौरले भने, ‘चन्दा माग्ने, सार्वजनिक सम्पतीको क्षति गर्ने, स्काभेटरमा आगो लगाउने काम गरेकोले उनीहरुलाई पक्राउ गरिएको हो । ‘

विद्यालय बन्दप्रति सरोकारवालाको चासो 

विद्यालय बन्द भएपछि शिक्षा क्षेत्रसँग सम्बन्धित बिभिन्न संघसंगठनले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय खुलाउन माग गरेका छन् । नेपाल शिक्षक महासंघले विद्यार्थीहरुको परीक्षाको मुखैमा  विद्यालय बन्द गरिनु उचित नभएको भन्दै विद्यार्थीका जायज मागलाई पूरा गर्न सम्वन्धित पक्षसँग माग गरेको छ ।

महासंघमा आवद्ध संघसंगठनहरु नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनले पनि बन्दको बिरोध गरेका छन् । यस्तै विभिन्न पेशागत संघसंगठनहरुले पनि जिल्लामा भैरहेको अनिश्चितकालीन शैक्षिक संस्था बन्दप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

चितवन जिल्ला अदालत बार एसोसियन, नेपाल पत्रकार महासंघ चितवन, नेपाल राष्ट्रिय अभिभावक संघ, संस्थागत विद्यालय अभिभावक संघ, प्याव्सन चितवन र इष्टु चितवनले संयुक्त विज्ञप्ति जारी गरी विद्यालय खोल्न दवाव दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी)लगायत आठ प्रतिपक्षी संयुक्त विद्यार्थी संगठनले माग पूरा नगरे तीन दिने शैक्षिक हड्ताल गर्ने धम्की दिएका छन् ।

सरकारले नागरिकको मौलिक अधिकार शिक्षालाई निजीकरण र व्यापारीकरण गरेको विरोधमा भन्दै शैक्षिक हड्ताल गर्ने बताएका छन् । नयाँ शक्ति पार्टीसहितका विद्यार्थी संगठनले असार १९ गते साँझ देशव्यापी मशाल जुलुस निकाल्ने र असार २०,२१ र २२ गते शैक्षिक आमहड्ताल गर्ने जनाएका छन् ।

शैक्षिक दलाल र माफियाको पक्षमा लागेर सरकारले शिक्षामा सिन्डिकेट लादेको आरोप उनीहरुको छ । आन्दोलनमा अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम नेपाल, अनेरास्ववियू (पाँचौं), राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी) र अखिल (क्रान्तिकारी) सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment