Comments Add Comment

सांसदको प्रश्न : जग्गा दलालले रक्सी खाने ठाउँमा बजेट किन ?

११ असार, बुटवल । प्रदेश ५ सरकारले पेश गरेको प्रदेश विनियोजन विधेयकमाथि सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टी जनाएका छन् ।

सोमबारदेखि प्रदेशसभा वैठकमा शुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिएका १३ जनामध्ये १२ जना सत्तापक्षका सांसदले विनियोजन विधेयकप्रति असन्तुष्टी जनाएका हुन् ।

वैठकको सुरुमै दाङबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टीका सांसद इन्द्रजित थारुले विनियोजन विधेयक नीति तथा कार्यक्रममा आएका नीति र सिद्धान्तअनुरुप नभएको भन्दै बजेट समाजवाद उन्मुख नभएको धारणा राखे ।

उनले बजेटमा पूर्वाग्रही गन्ध आएको बताउँदै जग्गा दलालहरुले रक्सी खाने ठाउँलाई पर्यटकीय विकास गर्ने भनी जबर्जस्ती बजेट पारिएको आरोप लगाए । ‘ऐतिहासिक महत्वका पर्यटकीय ठाउँहरुलाई छाडेर जग्गा दलालहरुले रक्सी खाने ठाउँलाई पर्यटकीय विकास गर्ने भनी जबरजस्ती बजेट पारिएको छ’ थारुले भने ।

सत्तारुढ दल नेकपाकै अर्का सांसद कूलप्रसाद पोखरेलले विनियोजन विधेयक त्रुटीपूर्ण रहेको भन्दै सच्याउन आग्रह गरे । नेकपाकै अर्का सांसद इन्द्रप्रसाद खरेलले मुख्यमन्त्रीले वजेटमा कसैलाई भेदभाव नगर्ने बताए पनि बजेटमा दाङ र रुपन्देहीलाई बढी प्राथमिकता दिएको र बाँकेलाई उपेक्षा गरिएको गुनासो गरे ।

नेकपाकै अर्का सांसद दिपेश थारुले बजेटमा बर्दियाका कुनै योजना नपारिंदा बर्दियाबासीले आफूहरु प्रदेश ५ मा रहेको अनुभूति गर्न नपाएको बताए । नेकपाकै सांसद दामा शर्माले विनियोजन विधेयकमा समन्यायिक वितरण नभएको बताउँदै मुख्यमन्त्रीले खानेपानी योजनाका लागि माग भएका सबै योजना समेट्ने वाचा विपरीत वजेट आएको गुनासो गरिन् ।

राष्ट्रिय जनमोर्चाकी सांसद तारा जीसीले प्रदेश सरकारको समृद्ध प्रदेश खुशी जनता नारा नारामै सीमित भएको र हात्तीको देखाउने दाँतमात्रै भएको आरोप लगाइन् ।

अर्का सांसद तेजबहादुर वलीले कतिपय निर्वाचन क्षेत्रमा एउटा पनि योजना नपारिंदा न्यायपूर्ण नभएकोले विनियोजन विधेयक पुनर्विचार गर्न माग गरे । संघीय समाजवादी फोरमका सांसद सन्तोष पाण्डेले सडक आयोजनाहरु झण्डै पाँच सय संख्यामा रहेकाले विनियोजित वजेट सडकको नामाकरणका लागि हो या बनाउनका लागि हो भनी प्रश्न गरे ।

कपिलवस्तुबाट निर्वाचित नेकपाका सांसद विष्णु पन्थीले वजेटको बचाउ गर्दै बजेटको सीमितता कारण धेरै क्षेत्र समेट्न नसकिएको बताए । यस्तै सांसदहरु तिलकराम शर्मा, दीपेन्द्र पुनमगर, तुलाराम घर्तीमगर, कृष्णप्रसाद न्यौपानेले वजेट कार्यान्वयन गर्न सके आलोचनामुक्त हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment