Comments Add Comment

‘अब धेरै भाषण नगर्ने, काम गर्ने !’

'स्वतन्त्रताको परिभाषा के हो ? हामीलाई पनि सिकाइदिनुपर्‍यो !


१२ असार, काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको भन्दै अब सरकारको ध्यान घरेलु विषयहरुमा केन्द्रित हुने बताएका छन् ।

‘छिमेकीसँगको सरकारको सम्बन्ध एकदमै सन्तुलित भयो । दुबैतिरको सम्बन्ध राम्रो भयो’ मन्त्री बास्कोटाले मंगलबार अनलाइनखबरसँग भने, ‘अब सरकारको ध्यान घोषित कामहरुलाई समयमै सम्पन्न गर्नेतिर केन्दि्रत हुन्छ । सरकार अब घरेलु ईस्युहरुमा केन्द्रित हुन्छ ।’

मन्त्री बास्कोटाले भने- ‘अब धेरै भाषण नगर्ने, काम गर्ने । परिणाम दिने । अब जसको जे काम हो, त्यही काममा केन्द्रित हुने ।’

प्रधानमन्त्री केपी ओलीले चीन र भारतको भ्रमण गरेपछि अब छिमेकीसँगको सम्बन्ध सुधि्रएको र आपसी विश्वास बढेको मन्त्री बास्कोटाको विश्लेषण छ । एकातिर सम्बन्ध बिग्रँदा अर्कोतिर टाँसिने विगतको परम्परा अब अन्त्य भएको उनले बताए ।

‘हामीले अलिकति भन्नैपर्ने हुन्छ, उता सम्बन्ध बिग्रँदा उता ढल्कने र अर्कोपटि्ट सम्बन्ध सुधि्रँदा उतापटि्ट बिर्सने समस्या नेपालमा थियो । अहिले यो समस्या क्रस भयो र दुईवटै देशको विश्वास जित्ने काम भयो,’ मन्त्री बास्कोटाले भने- ‘उनीहरु (भारत र चीन) को आर्थिक क्षमता र प्रविधि छिमेकीलाई पनि बाँड्नुपर्छ भन्ने नेपालको जुन मान्यता हो, यसमा प्रधानमन्त्रीको भ्रमण भारतको हकमा पनि र चाइनाको हकमा पनि सफल भयो ।’

बाह्य मामिलामा सरकारको भूमिका सामान्यतः प्रभावकारी नै देखिए पनि घरेलु राजनीति एवं आन्तरिक मामिलामा भने सरकारको भूमिका प्रभावकारी हुन नसकेको जनगुनासोबारे हामीले मन्त्री बास्कोटालाई केही प्रश्न सोध्यौंः

अधिकांश मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेको जनतामा गुनासो बढिरहेको छ । सरकारको काममा ढिलासुस्ती भयो, महंगी बढ्यो भन्ने गुनासा आउन थालेका छन् नि ?

हरेक बजेटपछि कुनै न कुनै कुरामा केही महंगी बढ्ने विगतमा पनि भएको छ । अहिलेमात्रै पहिलो घटनाचाहिँ होइन । त्यसैले स्वाभाविक र अस्वाभाविक कुरातर्फ हामीले ध्यान दिनुपर्ने हुन्छ । अलिअलि स्वाभाविक वृद्धि हरेक साल भएको छ । तर, कृत्रिम अभाव खडा गरेर महंगी बढाउन खोजिएको भए त्यसलाई कन्ट्रोल गर्ने काम हुन्छ ।

तपाईहरुसँग यथेष्ठ बहुमत छ, तर सरकारलाई ठाउँठाउँबाट डिस्टर्ब भइराखेको छ । जस्तै- विपक्षीले ओली सरकार अधिनायकवादी बाटोमा अघि बढेको आरोप लगाइरहेको छ । डा. गोविन्द केसी पनि ओली सरकार अधिनायकवादी भयो भन्दै सडकमा आइसके…

मलाई के लाग्छ भने राम्रा कामहरु हुन खोज्दा नागरिक समाजले पनि समर्थन गर्नुपर्छ ।

निर्माण व्यवसायीले जिम्मामात्रै लिने तर काम गरेनन्, काम गर भन्दाखेरि उल्टै काम गरिन्न भनिसकेपछि पनि सरकारले केही गर्नै नपाउने ? काम गर भन्नु अधिनायकवाद हो भने सुतिराख्नुपर्छ भन्ने ? यसले हामीलाई कहाँ पुर्‍याउँछ ?

हामी अलिकति हावामा बहकिन्छौं । जस्तो कि-सिण्डिकेटको कुरामा कसैलाई असर त पथ्र्यो नै । जसले नचाहिँदो काम गरेका थिए, तिनलाई असर पर्‍यो । तर, आम जनतालाई राम्रो भयो । यस्तो काम गर्नु अधिनायकवाद होइन ।

विशेष गरी अहिले महंगी बढ्यो भनेर तपाईहरुले भन्नुभयो, कृत्रिम अभाव खडा गर्ने, उखुको भाऊ नदिनेखालका जुन कुराहरु छन् । सरकारले मूल्य तोकेको अनुसार नगरेर नियम, कानून अनुशासन केही पनि नमान्ने ? अनि मलाई मन लागेको मात्रै गर्न पाउनुपर्छ र त्यही नै नागरिक स्वतन्त्रता भन्ने हो भने त्यो सबैभन्दा ठूलो अराजकता हो ।

विपक्षीले सरकारको आलोचना गर्न र बोल्न त पाउनुपर्‍यो नि ?

सरकारविरुद्ध टिप्पणी गर्ने साथीहरुले पनि के हेर्नुपर्छ भने सरकारले संविधान उल्लंघन गर्‍यो कि ? सरकारले कानुन उल्लंघन गर्‍यो कि ? सरकारले प्रचलित नियमहरुलाई उल्लंघन गर्‍यो कि ? सरकारले सामाजिक मूल्य, पद्दति, परम्परा र मान्यताहरुलाई बिथोल्ने, भत्काउने कुरा गर्‍यो कि ?

अब सुशासन कायम गर्नका निम्ति निर्माण व्यवसायीहरुले समयमै काम सक्नुपर्छ, कालोबजारी गर्न पाइँदैन, त्यस्तालाई कारवाही गरिन्छ भन्दाखेरि त्यही नै अधिनायकवाद हो भने स्वतन्त्रताको परिभाषा चाहिँ के हो, हामीलाई पनि सिकाइदिनुपर्‍यो क्या !

सामाजिक सञ्जालमा मन्त्रीहरुको चर्को आलोचना भइरहेको छ, यसमा के भन्नुहुन्छ ?

सामाजिक सञ्जाल र अनलाइनहरु भिन्न हुन् । अनलाइनहरु न्यू मिडियाअन्तरगत मेन स्ट्रिम जर्नालिज्मभित्र आउनुपर्छ । सामाजिक सञ्जालचाहिँ साइबर क्राइम अनुसार रेगुलेट हुनुपर्छ । मेरो मान्यता यही हो ।

यो पनि पढ्नुहोस्

मोवाइलमा इन्टरनेट शुल्क घटाउँछौं :  सञ्चार मन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment