Comments Add Comment

कांग्रेस सांसदले प्रधानमन्त्रीलाई भने : मन्त्रीहरुलाई ठीक लगाउनुस्

कांग्रेस सांसदले किन गरे प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना ?

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मन्त्रीहरु लगाम लगाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस सांसद मिनेन्द्र रिजालले कानुन बनाउने अधिकार छ भन्दैमा कानुन मिच्न नपाइने बताए । उनले कानुन, गृह, पर्यटन, सञ्चारमन्त्रीको कामको फेहरिस्त सुनाउँदै भने, ‘प्रधानमन्त्रीज्यू, लगाम लगाउनुस् आफ्ना मन्त्रीहरुलाई । कानुनमा बस्न, संविधान अनुसार चल्न लगाम लगाउनुस् आफ्ना मन्त्रीहरुलाई ।’

कानुनमन्त्री ‘न्यायाधीश तिमी के निर्णय गर्छौ, त्यस आधारमा तिम्रो उन्नति हुन्छ’ भन्दै धम्क्याउँदै हिँडेको भन्दै उनले आलोचना गरे । एउटा फैसलाका भरमा कानुनमन्त्रीले न्याय परिषद्मा कुरा उठाउँछु भनेको भन्दै सांसद रिजालले भने, ‘न्याय परिषद्को सदस्य हो मन्त्री, मन्त्रीले कारबाहीको प्रक्रिया सुरु गर्न सक्नुहुन्छ तर एउटा मुद्दाको फैसलाबाट होइन । अनुशासन पालना भएन भने कारबाही सुरु गर्ने हो । तर, न्यायाधीश थर्काउने अधिकार कानुनमन्त्रीलाई छैन ।’

गृहमन्त्रीको काम शान्ति व्यवस्था कायम गर्ने भए पनि सबैलाई थुन्छु भन्दै धम्क्याउँदै हिँडेको उनले बताए । ‘कानुन देखाउनुस्, ऐन देखाउनुस्, मान्छे थुन्न पाउनुहुन्छ’ उनले भने, ‘कसैलाई पनि ऐन कानुन विपरीत थुन्न पाइँदैन ।’

आक्रामक रुपमा प्रस्तुत भएका रिजालले अघि भने, ‘कानुन फेर्न सक्ने संख्या संसदमा छ भनेर कानुन मिच्न पाइँदैन । हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले त्यही भन्छ । प्रधानमन्त्रीज्यू, मन्त्रीहरुलाई नियन्त्रणमा राख्नुपर्‍यो ।’

एयरपोर्टका कर्मचारीमा पर्यटनमन्त्रीको आतंक रहेको पनि सांसद रिजालले बताए । ‘जागिर खाने हो भने यो काम गर, नभए हुँदैन’ भन्दै तर्साएको भन्दै सांसद रिजालले पर्यटनमन्त्रीलाई भनेका छन्, ‘तर्साउनै पर्दैन । तपाईलाई देख्दा नै डराइहाल्छन् नि ।’

‘एक वर्ष नपुगेका, दुई महिना नपुगेका कर्मचारीलाई कुन पार्टीलाई मत हाल्यो भन्ने आधारमा एउटा कार्यालयबाट अर्कोमा पुर्‍याउने काम गरिँदैछ । यो गर्न पाइँदैन ।’ उनले भने ।

सांसद रिजालले भनेका छन्, ‘चित्त बुझ्दैन संविधान बदल्ने तागत छ, संशोधन लिएर आउनुस् । कानुन बदल्नुस् । तर, कानुन बदल्ने तागत छ भनेर कानुन मान्दिन भन्न पाइँदैन । त्यही हो हुकुमीतन्त्र, त्यही हो सर्वसत्तावाद ।’

सरकार सर्वसत्तावादी बाटोको हिँडेको छ भन्ने चिन्ता लागेकाले खबरदारी गरेको उनले बताए ।

सञ्चारमन्त्रीले प्रश्न सोधेको भरमा नेपाल टेलिभिजनमा कार्यक्रम नै बन्द गरेको तथा पत्रकार को हुने भनेर प्रेस काउन्सिलले जाँच लिने व्यवस्था गर्न खोजेको भन्दै उनले आक्रोश पोखे । पूर्वसञ्चारमन्त्रीसमेत रहेका सांसद रिजालले भने, ‘पत्रकारको जाँच आम नागरिकले पत्रिका पढेर लिन्छ मन्त्रीजी । प्रेस काउन्सिलले लिने परीक्षा दिएर पत्रकार हुने व्यवस्था सर्वसत्तावादी व्यवस्था हो ।’

प्रधानमन्त्री कार्यालयमा एयरपोर्ट पनि थपियोस्

प्रधानमन्त्री कार्यालय अन्तर्गत राजश्व अनुसन्धानदेखि थुप्रै कार्यालय जोडिन आएको भन्दै सांसद रिजालले यो सबै किन चाहियो भनेर प्रश्न गरेका छन् । ‘कार्यालय नै राखेर जिम्मेवारी दिइन्छ र ठीक गर्न सकिन्छ भन्ने हो भने अब एयरपोर्टको काम पनि प्रधानमन्त्री कार्यालयमा सारियोस्’ उनले भने ।

प्रधानमन्त्री चीनबाट फर्किदा भैरहवाबाट आएका यात्रुलाई एक घन्टासम्म विमानभित्रै राखिएको भन्दै उनले भने, ‘यसलाई सच्याउन पर्यटनमन्त्रीजीले सक्नुहुन्न होला । त्यसैले प्रधानमन्त्री कार्यालयमा त्यो नयाँ कार्यालय पनि थपियोस् ।’

७६ जना यात्रुलाई एकघन्टासम्म यसरी राख्न नपाइने भन्दै रिजालले अघि भने ‘राजा गए, नयाँ राजा आए, यो संस्कृतिका लागि गणतन्त्र आएको होइन ।’

स्वास्थ्यलाभको कामना

कांग्रेस सांसद रिजालले प्रधानमन्त्रीलाई सञ्चो छैन भन्ने खबर आएको भन्दै स्वास्थ्य लाभको कमना गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे संसदलाई जानकारी गराएपछि एक जनाले मात्र प्रश्न सोध्न पाइन्छ भनेर नतोकेको भए हुने भन्दै उनले भने, ‘हामी प्रधानमन्त्रीजीको स्वास्थ्यलाई ध्यानमा राखेरै दलको तर्फबाट प्रश्न सोध्थ्यौं ।’

सभामुखले नै मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल गर्दा प्रधानमन्त्रीको तर्फबाट उपप्रधानमन्त्री हुनुहुन्छ भनेको भन्दै सांसद रिजालले भने, ‘अहिलेसम्म आएका सबै जानकारीलाई ध्यानमा राख्दा मैले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दैपर्छ । शीघ्र स्वास्थ्य लाभको कामना गर्छु ।’

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment