Comments Add Comment

सुपर कम्प्युटरको संख्यामा चीन सबैभन्दा अगाडि, अमेरिका दोस्राे स्थानमा


अमेरिकाले हालै विश्वको सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटरको निर्माण गर्यो । तर पछिल्लोपटक सार्वजनिक भएको विश्वका ५ सय वटा सबैभन्दा तीव्र गतिका सुपर कम्प्युटरको सूचीमा चीन अमेरिकाभन्दा निकै अगाडि देखिएको छ । पछिल्लो सूचिले चीन कति तीव्र गतिमा सुपर कम्प्युटरको निर्माणमा लागिरहेको छ  भन्ने देखाएको छ ।

विश्वका टप ५ सय सुपर कम्प्युटरमध्ये चीनसँग २ सय ६ वटा सुपर कम्प्युटर रहेका छन् । सार्वजनिक सूचीले चिनियाँ सरकार तथा कम्पनीहरुले तीव्र गतिमा सुपर कम्प्युटर निर्माण गरिरहेको देखाएको छ ।

कुल ५ सय मध्ये चीनले २ सय ६ वटा सुपर कम्प्युटर बनाउँदा अमेरिकाको नाममा भने १ सय २४ वटामात्र सुपर कम्प्युटर रहेका छन् ।

वर्षौँसम्म अमेरिकाले सुपर कम्प्युटरको बजारमा प्रभुत्व जमाइरह्यो । तर दुई वर्षअघि चीनले टप ५ सय सुपर कम्प्युटरको सूचीमा आफूलाई पहिलोपटक पहिलो स्थानमा उभ्याएको थियो । पछिल्लो समयमा चीनले दोस्राे स्थानको अमेरिकासँगको दूरी बढाउँदै लगेको छ ।

सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटर निर्माण गर्नुले कुनै पनि मुलुकको प्राविधिक क्षमताको मापन गर्ने एउटा आधार प्रदान गर्दछ । यद्यपि, यी सुपर कम्प्युटर निकै दुर्लभ मेसिनको एकत्रित रुप हो ।

मुलुक तथा कम्पनीहरुले सुपर कम्प्युटरलाई चिकित्सा, ऊर्जा प्रविधि, नयाँ पदार्थको निर्माण जस्ता अनेक कार्यमा प्रयोग गरिरहेको पाइन्छ ।

सुपर कम्प्युटिङ चीनको तीव्रतम प्राविधिक विकासको एउटा खुट्किलो हो जसले अमेरिकामा देशको योजना तथा रणनीतिका विषयमा चासोको सिर्जना गर्ने गर्दछ । साथै चीनले विकास गर्ने सुपर कम्प्युटर तथा प्राविधिक विकासको आर्थिक तथा भूराजनीतिक प्रभावका विषयमा पनि अमेरिकामा चर्चा हुने गरेको छ ।

अमेरिका र चीनबीच सुपर कम्प्युटिङ प्रविधि प्रायः व्यापारको विषय पनि बन्ने गरेको छ । सन् २०१५ मा अमेरिका सरकारले चीनका चारवटा सुपर कम्प्युटर ल्याबका लागि माइक्रो प्रोसेसर उत्पादन गरी बेच्ने लाइसेन्स इन्टेल कम्पनीलाई प्रदान गर्न अस्वीकार गरेको थियो । चिनियाँ सुपर कम्प्युटर ल्याबहरुले चिनियाँ सैनिकका लागि काम गरेको आरोप अमेरिकाको थियो । अमेरिकाको यो रबैयाका कारण चीनले सुपर कम्प्युटरको सम्पूर्ण प्रविधि विकास तथा उत्पादनमा आफैं अग्रसर भयो र अन्ततः सफलता पनि प्राप्त गर्यो ।

विज्ञहरुका अनुसार चिनियाँ वैज्ञानिकहरु सुपर कम्प्युटरको क्षेत्रमा समग्र पश्चिमा प्रविधिलाई चिनियाँ प्रविधिले विस्थापित गर्ने क्रममा छन् ।

सुपर कम्प्युटरहरु विगतमा पूर्णरुपमा सरकारी ल्याबहरुले प्रयोग गर्दथे । आणविक विस्फोटनको सिमुलेसन, मौसमको प्यार्टनको मोडेलिङ जस्ता सरकारी योजनाहरुमा यसको प्रयोग हुन्थ्यो । तर अहिले अस्तित्वमा रहेका टप ५ सय सुपर कम्प्युटमध्ये आधाजसो निजी व्यवसायी संस्थाहरुको प्रयोगमा रहेका छन् ।

एजेन्सीकाे सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment