Comments Add Comment

प्रचण्ड नहुँदा नेकपाका नेता बेरोजगार !

केन्द्रको निर्देशन नहुँदा प्रदेश कमिटी बन्न सकेनन्

१४ असार, काठमाडौं । नेकपामा दुईमध्ये एक अध्यक्ष प्रचण्ड यतिबेला सिंगापुरमा छन् । असार १३ गते नै नेपाल फर्कने भनिए पनि पत्नी सीता दाहालको ‘वाटर थेरापी’ नसकिपछि उनको स्वदेश फिर्ती केही दिन लम्बिएको छोरी गंगा दाहालले जनाइसकेकी छिन् ।

प्रचण्ड सिंगापुर गएका बेला नेकपाका अर्का अध्यक्ष केपी र्शमा ओली चीन गएका थिए । अध्यक्ष ओली फर्किइसकेका छन्, तर प्रचण्ड नहुँदा नेकपाको पार्टी काम अगाडि बढ्न सकेको छैन । एकीकृत पार्टी संस्थागत नभइसकेकाले दुईमध्ये एक अध्यक्ष अनुपस्थित हुँदा पार्टी कामहरु अगाडि बढ्न सक्ने अवस्था छैन ।

नेता बने बेरोजगार

पार्टी एकतापछिको व्यवस्थापनले गति लिन नसकेपछि यतिबेला नेकपाका नेताहरु बिजनेशविहीन अर्थात बेरोजगारजस्तै बनेका छन् ।

दुईसाता अघि बसेको स्थायी कमिटीको बैठकले पार्टीको विधान, प्रतिवेदन र नियमावली अध्ययन गर्नलाई १५ दिनको समय दिएको थियो । त्यो १५ दिने अवधि लगभग पूरा भइसकेको छ ।

यसका साथै प्रदेशहरुमा तल्ला कमिटीहरुको एकीकरणका लागि कार्यदलहरु बनेका छन् र कतिपयले आफ्नो काम गरिरहेका छन् । तर, केन्द्रबाटै स्पष्ट निर्देशन नगएका कारण प्रदेश र जिल्ला कमिटीहरु बन्न सकिरहेका छैनन् ।

नेकपाका नेता देवेन्द्र पौडेलले अनलाइनखबरसँग भने- ‘प्रदेश कमिटी कत्रो बनाउने भन्ने केन्द्रले नै टुंगो लगाउनुपर्ने हुन्छ, त्यो माथिबाटै टुंगो नलागेसम्म तलका कामहरु अवरुद्धजस्तै भइरहेको अवस्था छ । अब अध्यक्ष प्रचण्ड नेपाल फर्किएपछि करिब एक साताभित्रमा प्रदेश कमिटीहरुको संरचना केन्द्रले निश्चित गर्ने र काम अघि बढ्ने पौडेलले जानकारी दिए ।

नेकपाका एकजना नेताले अनलाइनखबरसँग भने- ‘प्रचण्डजी नभएका बेला कुनै निर्णय गर्दा अविश्वास र विवाद बढ्न सक्ने भएकाले पार्टीका कुनै पनि काम प्रचण्ड स्वदेश फर्किएपछि मात्रै अगाडि बढ्नेछन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली चीन र प्रचण्ड सिंगापुर गएका बेलामा पार्टीको कार्यबाहक नेतृत्व माधव नेपालले सम्हालेका थिए । तर, पार्टी यतिबेला संस्थागत निर्णयमा भन्दा पनि दुई नेताको निर्णयमा मात्र चल्ने भएकाले प्रचण्ड र ओली वा दुईमध्ये एकजना मात्र अनुपस्थित हुँदा समस्या देखिएको नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment