Comments Add Comment

सुनकाण्डबारे केही बोल्दिनँ : आईजीपी सर्वेन्द्र खनाल

१४ असार, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३८ क्वीन्टल सुन तस्करीका विषयमा भइरहेको अनुसन्धानबारे आफूले केही नबोल्ने बताएका छन् ।

महानिरीक्षक नियुक्त भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले सुन काण्डबारे अनुसन्धान गर्न गृह मन्त्रालयले छुट्टै समिति गठन गरेकाले आफूले यसबारे टिप्पणी नगर्ने बताएका हुन् ।

सुनकाण्डमा प्रहरी कर्मचारीहरुसमेत अनुसन्धानमा तानिएकाले आफ्नो चासो रहेको भन्दै यस विषयमा गृह मन्त्रालयले गठन गरेको समितिले अनुसन्धान गरिरहेको खनालले बताए । उनले अपराधीकरण भने निर्मुल हुनुपर्ने धारणा राखे ।

खनालले प्रस्तुत गरेको आफ्नो प्रगति विवरणमा जिल्ला प्रहरी कार्यालय मोरङले सुनकाण्डबारे अनुसन्धान गरी मुद्दा दर्ता गरेको पनि उल्लेख गरिएको थियो ।

आईजीपी खनालले आफ्नो कामलाई तीन तहमा विभाजन गर्दै शान्ति सुरक्षा र अपराध अनुसन्धान पहिलो प्राथमिकतामा राखेका छन् ।

त्यस्तै, प्रहरी संगठनलाई पनि संघीयता अनुसार रुपान्तरण गर्न कानुन निर्माण र विशेष प्रहरी कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको जानकारी दिए ।

विशेष प्रहरी कार्यक्रममा लागू औषध नियन्त्रण र मानव बेचबिखनविरुद्ध अभियानलगायत रहेका छन् ।

बढुवा विवादको बचाउ 

डीएसपी र एसपी बढुवामा कामको मूल्याङ्कनभन्दा राजनीतिक पहुँचका आधारमा निर्णय भएको भन्दै प्रहरी संगठनभित्र रहेको असन्तुष्टिबारे सार्वजनिक रूपमै टिका टिप्पणी भइरहेको छ ।

तर, खनालले भने बढुवा प्रक्रियाको बचाउ गरेका छन् ।

‘एसपी बढुवामा २८ सिट थियो । र, बढुवा हुनु पर्नेमा एउटै ब्याचका धेरै थिए । धेरै पटकको छलफलबाट निर्णय लिइएको हो’, खनालले भने, ‘जसको नाम बढुवामा पछि पर्‍यो भनिएको छ, उनीहरुले त मलाई भेटेर बढुवा गरेकोमा धन्यवाद दिएका छन् । फेरि कसरी असन्तुष्ट भए ?’

उनले राम्रो काम नगर्ने अफिसरलाई फिर्ता बोलाइने समेत बताए । हेटौंडाका प्रहरी प्रमुखलाई फिर्ता तानिएको स्मरण गर्दै उनले भने, ‘नराम्रो काम गर्नेहरु अरु पनि फिर्ता तानिन्छन् ।’

यो पनि पढ्नुस् 

आईजीपी बनेपछि गुमनाम भए सर्वेन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment