Comments Add Comment

देउवालाई बालुवाटारमा किन खुवाइयो ‘बर्न भिटा’ ?

सिटौला समूहको प्रश्न -कांग्रेस प्रतिपक्ष हो कि कम्युनिस्टको सहयोगी ?

फाइल तस्वीर

१७ असार, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएपछि केही कांग्रेस नेताले शेरबहादुर देउवालाई सोधे ‘यो के गरेको ? सरकारको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षले नै सर्वसम्मत बनाइदिने ? संसदीय इतिहासमै नभएको अभ्यास किन गरियो ?’ देउवाले यो प्रश्नको जवाफ अहिलेसम्म दिएका छैनन् ।

नेपालको संसदीय इतिहासमा बहुमतको सत्ता र अल्पमतको प्रतिपक्ष भएको बेला नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको पहिलो घटना भन्दै सत्तारुढ नेकपाले यसलाई ठूलो उपलब्धीको रुपमा ब्याख्या गर्‍यो । जतिसुकै राम्रो नीति कार्यक्रम ल्याइए पनि त्यो कहिल्यै पूर्ण हुँदैन । विपक्षमा बसेर यो भएन वा यसो हुनुपर्‍यो भन्ने आधार ‘रामराज्य’मा पनि हुन्छ । तर, कांग्रेसले कम्युनिस्ट सरकारलाई ‘रामराज्य’ भन्दा पनि सर्वस्वीकार्य बनाइदिएको आरोप देउवामाथि लागेको छ ।

उसै पनि सत्ताले आँखा देख्दैन भनिन्छ । प्रमुख प्रतिपक्षको भूमिका भनेकै सत्तालाई खबरदारी गर्ने र उसका विरुद्ध जनमत संगठन गर्ने हो । तर, जुन दिन कांग्रेसले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गर्न कांग्रेसले साथ दियो, त्यही दिनबाट कांग्रेस केपी ओलीले भने जस्तै ‘कम्युनिस्टको सहयोगी’ भूमिकामा पुगेको छ ।

पार्टी एकीकरण समारोहमा ओलीले भनेका थिए, ‘कांग्रेस अब हाम्रो प्रतिस्पर्धी शक्ति रहेन, सहयोगी मात्र हो ।’ ओलीको त्यो भनाइको तत्कालै कृष्ण सिटौलाले बालुवाटारमै पुगेर प्रतिवाद गरे । देउवा, रामचन्द्र पौडेलसहित पुगेका सिटौलाले प्रतिवाद गरेपछि ओलीले आफ्नो भनाइ सच्याउँदै कांग्रेसलाई सहयोगी होइन, सहकर्मी शक्ति भनेको बताए । बालुवाटारको त्यो बैठकमा सिटौलाले ‘हामीलाई बर्नभिटा खुवाउन बोलाउनुभएको ?’ भन्ने प्रश्न पनि गरेका थिए ।

ओलीले त्यसअघि पेरिसडाँडामा पुगेर बोल्दा रातारात तंगि्रने गरी कांग्रेसलाई कसले खुवायो बर्न भिटा ? भनी प्रश्न गरेका थिए । सिटौलाले प्रतिवाद गरे पनि कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलले ओलीले ‘बर्न भिटा’ खुवाउने आशमा शीतलनिवास र बालुवाटारमा ओहोर-दोहोर गरिरहेको आरोप खेपिरहेका छन् । इतिहासकै कमजोर प्रतिपक्षको भूमिकामा पुगेको कांग्रेस ‘जग्गा, जमिन र वैभव’ गुमाएको पुरानो सामन्तजस्तै बन्न पुगेको सिटौलाले हालैको भेलामा सुनाएका थिए । वास्तवमा कांग्रेस त्यस्तै हालतमा छ ।

पछिल्लोपटक राष्ट्रपति भवन शीतलनिवासमा ओली र प्रचण्डसँगै देउवा र रामचन्द्र पौडेलको ४ घण्टा लामो खानपिनको प्रसंंग पनि कांग्रेस वृत्तमा चर्चामा छ । सत्तापक्षलाई के त्यस्तो आपत आइलाग्यो ? जसले गर्दा राष्ट्रपतिलाई साक्षी राखेर प्रमुख विपक्षी नेताहरुलाई ४ घण्टा वार्ता गर्नुपर्‍यो ? यो प्रश्न केही नेताले औपचारिक र अनौपचारिक मञ्चहरुमा राखे पनि जवाफ पाएका छैनन् ।

बस् उल्टै यसबीचमा देउवा दम्पती प्रधानमन्त्री निवास बालुवाटारमा ‘मेजमानी’ खान पुग्ने गरेको चर्चाले कांग्रेसभित्र जायजेथा गुमाएको पुरानो सामन्तको प्रशंग पनि ‘गसीप’ बन्न थालेको छ । कमजोर प्रतिपक्षका नेतालाई बलियो सत्तापक्षका नेताले शीतल निवास र बालुवाटारमा बोलाएर के त्यस्तो ‘बर्न भिटा’ खुवाउँदैछन् ? जसले गर्दा प्रतिपक्ष सडक र सदन सबैतिर एजेण्डनविहीन बनिरहेको छ ? यो प्रश्न कांग्रेसभित्र पन्पनिँदैछ ।

‘यदि कांग्रेसलाई सिध्याउनु छ भने नेकपाले देउवालाई टिकाइराखे पुग्छ । देउवा र रामचन्द्रको जोडी बनाइदिने हो भने त कांग्रेस आफैं धुलिसात् हुन्छ ।

पछिल्लो समय कांग्रेसले संसदका केही थान सभापतिका लागि सत्तापक्षसँग बार्गेनिङ गरिरहेको छ । समान्यतः प्रतिनिधिसभामा सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षलाई दिने प्रचलन हो । विगतमा ०४८ सालदेखिको संसदीय अभ्यासलाई हेर्ने हो भने पनि कांग्रेसले एमालेलाई लेखा समितिको सभापति दिएको थियो । बाँकी राष्ट्रियसभा र प्रतिनिधिसभाका अन्य समितिको सभापति सत्तापक्ष जसको बहुमत छ, उसको हुने प्रचलन हो ।

तर, यसपटक कांग्रेसले दुबै सदनका सभापतिमा भागवण्डा खोजेको छ । यो प्रकरणले पनि कांग्रेसको प्रतिपक्षी चरित्रमा दाग लगाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि प्रकट भइरहेको छ । संविधानले दिएको सभामुख वा उपसभामुखमध्ये एक पदका लागि बोल्नुपर्ने कांग्रेस सत्तापक्षको निगाहमा सभापति पद लिन हात पसार्नु भनेको प्रतिपक्षको भूमिका कमजोर बनाउनु हो । संविधानले नै दिएको अधिकार सत्तापक्षले खोस्दा त्यसको प्रतिवाद गर्नुपर्नेमा उल्टै एकाध सभापतिका लागि बार्गेनिङ गर्नुले कांग्रेसलाई कमजोर बनाउँदैछ ।

हालैको भेट भएका एक वरिष्ठ कांग्रेस नेताले भने ‘शेरबहादुर देउवा र आरजुलाई ८/९ वटा संवैधानिक नियुक्तिमा भागवण्डा गरेर ‘आफ्ना मान्छे’ सेटल गर्नु छ । रामचन्द्रलाई पुनर्निर्माण प्राधिकरणमा सम्धीको जागिर जोगाउनु छ । यति सजिला प्रतिपक्षका नेता पाएपछि ओलीले अरुलाई गन्छन् ? रातभर शीतलनिवास र बालुवाटारमा बोलाएर बर्नभिटा खुवाएपछि कांग्रेस मिल्छ भन्ने परिसकेको छ ।’

उनले अघि भने, ‘यदि कांग्रेसलाई सिध्याउनु छ भने नेकपाले देउवालाई टिकाइराखे पुग्छ । देउवा र रामचन्द्रको जोडी बनाइदिने हो भने त कांग्रेस आफैं धुलिसात् हुन्छ ।

कांग्रेसका शीर्षनेताहरु आफूले नियुक्त गरेका राजदूत, प्रदेश प्रमुख र जीएमहरुको जागिर जोगाइदिउँ भन्दै प्रधानमन्त्रीसमक्ष धाउन थालेपछि प्रमुख प्रतिपक्षको भूमिका कमजोर बन्दैछ । वास्तवमा कांग्रेस नेताहरुमा सत्ताको हृयाङओभर उत्रेको छैन । त्यसैले उनीहरु सरकारलाई गलत काम गरेवापत नङ्ग्याउने भन्दा पनि सुझाव दिएर सच्याउने भूमिकामा देखिन्छन् ।

सत्ता उसै पनि दमनकारी हुन्छ । उसले आलोचना गर्नेमाथि कानुनको नाममा बल प्रयोग गर्छ । त्यसमाथि अहिलेको सत्ता दुई तिहाई बहुमत सहितको अभूतपूर्व शक्तिशाली कम्युनिस्ट सत्ता हो । यो सत्तालाई चेक गर्न बलियो प्रतिपक्ष चाहिने हो । तर, कांग्रेस बलियो प्रतिपक्ष होइन, सहयोगी जस्तै बन्दैछ ।

प्रतिपक्षले सडक र संसल दुबैतिर मुद्दा उठान गर्न सकेको छैन । जुन मुद्दा उठाइएको छ, ती मुद्दाहरु आम जनतासँग सरोकार नै राख्दैनन् । नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेकै दिनदेखि कांग्रेसले प्रतिपक्षको चरित्र गुमाइसकेको सिटौलाले एक प्रशंगमा सुनाएका थिए ।

जब सत्ताबाट आश हुन्छ, तब प्रतिपक्षीय र आलोचनात्मक भूमिका समाप्त हुन्छ । अहिले दुई तिहाई बहुमतसहितको शक्तिशाली सत्तालाई खबरदारी गर्न बलियो र लोभमोह नभएको प्रतिपक्ष चाहिने हो । तर, कांग्रेसका मुख्य नेता नियुक्ति, र जागिर थमाउने तथा केही थान सिटमा बार्गेनिङ गर्ने भूमिकामा सिमित हुन थालेपछि मुलुकमा प्रतिपक्षी मैदान खाली भएको छ । कांग्रेसले गर्नुपर्ने प्रतिपक्षीय कर्मकाण्ड गर्न पनि कम्युनिस्ट स्कुलिङका बुद्धिजीविहरु मैदानमा उत्रिने अवस्था सिर्जना भएको छ ।

सत्ताले जे बोल्छ वा जे गर्छ, त्यसको निरपेक्ष आलोचनामात्र गरिँदा सत्तापक्ष झनै बलियो हुन्छ भने प्रतिपक्ष सत्ताको सहयोगी मात्र । तर, कांग्रेस कमजोर हुनु भनेको तत्कालीन अवस्थामा प्रतिपक्षी आवाज कमजोर हुनु हो ।

प्रतिपक्षले सडक र सदनमा सही मुद्दा उठाएर आलोचना गर्दा मिडियाले पनि स्थान दिन्छ । पत्रकारिता भनेको प्रतिपक्षी आवाज बोक्ने माध्यम हो । तर, आलोचनात्मक हुनुपर्ने नाममा सत्ताका हरेक कामको मिडियाले आलोचना गर्न सक्छ ? प्रमुख प्रतिपक्षले उठाएका आलोचनात्मक पक्षलाई मिडियाले स्थान दिनु ‘क्रिटिकल एप्रोच’ नै हो ।

तर, जब देशको प्रतिपक्ष नै एजेण्डाविहीन बन्छ भने आलोचनात्मक चेत भएका पत्रकार, लेखक र वुद्धिजीविहरु नै प्रतिपक्षी बेञ्चमा पुग्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment