Comments Add Comment

ठेकदारको लापरवाही, काम नसकिंदै बाढीले बगायो तटबन्ध

१७ असार, सिन्धुपाल्चोक । डिभिजन सडक कार्यालयले भोटेकोशी तथा सुनकोशी नदी नियन्त्रणका लागि ठेकदार मार्फत लगाएको तटबन्धन काम सम्पन्न नहुँदै भोटेकोशी नदीले बगाएको छ ।

बाह्रविसे नगरपालिका अन्तर्गत भोटेकोशी नदीको नदी किनारआसपासमा लगाएको जाली वाल र ढलान निर्माण सम्पन्न नहुँदै नदीले बगाएको हो ।

गत वर्ष आएको भोटेकोशी बाढीले अरनिको राजमार्गको बाह्रविसे तातोपानी सडक खण्डको विभिन्न ठाउँमा नदीले कटान गरेपछि डिभिजन सडक कार्यालय दोलखाले निर्माण व्यावसायीहरुबाट नदी नियन्त्रणका काम गराएको थियो । तर, ठेकेदारले गुणस्तरहीन काम गरेपछि नदी छेउमा लगाएको मेशीनरी ढलान र जाली गाह्रो सबै नदीले बगाएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।

ठेकदारमार्फत काम सुरु भएपछि गुणस्तरीय काम गराउन आफूहरुले डिभीजन सडक कार्यालय र ठेकेदारहरुलाई पटकपटक भनेपनि उनहरुले वास्ता नगर्दा अहलिे निर्माण नसकिदै तटबन्ध नदीले बगाएको मेयर शेर्पाले आरोप लगाए ।

बाह्रविसे नगरपालिकाको खोर्सानीबारीको इलाका प्रहरी कार्यालय नजिकै नदी किनारमा लगाएको १० मिटर मेशेनरीवाल,कंक्रिट ढलान र जालीवाल सबै नदीले बगाएको छ ।

नदीले कटान नगरोस भनेर नदीको छेउ-छेउमा लगाएको ब्रेकर समेत नदीले बगाएको छ । नदी कटान रोक्न लगाएको वाल नै भत्काएपछि अहिले अरनिको राजमार्ग जोखिममा परेको मेयर शेर्पाले बताए ।

खोसानीबार छेउमा मात्रै होइन,बाह्रविसे नजिकै स्थानीय महभिर भन्ने र बाह्रविसे माथी जम्बु गुह्य खोलामा लगाएको वाल समेत भत्किन सुरु गरेको मेयर शेर्पाले जानकारी दिए ।

काम नसकिदै तटबन्धन भत्केपछि स्थानीय प्रशासन,जिल्ला समन्वय समितिका प्रमुख लगायतले भत्किएको स्थलको स्थलगत अनुगमनसमेत गरेका थिए ।

हामीले सुरुदेखि नै काम सन्तोष्जनक नभएपछि प्रमुख जिल्ला अधिकारी र डिभिजन सडक कार्यालयका प्रमुखलाई जानकारी गराएपनि डिभिजन प्रमुख अशोक तिवारी नै ठेकेदारसँग मिलेको मेयर शेर्पाले आरोप लगाए ।

बाह्रविसे नगरपालिका भित्र सडक कार्यालयले गरेको काम चित्त नबुझ्दो भएपछि छलफलको लागि पटक पटक पत्र काटेर बोलाएपनि डिभीजन प्रमुख तिवारीले आफूहरु स्थानीय सरकारको मातहातमा नभइ केन्द्र सरकार मतहातमा भएकोले नआउने भन्दै पत्र पठाएको मेयर शेर्पाले जानकारी दिए ।

डिभीजन सडक कार्यालयका प्रमुख लगायत साइड हेर्ने सबै प्राविधिकहरु ठेकदारसँग मिलेर बदमासी गरेको शेर्पाको आरोप थियो ।

शोक तिवारी भने नदीले बगाएको तटबन्ध भत्केपछि आफूले सम्बन्धित निर्माण व्यवसायीलाई पुन निर्माण गर्न भनेको बताए ।

‘अहिले त नदी बढेको छ, अब अहिले निर्माण गर्न सकिंदैन नदीको वहाव कम भएपछि असोज कार्त्तिकमा पुन निर्माण हुन्छ,’ तिवारीले भने, ‘निर्माण व्यावसायीहरुले इन्स्योरेन्स क्लेम गर्नु भएको छ क्यारे, अब त्यताबाट पैसा आएपछि मर्मत गरिदिनु हुन्छ।’

अरनिको राजमार्गको विभिन्न स्थानमा नदी नियन्त्रणका लागि नदी छेउमा सडक कार्यालयले पलम्प कक्रिट प्रवृधिको ढलान गरेको थियो । ढलान गर्दा मापदण्ढ विपरीत ठुला-ठ्ला ढुङ्गा हालेपछि यस अघि दुइ/तीन पटक बाह्रविसे नगरपालिकाले ठेकेदारको कामसमेत रोकेको थियो ।

‘काम रोकेपछि राम्रो काम गर्छौ भनेर ठेकदारहरुले प्रतिबद्धता गरेका थिए तर अहिले कामको अवस्था यस्तो छ ।’ मेयर शेर्पाले भने । डिभिजन सडक कार्यालयले बन्धन भगवती निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो । यसका प्रमुख मुकेश पन्तसँग सम्र्पक गर्न खोज्दा उनी सम्र्पकमा आउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment