Comments Add Comment

हतियार भनेर चेक गर्दा ३ किलो सुन पो भेटियो !

१७ असार, काठमाडौं । प्रहरीले महेन्द्रनगरबाट काठमाडौंतिर आएको एउटा कारमा हतियार ल्याइँदैछ भन्ने सूचनाको आधारमा नागढु‌ंगा चेकपोस्टमा निगरानी बढायो । यद्यपी, नागढुंगा प्रहरीले कार काठमाडौं प्रवेश गर्दा केही हात पारेको थिएन ।

तर, त्यही कार काठमाडौंबाट फर्किँदा भने ३ किलो सुन भेटियो ।

महेन्द्रनगरतिरबाटै आएको त्यस सूचनालाई प्रहरीले गम्भीरताका साथ लिएको थियो । सोही सूचनालाई पछ्याउँदै प्रहरी यूके ०२४६८४ नम्बरको भारतीय कार फर्किने समयको पर्खाइमा थियो ।

‘कार महेन्द्रनगरबाट आएको वेला पनि चेक त गरेका थियौं । तर, शंकास्पद केही भेटिएको थिएन’, महानगरीय प्रहरी प्रभाग नागढुंगाका एक अधिकारी भन्छन् ।

त्यसैबीच शनिबार दिउँसो काठमाडौं प्रहरीले निगरानीको सूचीमा राखेको त्यस कार नागढुंगा नाकामा देखा पर्‍यो । लगत्तै, प्रहरीले कारलाई ‘साइड’ लगाएर चेकजाँच थाल्यो ।

तब त्यहाँ हतियार नभइ, सुनका ३ वटा विस्कुट फेला परे । त्यसपछि प्रहरीले कारका चालक भारतको उत्तराखण्डको चम्पावत थाना टनकपुर नयाँ गाउँका १९ वर्षीय दीपककुमार मौर्य र त्यसमा सवार कञ्चनपुरको भीमदत्तनगर–६, बनगाउँका २३ वर्षीय मनोज विकलाई पनि नियन्त्रणमा लियो ।

प्रहरीका अनुसार उनीहरुले ३ किलो बराबरको सुनको विस्कुट गाडीको इञ्जिनमाथिको इयर फिल्टर बक्सभित्र लुकाएका थिए ।

शनिबार भेटिएको सुन सार्वजनिक गर्न आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलनमा  परिसर प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘हामीलाई हतियार वा अन्य कुनै अवैध सामग्री त्यो कारबाट आउँदैछ भन्ने सूचना थियो । त्यसपछि निगरानी बढाएका थियौं ।’

नागढुंगा नाकाबाट बरामद भएको ३ किलो सुन तस्करीमा संलग्न समूहले पछिल्लो ३ महिनामा ४ पटक सुन तस्करी गरेको प्रहरीको आशंका छ

३ महिनामा ४ पटक सुन तस्करी

पछिल्लो समय नेपालमा भइरहेको सुन तस्करीको र्‍याकेटबारे अनुसन्धान गर्न सरकारले विशेष अनुसन्धान समितिले नै गठन गरेको छ । जसले ३ वर्षमा एउटा समूहले मात्रै ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्ष निकालिसकेको छ ।

घटनामा ८ प्रहरी अधिकारी समेत मुछिएका थिए । तर, सुन तस्करी भने अझै रोकिएको छैन । सरकारी समितिले अनुसन्धान जारी राखेकै वेला अन्य समूहले तस्करीलाई निरन्तरता दिइरहेका छन् ।

यसअघि पर्सामा पनि प्रहरीले एक किलो सुनसहित सर्लाहीको हरिपुरका सन्तोषकुमार शाहलाई पक्राउ गरेको थियो ।

काठमाडौं प्रहरी परिसरले नागढुंगा नाकाबाट बरामद गरेको ३ किलो सुन तस्करीमा संलग्न समूहले पछिल्लो ३ महिनामा ४ पटक सुन तस्करी गरेको प्रहरीको आशंका छ ।

भारतीय नागरिक अशोक कुमार, सञ्जना शाह र चन्द्रमोहन जोशीको समूहले पछिल्ला ३ महिनामा ४ पटक सुन तस्करी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको हो ।

पक्राउ परेका सवारी चालक र अर्का व्यक्तिको बयानको आधारमा परिसरका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा खेटिएको टोलीले उनीहरुलाई काठमाडौंको एल्लो प्यागोडा होटलबाट नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका अशोककुमार ‘क’ र सञ्जना ‘ग’ श्रेणीका ठेकेदार हुन् ।

महेन्द्रनगर हुँदै चम्पावत जान्थ्यो सुन

पक्राउ परेकाहरुको बयान जारी छ । प्रहरी स्रोतका अनुसार प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका सवारी चालकले आफूहरु महेन्द्रनगर हुँदै गड्डा चौकी नाकाबाट चम्पावत जान लागेको बताएका थिए ।

‘यो समूहले तस्करी गरेर लगेको सुन चम्पावतमै खपत हुने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’, काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने । यद्यपि, कार चालकले भने गाडीमा सुन राखिएको बारे आफूलाई थाहा नभएको दाबी गरेका छन् ।

‘गाडीमा सुन राखिएको छ भन्ने मलाई थाहा थिएन । प्रहरीले चेकजाँच गरेर निकालेपछि मात्रै थाहा पाएको हुँ’, परिसरका एक अधिकारीले मौर्यको बयानलाई उदृत गर्दै भने, ‘होटलमा गाडी राखेको वेला त्यहाँ सुन राखिएको हुन सक्छ ।’

पक्राउ परेका पाँचै जनामाथि भन्सार ऐन, २०६४ बमोजिम अनुसन्धान गरी आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापा बताउँछन् ।

यो पनि पढ्नुस् 

नागढुंगाबाट ३ केजी सुन बरामद, ५ जना पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment