Comments Add Comment

महोत्तरीमा एकै दिन सर्पले टोकेर ४ जनाको मृत्यु

१८ असार, बर्दिबास । महोत्तरीमा सोमबार एकै दिन सर्पको टोकाईबाट चार जनाको मृत्यु भएको छ । बर्दिवास नगरपालिकामा २ जनाको र गौशाला नगरपालिकामा २ जनाको मृत्यु भएको हो ।

उनीहरु सबैलाई गएराति सुतेकै ठाउँमा सर्पले टोकेको प्रहरीले जनाएको छ ।

बर्दिवास नगरपालिका ५ का २७ वर्षीय बलबहादुर तामाङ, बर्दिवास नगरपालिका ६ का ७३ बर्षीय तिलकमाया राउतको मृत्यु भएको हो ।

तामाङको बर्दिवास-३ सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बाहिर लैजाने क्रममा मृत्यु भएको हो भने राउतको उपचारको लागि ल्याउँदै गर्दा मृत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

त्यस्तै गौशला नगरपालिका १२ बस्ने ३६ वर्षीय सुशीलकुमार सिंह र सोही ठाउँका ११ वर्षीय मनिष राउतको सर्पको टोकाइबाट मृत्यु भएको छ । सर्पले टोकेको सिंह र राउतको उपचारको लागि ल्याउदै गर्दा बाटोमा मृत्यु भएको बर्दिवास-३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्ऽले जनाएको छ ।

सर्पको टोकाईबाट केही दिनअघि बर्दिवास-१ कि एक चार वर्षीया  बालिकाको मृत्यु भएको थियो । बर्दिवासका दुई जनाको कोब्रा सर्पले टोकेको लक्षण देखा परेको र गौशाला नगरपालिकाका २ जनाको करेत सर्पको टोकाईको लक्षण देखा परेको सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

वर्षातसँगै महोत्तरी जिल्लामा सर्पदंशको घटना हृवात्तै बढेको छ । आव २०७४/०७५ मा मात्रै २६३ जना सर्पदंशका बिरामीहरुको उपचार गरिएकोमा असार महिनामा मात्र उपचार केन्द्रले ३१ जनाको सर्पदंशका बिरामी उपचार गरेको जनाएको छ ।

उपचार केन्द्रमा एण्टी स्नेक भाइल प्रयाप्त भए पनि उपचारमा आवश्यक पर्ने भेन्टिलेटरको व्यवस्था नहुँदा सर्पदशंको उपचारको क्रममा मानवीय क्षति हुने गरेको छ ।

यसैबीच बर्दिवास नगरपालिकाका प्रमुख वीदुरकुमार कार्कीले  भेन्टिलेटरसहितका उपचार उपकरण बर्दिवास अस्पतालको भवन निर्माण सम्पन्न नहुँदा स्वास्थ्य बिभागमा थन्किएर बसेको बताए ।

अस्पताल भवन निर्माण हुन थालेको करिब एकदशक हुनलाग्दासम्म सम्पन्न हुन नसक्दा यहाँका बासिन्दा अत्यावश्यक उपचार सेवाबाट वञ्चित हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment