Comments Add Comment

मेक्सिकोले ब्राजिललाई अहिलेसम्म गोल हानेको छैन, आज के गर्ला ?

१८ असार, काठमाडौं । विश्वकपमा समूह ‘ई’ को विजेता ब्राजिल र समूह ‘एफ’ को उपविजेता मेक्सिकोबीच सोमबार राति पौने ८ बजे खेल हुँदैछ ।

विश्वकपमा मेक्सिकोले ब्राजिलविरुद्ध अहिलेसम्म गोल गर्न सकेको छैन । उनीहरुबीच भएको चार भेटमा मेक्सिकोले ११ गोल खाएको छ । यसपटक पनि लयमा देखिएका ब्राजिलियन फरवार्डलाई रोक्न मेक्सिकोलाई सहज छैन ।

समूह चरणमा दुई खेलमा जित र एक खेलमा बराबरी गरेको ब्राजिल र दुई खेलमा जित र एक खेल हारेको मेक्सिकोबीच अहिलेसम्म ४० पटक खेल भइसकेको छ । जसमा ब्राजिलले २३ खेल जितेको छ भने मेक्सिकोले १० खेल जितेको छ ।

सात खेल बराबरी भएको छ । सबैमा गरेर मेक्सिकोविरुद्ध ब्राजिलले ७३ गोल हानेको छ भने ३६ गोल खाएको छ ।

मेक्सिकोले समूह चरणको पहिलो खेलमा विश्वविजेता जर्मनीलाई पराजित गर्दै धेरैलाई अचम्ममा पारेको थियो । त्यसपछिका खेलमा भने मेक्सिकन टिमको लय उस्तै देखिएन । अन्तिम खेलमा त स्वीडेनसँग ३-० ले पराजित भयो ।

ब्राजिलले भने पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरी खेलेको थियो । दोस्रो खेलमा इन्जुरी समयको गोलले कोस्टारिकालाई हराएको ब्राजिलले तेस्रो खेलमा सर्बियालाई २-० ले सहजै हरायो ।

यसपटक विश्वकप सुरु नहुँदैदेखि खेलाडीहरुलाई हेरेर जितको प्रबल दाबेदारका रुपमा ब्राजिललाई लिइएको थियो । तर राम्रा भनिएका टोली विश्वकपबाट बाहिरिरहेका बेला महत्वपूर्ण स्थानका खेलहरुमा अनुमान गर्न कठिन देखिएको छ ।

मेक्सिको ब्राजिलसँग पराजित भए सातौं पटक अन्तिम १६ को खेलबाट बाहिरिने छ । यो मेक्सिकोको विश्वकपमा ५७ औं खेल हो । जुन विश्वकप नजित्ने राष्ट्रमध्ये सबैभन्दा बढी हो ।

ब्राजिल र मेक्सिकोबीचको विजेताले क्वार्टरफाइनलमा बेल्जियम र जापानबीचको विजेतासँग खेल्ने छ । बेल्जियम र जापानबीच सोमबार राति पौने १२ बजे खेल हुनेछ ।

ब्राजिलका डिफेन्डर मार्सेलो घाइते रहेकाले उनको स्थानमा फिलिप लुइसलाई खेलाइँदै छ । मार्सेलो समूह चरणको अन्तिम खेलमा सर्बियाविरुद्ध खेल्दा घाइते भएका थिए । मार्सेलो आइतबारको अभ्यासमा सामेल भएकाले उनी बेञ्चमा भने हुने छन् ।

घाइते रहेका ड्यानिलो फिट भएर टिममा फर्किएका छन् । तर उनको स्थानमा फागनरलाई सुरुवाती ११ मा खेलाइने भएको छ ।

मेक्सिकोका प्रमुख सेन्टर ब्याक हेक्टर मोरेनो दुई वटा पहेँलो कार्ड पाएका कारण ब्राजिलविरुद्धको खेलमा हुने छैनन् । उनको स्थानमा हृयुगो एयालालाई खेलाइने छ ।

विश्वकपमा ब्राजिल र मेक्सिकोबीच भएका चार खेलमा ब्राजिल अपराजित छ । जसमा तीन खेल ब्राजिलले जितेको थियो भने एक खेल बराबरी भएको थियो । पछिल्लो पटक २०१४ को विश्वकपमा भएको खेलमा ब्राजिल र मेक्सिकोले बराबरी खेलेका थिए ।

ब्राजिलले सन् १९९० को विश्वकपमा अर्जेन्टिनासँग क्वार्टरफाइनलमा हारेपछि मध्य र उत्तर अमेरिकी देशसँगका कुनै खेल हारेको छैन । विश्वकपमा ब्राजिलले हारेका पछिल्ला ६ खेल सबै युरोपका देशसँग हारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment