Comments Add Comment

मेस्सी र रोनाल्डोजस्तै ओली सरकारका मन्त्री !

आशा गरेका मन्त्रीहरुले 'गोल' हान्न सकेनन्

नेपालका खेलप्रेमीहरुले अर्जेन्टिनाका मेस्सी र पोर्चुगलका रोनाल्डोबाट धेरै अपेक्षा गरेका थिए ।

तर, नेपालीले सोचेजस्तो उनीहरुले खेल्न सकेनन् । केपी ओली नेतृत्वको सरकारमा सहभागी केही मन्त्रीहरुको हविगत पनि तिनै मेस्सी र रोनाल्डोको जस्तै बनेको छ ।

ओली सरकारमा सहभागी केही मन्त्रीहरुप्रति जनताको निकै ठूलो आशा र भरोसा थियो । त्यसो त मन्त्रीसँग मात्रै होइन, प्रधानमन्त्री केपी ओलीसँगै नेपाली जनताले निकै ठूलो भरोसा गरेका हुन्, उनी शक्तिशाली प्रधानमन्त्री बन्दै गर्दा ।

आशा गरिएका असफल खेलाडीहरु !

सरकार गठन हुँदै गर्दा लालबाबु पण्डितलाई सपथ ग्रहण गराइयो । जनताले मन्त्री पण्डितबाट धेरै नै अपेक्षा गरेका थिए । सामाजिक सञ्जालमा पण्डितको हाईहाई थियो । उनी नेपाली राजनीतिका मेस्सीजस्तै बने एक महिनासम्म ।

तर, अहिले मन्त्री पण्डितको अवस्था खेल हारेका मेस्सीको जस्तै बनेको छ । उनले जनताको तीव्र आकांक्षाअनुसार काम गर्न सकेनन् । कर्मचारीहरुलाई गाली गरेर मिडियामा प्रस्तुत हुनुबाहेक अहिलेसम्म केही गर्न सकेका छैनन् ।

ओली नेतृत्वको सरकारमा अर्का चर्चित पात्र हुन् अर्थमन्त्री डा. युवराज खतिवडा । गैरराजनीतिक विज्ञ समूहबाट मन्त्री बनाइएको र उनले अर्थशास्त्रको खेलको नियम बुझेकाले प्रधानमन्त्री ओलीले राम्रो छनोट गरेको बुझाइ आम जनमानसमा थियो ।

तर, बजेट घोषणा हुँदासम्म अर्थमन्त्री डा. खतिवडाको हालत रोनाल्डोको जस्तै बन्न पुगेको छ । शारीरिक हिसाबले रोनाल्डोजस्तै हाइटका अर्थमन्त्रीले राजनीतिक जिम्मेवारीमा त्यो उचाइ मेन्टेन गर्न सकेनन् । अहिले सत्तापक्षकै नेताहरुले गुनासो गर्दै सुनाउँछन्- ‘राजनीतिक फिल्डबाट नआएको प्राविधिक मान्छेलाई अर्थमन्त्री बनाएर गल्ती गरिएछ ।’

मन्त्री खतिवडाले ल्याएको बजेटमाथि सत्तापक्ष र प्रतिपक्ष दुबै ठाउँबाट भिन्नाभिन्नै कोणले आलोचना भइरहेको छ । सरकारमा कुनै आर्थिक अनुशासन देखिएको छैन । न त डा. खतिवडाले ल्याएको बजेटमा महत्वाकांक्षी योजनाहरुले नै प्राथमिकता पाएका छन् । बजेट विगतमा जस्तै वितरणमुखी नै आएको छ । एक किसिमले भन्नुपर्दा डा. खतिवडाको अर्थमन्त्रित्व र डा. रामशरण महतको अर्थमन्त्रित्वमा कुनै तात्विक भिन्नता देखिएको छैन ।

त्यसैगरी केपी ओली सरकारमा सहभागी नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी पनि आशा गरिएका युवा नेता हुन् । उनी पनि ओली सरकारमा खेल हारेका मेस्सी वा रोनाल्डोजस्तै हुन् । तर, अधिकारीले पनि आफूलाई काबिल मन्त्री सावित गर्न सकिरहेका छैनन् । यसविपरीत मन्त्री अधिकारीले विभिन्न संस्थालाई जथाभावी रुपमा रकम बाँडेका समाचारहरु आउन थालेका छन् ।

विकासप्रेमी नेताका रुपमा परिचित अनि विकास नीतिका बारेमा राम्रोसँग बुझेका मन्त्री अधिकारीको हालत पनि मेस्सीकै जस्तो बनिरहेको छ ।
युवा नेता एवं श्रममन्त्री गोकर्ण विष्ट पनि मेस्सी र रोनाल्डोजस्तै आशा गरिएका पात्र हुन् । तर, उनी यतिबेला सोचेको भन्दा निकै नै कमजोर खेल खेलिरहेका छन् ।

यहाँ सबै मन्त्रीहरुको व्यक्तिपिच्छे चर्चा गरेर साध्य छैन । आपूर्तिमन्त्री मात्रिका यादव हुन् या उर्जामन्त्री वर्षमान पुन, कसैको पनि भूमिका जनताले हाई-हाई गरिहाल्ने किसिमको देखिएको छैन ।

बरु गृहमन्त्री रामबहादुर थापा बादललाई कसैले पत्याएका थिएनन्, उनले जेनतेन भए पनि काम देखाउन खोजेका छन् । तथापि मन्त्री थापाले अघि सारेको सिण्डिकेट अन्त्य गर्ने र भ्रष्ट ठेकेदारलाई कारवाही गर्ने अभियानलाई ओली सरकारमै सहभागी भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले अवरोध पुर्‍याउँदै आएका छन् ।

मैदानमै खेलाडीको मनमुटाव !

गोल हान्ने लक्षसहित मैदानमा उत्रिएका खेलाडीवीच समन्वय र एकता जरुरी हुन्छ । खेलाडिहरुवीच एकता भएन भने त्यो टिमले जित हात पार्ने सम्भावना न्यून हुन्छ ।

दुईतिहाई बहुमतसहितको सरकार गठन भएको चार महिना नपुग्दै ओली सरकारमा आन्तरिक समस्या देखिन थालेका छन् । सरकारमा सहभागी कतिपय मन्त्रीवीचमै मनमुटाव बढेकाले एउटा मन्त्रीको कामलाई अर्को मन्त्रीले असफल बनाउने आत्मघाती गेम सुरु भएको छ ।

काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने गृहमन्त्री रामबहादुर थापा बादलको अभियानलाई चुनौती दिने मन्त्री रघुवीर महासेठलाई केपी ओलीले टिमबाट बाहिर पठाउन सक्ने अवस्था छैन । मधेसका बलिया नेता महासेठलाई भौतिक पूर्वाधार मन्त्रालयमा राखुञ्जेल सरकारले गति नलिने प्रधानमन्त्रीले बुझेका छन् । तर, उनलाई हटाउँदा मधेसको पार्टी सन्तुलन बिग्रने ओलीलाई डर छ ।

ओली सरकारमा आत्मघाती खेल खेलिरहेका मन्त्री महासेठले सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई हटाउन विभिन्न च्यानलमार्फत ओलीलाई दबाव दिएको स्रोत बताउँछ । मन्त्री महासेठका आफन्तको लगानी रहेको दूरसञ्चार कम्पनीसँग मन्त्री बास्कोटाले कर असुल्न निर्देशन दिएपछि महासेठ बास्कोटाविरुद्ध खनिएको नेकपाका नेता बताउँछन् । ।

उता कानूनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरुको विरोधमा सार्वजनिक अभिव्यक्ति दिएपछि सरकारलाई समस्या परेको सत्तापक्षकै नेताहरुको गुनासो छ ।

त्यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग पनि चिकित्सा विधेयकदेखि लिएर अन्य कतिपय विषयमा प्रधानमन्त्री ओली असन्तुष्ट रहेको नेकपा स्रोतको भनाइ छ ।

मन्त्री मात्रिका यादवले पनि आपूर्ति व्यवस्थापन र कृत्रिम रुपमा बढेको महंगी नियन्त्रण गर्न सकेका छैनन् । तर, उनलाई पनि रिप्लेस गर्न प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग आँट छैन ।

हाल फोरम नेता यादव उपप्रधानन्त्रीसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा छन् । उनी विगतमा परराष्ट्र मन्त्री थिए । यादवले अहिले पनि परराष्ट्र मन्त्रालयमा जान मन गरिरहेको स्रोतले बतायो ।

यद्यपि अहिले परराष्ट्र मन्त्रालयको जिम्मेवारी एमाले नेता प्रदीप ज्ञवालीले सम्हालिरहेका छन् । ज्ञवाली केपी ओलीनिकट नेता हुन् ।

फोरम अध्यक्ष यादवले हाल स्थास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले पनि स्वास्थ्य राज्यमन्त्रीमा भने नेकपा नेतृ पदमा अर्याल कार्यरत छिन् । यहाँ अर्याललाई हटाएर फोरमकै नेतालाई स्वास्थ्य राज्यमन्त्री बनाउनुपर्ने माग फोरमका नेताहरुको छ ।

बिलखबन्दमा टिम लिडर

अहिलेको सरकारका टिम लिडर प्रधानमन्त्री केपी शर्मा ओली हुन् । खेलको सिद्धान्त र टिम लिडरको दायित्व के हुन्छ भने आफ्ना खेलाडीले प्रभावकारीरुपमा खेल्न सकेनन् भने त्यस्ता खेलाडीलाई तत्कालै परिवर्तन वा रिप्लेस गरेर नयाँ खेलाडी मैदानमा उतार्नुपर्ने हुन्छ ।

तर, प्रधानमन्त्री ओली ठूलो बिलखबन्दमा छन् । उनी न त यही टिमबाट गोल हान्न सक्ने अवस्थामा छन्, न टिम परिवर्तन गर्ने आँट नै गरिरहेका छन् ।

सरकारमा सहभागी पूर्वमाओवादी समूहका मन्त्रीहरुलाई ओलीले एक्लै हटाउन सक्दैनन्, यसका लागि प्रचण्डको अनुमति लिनुपर्ने हुन्छ । आफ्नै समूहभित्रका मन्त्रीलाई हटाउन ओलीले हिम्मत नगरेसम्म त्यो सम्भव हुँदैन ।

कामना गरौं, पराजयको भवितव्यबाट ओली सरकार बेलैमा जोगियोस् । भलै, यसका लागि केही मन्त्रीहरुलाई ‘सब्स्टिच्युट’ नै किन गर्नु नपरोस् ।

निर्वाचनपछि बनेको वाम सरकारका दुई ‘क्याप्टेन’ भनेका नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्ड नै हुन् । अब यो सरकारको बल प्रचण्ड र ओलीकै कोर्टमा छ ।

अहिलेको विश्वकपले पनि नेताहरुलाई पाठ सिकाइरहेको छ कि खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्न सकेकन् भने त्यसको दोष ‘कोच’हरुमा समेत जान्छ । प्रतिक्षकले राम्रो काम गर्न सकेनन् र क्याप्टेनले टिमलाई मिलाएर खेलाउन सकेनन् भने खेल जितिँदैन । खेल जित्नमा टिम लिडरको ठूलो भूमिका हुन्छ ।

मेस्सी र रोनाल्डोको एक्लै केही लाग्दैन

प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको अर्जेन्टिनाले फ्रान्ससँगको खेलमा राम्रै प्रदर्शन गरेको थियो । मेस्सीले पनि गोल गर्ने भरमग्दुर प्रयास गरेकै हुन् । तर, उनको एक्लै केही लागेन ।

समूहले मिलेर खेल्नुपर्ने खेल एक्लै खेल्न खोजियो भने मेस्सी वा रोनाल्डो केही लाग्दैन । रोनाल्डोले पनि पोर्चुगललाई जित दिलाउन खोजेकै हुन्, तर एक्लै केही सीप लागेन ।

अहिले केपी ओली नेतृत्वको सरकारको हालत पनि यस्तै छ । प्रधानमन्त्री ओली एक्लैले मात्र गोल गर्न खोजेर केही लाग्दैन ।

तर, सरकार सञ्चालनको कार्यशैली सामूहिक नभएर एकलौटी पाराको छ । सरकार सञ्चालनमात्रै होइन, पार्टी सञ्चालनसमेत सामुहिकरुपमा हुन सकेको छैन ।

यस्तो अवस्थामा ओली सरकारको हालत असफल फुटबल टिमको जस्तै हुन सक्छ ।

विश्वकप फुटबलमा कस्तो ट्रेन्ड देखिएको छ भने चर्चित भनिएका स्पेन, पोर्चुगल, अर्जेन्टिना, जर्मनीजस्ता कहलिएका टिमहरु नपत्याउँदो टिमबाट भटाभट पराजित भएका छन् । ओली सरकारमा पनि पत्याइएका मन्त्रीहरुको हालत तिनै हरुवा टिमहरुको जस्तै हुने त होइन ?

कामना गरौं, पराजयको भवितव्यबाट ओली सरकार बेलैमा जोगियोस् । भलै, यसका लागि केही मन्त्रीहरुलाई ‘सब्स्टिच्युट’ नै किन गर्नु नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अरूण बराल

अरूण बराल अनलाइनखबर डटकमका सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment