Comments Add Comment

क्वार्टरफाइनलमा जापान कि बेल्जियम ?

१८ असार, काठमाडौं । युरोपियन देश बेल्जियम र एसियन देश जापानबीच क्वार्टरफाइनल प्रवेशका लागि सोमबार राति पौने १२ बजे खेल हुँदै छ । यसपटक जापान एसियाबाट विश्वकप नकआउट चरणमा पुग्ने एकमात्र देश हो ।

जापान फेयर प्लेका आधारमा सेनेगललाई पछि पार्दै समूह ‘एच’को उपविजेता बनेर अन्तिम १६ मा आएको हो । दुई खेल खेल्दा नै अन्तिम १६ मा आएको बेल्जियमले अन्तिम खेलमा इंग्ल्याण्डलाई हराएर समूह ‘जी’ को विजेता बनेको थियो ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका रोमेलु लुकाकु फिट भएको र जापानविरुद्ध खेल्ने बताएका छन् । साथै थोमस भर्माइलिन र भिन्सेन्ट कम्पनी पनि डिफेन्स लाइन सम्हाल्न तयार छन् ।

जापानका कप्तान माकोतो हासेबे मिडफिल्डमा फर्किएका छन् । साथै ताकासी इनवी र युया ओसाकालाई पनि सुरुवाती ११ मा खेलाउने तयारी प्रशिक्षक अकिरा निशिनोले गरेका छन् । स्ट्राइकर सिन्जी ओकाजाकी भने चोटका कारण खेल्न नसक्ने अवस्थामा छन् ।

यसअघि बेल्जियम र जापानबीच भएका पाँच खेलमा दुई खेल जापानले जितेको थियो । दुई खेल बराबरी भएको थियो भने एक खेल बेल्जियमले जितेको थियो । पछिल्लो पटक २०१७ को नोभेम्बरमा खेल हुँदा रोमेलु लुकाकुको एक गोलको मद्दतमा बेल्जियम विजयी भएको थियो ।

विश्वकपमा भने जापान र बेल्जियमबीच भएको पछिल्लो भेट सन् २००२ मा हो । जतिबेला समूह चरणमा २-२ को बराबरी भएको थियो ।

जापानले अहिलेसम्म विश्वकपमा नकआउट चरणका खेल जितेको छैन । सन् २००२ र २०१० मा अन्तिम १६ को खेलमा जापान पराजित भएको थियो ।

के भन्छन् प्रशिक्षक ?

रोबर्टो मार्टिनेज – बेल्जियम

हामीसँग विश्वास छ, हामी जित्ने छौं । खेलाडीहरुको बीचमा राम्रो समझदारी बनेको छ । विश्वकप राम्रा टिमहरुसँग फुटबल खेल्न पाइने एक अवसर पनि हो । यसैले हामी राम्रो फुटबल खेल्ने छौं । हामीले एक टिमका रुपमा मिल्नेसम्मको सबै तयारी गरेका छौं ।

अकिरा निशिनो – जापान

हामीले पोल्याण्डसँग गोल खाएपछि पनि डिफेन्सिभ खेल्ने सोच्यौं जसले हाम्रा लागि नतिजा राम्रो भयो । त्यो बेला हामीले नयाँ खालको ट्याकटिकल निर्णय तत्काल नै लिएका थियौं ।

हामीले अन्तिम १० मिनेट जे गरेका थियौं त्यो अघिल्लो ८० मिनेटको खेलभन्दा निकै भिन्न थियो । यसैले हामी बेल्जियमसँग पनि आवश्यकता अनुसार रणनीति बनाएर खेल्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment