Comments Add Comment

केरुङबाट ६ किलो सुन ल्याएको ज्याला ५० हजार !

मालिक चिनियाँ नागरिक भएको आशंका

१८ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसरले आइतबार साँझ नागढुंगा नाकाबाट बरामद गरेको ६ किलो सुनका भरिया सिन्धुपाल्चोकको मार्मिङ–८ का तेन्जिङ तामाङले केरुङ नाकाबाट नेपालसम्म सुन ल्याउनलाई ५० हजार रुपैयाँको ‘डिल’ गरेको खुलेको छ ।

उनले चीन–नेपाल सीमा नाका केरुङबाट काठमाडौंको स्वयम्भूसम्म सुन ल्याएवापत ५० हजार रुपैयाँ पाउने सुनका मालिकले जिम्मेवारी दिएको भेटिएको हो ।

परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार तामाङ पूर्व सहमतिअनुसार कम्मरमा खैरो सलमा बाँधेर सुन ल्याउँदै गर्दा विशेष सुराकीको आधारमा नागढुंगामा पक्राउ परे ।

प्रहरी स्रोतका अनुसार तामाङलाई सुन पठाउने व्यक्ति चिनियाँ नागरिक हुन् । तिनै व्यक्ति सुनको मालिक भएको प्रहरीको आशंका छ । प्रहरीले त्यसतर्फ अनुसन्धान गरिरहेको बताइएको छ ।

भरिया तामाङलाई सुन तस्करी गर्ने समूहसँग सम्पर्क गर्न रोमिङ सुविधासहितको चाइनिज मोबाइलको सिम कार्ड समेत उपलब्ध गराइएको खुलेको छ ।

‘सुनसँग सम्बन्धित व्यक्तिसँग कुराकानी गर्नका लागि उनलाई त्यो सिम दिइएको खुलेको छ’, पोखरेलले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरी प्रभाग, नागढुंगाका प्रहरी निरीक्षक केशवराज भट्टको नेतृत्वमा खटिएको टोलीले सुन बरामद गरेको थियो ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाउने तयारी गरिएको परिसरका मुद्दा शाखाका डिएसपी मोहन थापाले बताए ।

यसअघि शनिबार पनि प्रहरीले ३ केजी सुनसहित ५ जनालाई पक्राउ गरेको थियो । काठमाडौंबाट महेन्द्रनगर हिँडेको युके ०२ ४६८४ नम्बरको कारको एयर फिल्टरमा लुकाएर लैजाँदै गरेको अवस्थामा सुन बरामद भएको थियो ।

यो पनि पढ्नुस् 

हतियार खोज्दा सुन भेटियो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment