Comments Add Comment

स्पेनमा रोशनी कामीको अनुभव-प्लेन चढ्दा अचम्म लाग्यो

'हिमालयन मिनी मेस्सी' लाई एनआरएनको सम्मान

बार्सिलोना शहरका घरहरू नियाल्दै मुगुका किशोरी

१९ असार, बार्सिलोना । ‘हामीलाई फुटबलका बारेमा केही पनि थाहा थिएन । जसरी हामी यो ठाउँमा आएका छौं, यो त कल्पनासमेत गरेका थिएनौं । यस्तो ठाउँमा आउँला भनेर न कहिल्यै सोचेका थियौं ।’

रारा टिमसँगै स्नेप आइपुगेकी मुगुकी किशोरी रोशनी कामीले आफ्नो अनुभव सुनाइन्- पहिले पहिले दाजुहरु फुटबल खेल्दाखेरि भन्नुहुन्थ्यो, तिमीहरु केटी हौ, फुटबल खेल्नै जान्दैनौ जोडले हान्यो भने पनि ढल्छौं ।

एनआरएनए स्पेनले आयोजना गरेको सम्मान कार्यक्रममा रोशनीले मुगुदेखि स्पेनसम्मको यात्राबारे आफ्नो अनुभन यसरी सुनाइन्-

बल देखेपछि मलाई डर लाग्थ्यो । टाढाबाट कसैले पावरले हान्छ कि भनेर पहिल्यै डराउँथे । बलले लागे नाकबाट रगत आउँछ, चोट लाग्छ भन्ने चिन्ताले नजिकै जान डर लाग्थ्यो । तर, पनि बिस्तारै दाजुहरुसँग सिकेँ । फुटबल खेल्न कहाँ जाँदैछन् भन्ने रेडियोबाट सुन्यौं । अलिअलि मात्रै फुटबल जानेकी थिएँ । तर, अभ्यासमा मैले धेरै नै मिहेनत गरेँ ।

छनोटमा परेपछि त एकदमै खुशी लाग्यो । तर, घरमा ममीबाबाले मान्नु भएन । केटी मान्छे, त्यही पनि अर्काको देशमा कतै बेचिदिन्छन् कि भनेर डराउनुहुन्थ्यो ।

बार्सिलोना फुटबल क्लबको स्वागतद्वार अगाडि नेपाली चेलीहरू ।

स्पेन जस्तो ठाउँमा हाम्रा बाउबाजे त गएका थिएनन् । हामी केटी मान्छे, पहिलोपटक जाने अवसर पाएका छौं भन्दै घरमा सम्झाएँ । मैले अति नै जिद्दी गरेपछि मात्रै घरबाट निस्कन पाएकी हुँ ।

विदेशका लागि त हिड्यौं तर मनमा डर पनि थियो । पहिलो पटक प्लेन चढ्दा अचम्म लाग्यो । एकदमै डर लाग्यो । एकछिन त खुशी पनि लाग्यो । तर, झरी पो हाल्छ कि भनेर डर पनि  ! कतै पहाडमा नै गएर ठोक्काउँछ जस्तो पनि । प्लेनमा एकदमै कान दुख्यो ।

हामी नेपालगञ्ज पुग्यौं । धेरै नै गर्मी थियो । त्यहाँबाट काठमाडौ आयौं। काठमाडौभित्र छिर्दा आफूलाई भाग्यशाली ठानें ।

यहाँ त आइयो । अब स्पेन कस्तो होला ? मनमा कस्तो कस्तो हुन्थ्यो । एकचोटि त मलाई विश्वासै लागेन । स्पेन जाने होइन कि जस्तो पनि लाग्थ्यो । कतै उतै पो राख्ने हुन् कि भन्ने मनमा ठूलो डर पनि थियो ।

तर, आज मलाई स्पेनमा ठूला-ठूला घरहरु देख्दा, अझ मेस्सीजस्तो मान्छेले फुटबल खेल्ने ग्राउण्डमा पुग्दा, अनि यहाँ आएर खेल्न पाउँदा धेरै नै खुशी लागेको छ ।

कहिल्यै शहर पुग्ने सपनासम्म नदेखेकी रोशनी कामीको जस्तै अनुभव अन्य किशोरीहरुको पनि छ ।

हिमालयन मिनी मेस्सीहरु !

बार्सिलोना अफिसियल स्टोर भित्र हात-हातमा अफिसियल फुटबलहरु लिएका नेपाली चेलीहरू ।

‘सुनाकलीका १५ जना खेलाडीहरुमध्ये १३ जनाले त बालबिबाह नै गरे,’ टिम संयोजक भोजराज भाट भन्छन्- ‘अब नयाँ सुनाकली जन्माउनका लागि किशोरीहरुलाई यहाँ ल्याएका हांै । अब यी किशोरीहरुको पनि त्यस्तै दुर्भाग्य नहोस्।’

यसअघि सुनाकली बृत्तचित्र बनाएर अन्तराष्ट्रियस्तरमा नै चर्चा बटुलेका भाटले यसैको प्रभावले नै मुगुका किशोरीहरुलाई झन्डै करोड रुपैयाँ खर्च गरेर डोनाष्टि कपको आयोजकले स्पेन निमन्त्रणा गरेको सुनाए ।

भाटले भने, ‘फुटबलको विश्व राजधानी शहरजस्तै लाग्ने बार्सिलोनामा मुगुका चेलीहरुलाई ल्याउँदा एउटा सपनाजस्तै लागिरहेको छ । फिफाले सुनाकलीलाई हिमालयन मेस्सी भनेको थियो । यी पनि १७ जना पनि मिनी मेस्सीहरु नै हुन् ।’

किशोरीहरुसँगै बार्सिलोना आइपुगेका भाट भन्छन्- ‘अब यिनीहरुले खेलकुदलाई निरन्तरता दिएर समाजको संकुचित घेरालाई तोड्न सके भने विश्वकप जितेसरह हुनेछ।’

भेदभाव घटाउनु मुख्य अभियान

मुगुका किशोरीहरुलाई फुटबल खेल्नकै लागि विदेश ल्याउन कम चुनौतीपूर्ण थिएन । अभिभावकहरुलाई विश्वास दिलाउन नै निकै कठिन थियो । त्यसैले पनि सम्पूर्ण अभिभावकको नेतृत्व गर्दै मुगुबाट प्रतिनिधि सभामा निर्वाचित सांसद गोपाल बम आफै स्पेन आएका छन् ।

‘पिछडिएको दुर्गम ठाउँबाट यहाँसम्म आउँदा मुगुलाई मात्र हैन, सिङ्गो नेपाललाई नै चिनाउने अवसरका रुपमा लिएको छु, धेरै छात्राहरु घाँसदाउरा र घरकै काममा ब्यस्त हुन्छन् । कम उमेरमा नै विवाह भएर जान्छन् । आफ्नो वडा, गाउँपालिका भन्दा परसम्म पुग्न पनि कठिन छ’ सांसद बमले भने- ‘तिनै किशोरीहरुलाई काठमाडौं हुँदै स्पेनसम्म ल्याउनु चुनौती मात्र हैन, आश्चर्यजनक नै हो।’

मुगुका किशोरीहरु पनि युरोप पुगेर प्रतिस्पर्धामा गर्न सक्छन् भन्ने सन्देश प्रवाह भएको छ । त्यतिमात्र हैन, अन्य महिलाहरुलाई हौसला र उत्प्रेरणा मिल्ने बिश्वाससमेत सांसद बमले लिएका छन् । उनीे अगाडि भन्छन्- ‘फुटबलका माध्यमबाट विकट जिल्लामा छोरी मान्छेहरुवीच गरिने भेदभाव घटाउनु पनि हाम्रो मुख्य अभियान हो । बालबिबाह हुने र छिट्टै आमा बन्न बाध्य हुने परिस्थितिलाई रोक्न हामीले कदम उठाउनैपर्छ।’

तर, कसैको एक्लैको प्रयासले मात्रै किशोरीहरु यहाँसम्म आएका होइनन् । खेलकुद बिकास समिति मुगुले पनि कागजी प्रक्रियामा ठूलो साथ दिएकोस्पेन आएका समितिका अध्यक्ष कृष्ण सेजुवालले बताए ।

उनले भने-  भीर पखेरामा खेल्ने हाम्रा किशोरीहरुले युरोपको कृत्रिम घाँसे मैदानमा फुटबल खेल्न पाए । समाज परिवर्तनका लागि यसले ठूलो सन्देश दिनेछ । र, यो मुगुको खेलकुदको नयाँ अध्याय हो।’

उदघाटन समारोहमा नेपाली झण्डा फरफरायो

गुन्यु-चोलोमा-सजिएका-नेपाली-चेलीहरु

विभिन्न उमेर समूहका किशोर-किशोरीले भाग लिने डोनाष्टि कपको उदघाटन एक भब्य समारोहवीच सोमबार साँझ सम्पन्न भएको छ । ३३ राष्ट्रका ६ सय २३ टिमहरु सहभागी हुँदा नेपालका तर्फबाट पहिलोपटक दुई टिमहरुले भाग लिए । मुगुका किशोरीहरुको टीम रारासहित काठमाडौको स्कोलर होम एकेडेमीका छात्रहरु पनि सहभागी भए ।

१३ बर्ष उमेर समूहका किशोरहरु बीचको फुटबल प्रतियोगतामा स्कोलर होम एकेडेमीले प्रतिस्पर्धा गरेको छ।

कुल ९ हजार ५ सय खेलाडीहरुले भाग लिएको प्रतियोगिताको उदाटन समारोहमा राष्ट्रिय झन्डा फरफराउँदै नेपाली खेलाडीहरुले मार्चपास गरे । ५२ जना नेपालीहरुको जम्बो टोली समारोहमा सहभागी बन्यो ।

जुलाई १ देखि ७ सम्म स्पेनको सान्सेबास्टियानमा प्रतियोगिता जारी रहनेछ ।

क्याम्प नाउ स्टेडियम बाहिर टीम रारा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment