Comments Add Comment

पर्सामा डुबानसँगै जोखिम कायमै, दलित बस्ती विस्थापित

१९ असार, वीरगञ्ज । अविरल वर्षाका कारण पर्साको वीरगञ्ज महानगरका विभिन्न स्थान डुवानमा परेका छन् भने ग्रामीण क्षेत्रमा पनि ढुबानको जोखिम उतिकै छ ।

राति सिर्सिया नदीमा पानीको सतह बढेका कारण वीरगञ्ज महानगरपालिका वडा नं ११ डोम बस्तीका २५ घर डुबानमा परेको छ ।

उनीहरुले पालेको आधादर्जन भन्दा बढी बंगुरसमेत नदिले बगाएको छ । घर डुबेका कारण बालबालिका र बृद्धबृद्धाहरुलाई बढी समस्या छ।

सिर्सिया नदीको डिलमा रहेको बस्तीमा बसोबास गर्दै आएका झण्डै ७० जना दलितहरु रातिदेखि नै रानीघाटस्थित राम जानकी मन्दिर परिसरमा आएर बसेका छन् । स्थानीय नरेश मलिस्थानीय राधा मली, मोतिलाल राउत डोम लगायतको घरमा बाढी पसेको हो ।

बाढी पस्न थालेपछि राति नै घर छोडेर भागेको राधा मलीले बताए । ‘ राति घरमा पानी पस्न थाल्यो, त्यसपछि बालबच्चा, महिला सबैजना लिएर राम जानकी मन्दिरमा गएर बसेका छौं,’ उनले भने, ‘घरमा रहेको भाँडाकुँडा लत्ता कपडा सबै पानीमा डुबेको छ । खाने अन्न पनि छैन ।’

वीरगञ्ज महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष प्रधुम्न सेढाईले बाढीले दलित बस्ती डुबानमा परेको र उनीहरुका लागि खानेकुराको बन्दोबस्त गर्न आफू लागि परिरहेको जानकारी दिए । ‘नदीबाट पानीको निकास राम्रोसँग नभएका कारण नदी आसपासका ठाउँमा पानी जमेको छ । पानीको निकास गराउनुका साथै बिचल्लीमा परेका हरुका लागि खानेकुराको प्रबन्ध मिलाउन लागि परेको छु ।’ उनले भने ।

वीरगञ्ज महानगरपालिकाको सिर्सिया, अलौं, अशोकबाटिका रामगढवा, लगायतका क्षेत्रमा समेत घरहरु डुबानमा परेका छन् ।

घरहरु डुबेको भएपनि मानवीय क्षति भने अहिलेसम्म भएको छैन । बिहान पानी रोकिएपछि नदिको पानीको सतहसमेत कम हुँदै गएको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले नगरको विभिन्न ठाउँमा वर्षाले समस्या निम्त्याएको र आफू त्यसको समाधानका लागि बिहानैदेखि खटेको जानकारी दिए । ‘बिहानैदेखि नगरका विभिन्न स्थानमा पुगेर पानीको निकास गराउने काम भइरहेको छ । स्काभेटर आवश्यक पर्ने ठाउँमा स्काभेटर लगाएका छौं । कर्मचारीहरुले सक्ने ठाउँमा कर्मचारी साथीहरुले काम गरिरहनुभएको छ,’ उनले भने, ‘नगरवासीको समस्या समाधानका लागि महानगर गम्भीर छ । नगरबासी चैनसँग सुत्न नपाउँदा हामी पनि चैनसँग सुत्न पाउँदैनौं ।’

पुलमा जलकुम्भी अड्किएपछि जोखिम बढ्यो

सिर्सिया नदीमा रहेको विभिन्न पुलमा बाढीले बगाएको जलकुम्भी अड्कीएपछि जोखिम बढेको छ । पुलमा अड्किएको जलकुम्भीले ड्यामको काम गरेपछि नदिमा पानीको बहाब रोकिएको छ ।

जसले गर्दा पुलदेखि उत्तरका बस्ती डुबेका छन् भने दक्षिण तर्फका बस्ती पनि जोखिममा छन् । वीरगञ्जको रामगढवा र भन्सार नाकामा रहेको मितेरी पुलमा बढी जोखिम देखिएको छ । त्यसैगरी वीरगञ्जको राधेमाई हुँदै जाने राजाराम पुलमासमेत त्यस्तै समस्या देखिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं ११ का अध्यक्ष प्रधुम्न सेढाइले बाढीले बगाएर ल्याएको जलकुम्भी पुलमा अड्किएपछि जोखिम बढेको बताए । ‘बाढीले बगाएर ल्याएको जलकुम्भी पुलमा अडकिएको छ । त्यसले गर्दा पानी राम्रोसँग बग्न पाएको छैन,’ वडा अध्यक्ष सेढाईले भने, ‘बिहानैदेखि स्काभेटर लगाएर जलकुम्भी हटाउने प्रयास भइरहेको छ ।’

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले मितेरी पुल भन्दा तल रहेको पुरानो पुलमा जलकुम्भी अड्किएर समस्या भएको बताए । ‘भन्सार नाकाको मितेरी पुल भन्दा केही मिटर तल पुरानो पुलको विममा गएर जलकुम्भी अड्किएर पानीको बहाब रोकिएको छ,’ प्रमुख सरावगीले भने, ‘स्काभेटर लगाएर हटाउँने काम भइरहेको छ, पानीको सतह कम हुने वित्तिकै समस्या समाधान हुन्छ ।’

स्थानीय बासिन्दाले भने महानगरपालिकाले समयमा नदिको सफाइ नगरेका कारण जोखिम बढेको आरोप लगाएका छन् ।

ग्रामीण क्षेत्रमा पनि उत्तिकै जोखिम

अबिरल वर्षाका कारण पर्साको ग्रामीण क्षेत्रमा समेत बाढीले विभिन्न बस्ती डुबानमा परेको छ । बाढीले पकाहामैनपुर गाउँपालिका, सबैठवा, लहावरथकरी, छिपहरमाई गाउँपालिकाको भिश्वा, सम्भौता, जयमंगलापुर, जगरनाथपुर गाउँपालिकाको मसिहानी लगायतका ठाउँ डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले बाढीले डुबेपछि सबैठवा प्रहरी चौकीका प्रहरी राति नै सुरक्षित स्थानमा सरेको जानकारी दिए ।

उनका अनुसार खेस्राहमा प्रहरी चौकीसमेत गरी ४० घरपरिवार बाढीले विस्थापित भएर सुरक्षित स्थानमा सरेका छन् । भनेे राति सिक्टा पुलमा फसेका १२ जनाको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment