Comments Add Comment

चुरे संरक्षण नभए तराई-मधेस मरुभूमि बन्ने चिन्ता

वीरगञ्जबाट वातावरण बचाउ आभियान शुरु

१९ असार, वीरगञ्ज । राजपा अध्यक्ष मण्डलका सदस्य एवं सांसद महेन्द्र यादवले चुरेको संरक्षण बेलैमा नगरे तराई मधेस मरुभूमिमा परिणत हुने बताएका छन् ।

मधेस विकास मञ्चको आयोजनामा सञ्चालित वातावरण बचाऊ अभियान घोषणा कार्यक्रममा उनले चुरेको संरक्षणविना तराई मधेसको भविष्य नरहेको बताए ।

‘नेपालको निर्माण कै क्रममा अन्नको भण्डारको रुपमा तराई थियो, भने वन नेपालको धनको रुपमा थियो । तर, राणा शासनको अन्त्यपछि विभिन्न पार्टीको सरकारले तराई मधेसमा बस्ने बासिन्दाको अधिकार खोस्ने काम गरे, चुरे समाप्त हुने बाटोमा छ । ‘ उनले भने ।

नेपालको मानव सूचकांकमा मधेस पछाडि रहेको बताउँदै सरकारकै कारण यस्तो अवस्थामा रहेको उनको भनाइ छ । ‘जहाँ गरिबी हुन्छ, त्यहाँ राजनीतिक रुपमा सोच्न सक्दैन, त्यसैले राजमार्गको निर्माण चुरेको संरक्षण नभएसम्म तराई मधेसको भविष्य छैन,’ पूर्व मन्त्री यादवले भने, ‘एक सालमा आएको बाढीले चार लाख हेक्टर जमिन कटान र डुबान भएको छ । यस्तै अवस्था रहने हो भने २० वर्षमा तराई मरुभूमि हुन्छ । तराई मधेसलाई कसैले जोगाउन सक्दैन ।’

वजेट विनियोजन गर्दा समेत चुरे संरक्षणका लागि खासै ध्यान नदिएको आरोप लगाए । ‘चुरे संरक्षणका लागि सरकारले प्रयाप्त वजेट दिएको छैन, सरकारको ध्यान छैन, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले मात्रै चुरेको विकास हुँदैन,’ उनले भने, ‘चु्रेमा बस्ने मानिस र प्रभाव पर्ने ठाउँका बासिन्दाको चेतनामा विकास हुनुपर्छ कि अब हामीले के गर्नुपर्छ ?’

जंगल जलको समेत भण्डार भएको बताउँदै चुरे मासिएपछि तराई मधेस मरुभूमिमा परिणत हुने बताए ।

वीरगंज, टाउनहलमा आयोजित कार्यक्रममा प्रदेश नं २ का नागरिक उड्यन, वन तथा वातावरण मन्त्री रामनरेश रायले प्रदेश सरकारले प्रत्येक घरमा कम्तीमा ५ वटा विरुवा अनिवार्य रोप्नैपर्ने नियम ल्याउन लागेको जानकारी गराए । ‘प्राण बायु दिने रुखले हो, अक्सिजन विना मानिस बाँच्दैन । तर त्यही अक्सिजन दिने रुख विरुवा संरक्षणमा कसैको ध्यान छैन,’ उनले भने, ‘अब प्रदेश सरकारले नियम ल्याउँदैछ, प्रत्येक घरमा कम्तीमा पाँच वटा रुख रोप्नैपर्छ । होइन भने स्थानीय तहबाट जुनसुकै सिफारिस रोकिन्छ, रुख हुर्केपछि काट्नुछ भने त्यसको बदला त्यतिनै विरुवा लगाउनुपर्छ । त्यसलाई स्थानीय तहले निरीक्षण गर्छ, त्यसपछि रुख काट्नका लागि निशुल्क सिफारिस गर्ने व्यवस्था मिलाउनेछौं ।’

निजी जग्गामा लगाएको वन कटान गर्न लामो सरकारी पक्रिया पुरा गर्नुपर्ने झण्झटबाट मुक्ति दिन रुख काटे जति रोप्नैपर्ने व्यवस्था गर्ने र त्यसो गरेको खण्डमा निशुल्क रुख काट्न सिफारिस लगाउने उनको भनाई छ । विरुवाका लागि गाउँमा नीजि, साझेदारी र कबुलियति नर्सरीलाई प्रोत्साहन गर्ने सोच बनाएको उनले सुनाए ।

‘चुरे तराई जोगाउ, मधेस बचाउ’ भन्ने नाराका साथ मधेस विकास मञ्चले वीरगञ्जबाट वातावरण बचाउँ अभियान शुरु गरेकेा मञ्चका सदस्य जहुर अन्सारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment