Comments Add Comment

लज्जास्पद हारका बाबजुद जर्मन प्रशिक्षकले पद नछाड्ने !


१९ असार, काठमाडौं । विश्वकपमा इतिहासकै खराब प्रदर्शन गरेर समूह चरणबाटै बाहिरिएको जर्मनीका प्रशिक्षक जोचिम लोले तत्काल पद नछाड्ने संकेत गरेका छन् ।

चार वर्षअघि विश्वकप उपाधि जिताएका लोको शैली यसपटक भने कमजोर सावित भयो । खेलाडी छनोटदेखि नै विवादमा परेका उनी समूह चरणबाटै बाहिरिएपछि भने जर्मन प्रशिक्षकबाट हट्ने अनुमान भइरहेका थिए ।

तर, ५८ वर्षका लोको सम्झौता २०२२ सम्म छ र उनले त्यसबेलासम्म जर्मन प्रशिक्षकमै रहने सम्भावना छ । २००४ को युरोकपमा पनि जर्मनी समूह चरणबाटै बाहिरिएको तर, टिममा परिर्वतन गरेर अघि बढेको स्मरण गर्दै लोले भनेका छन्, ‘यहाँबाट कहाँ जाने ? यहीँबाट सुरुवात गर्नुपर्छ ।’

आफ्नो भविश्यबारे केही भन्नु हतारो हुने भन्दै उनले यसबारे शान्तसँग कुराकानी गर्ने बताएका छन् ।

विश्वकपमा यसपटक खराब प्रदर्शन भए पनि प्रशिक्षकका रुपमा समग्रमा उनको भूमिका राम्रो देखिएको छ ।

२००६ मा उनी प्रशिक्षक भएपछि जर्मनीले खेलका १ सय ६५ खेलमा १ सय ८ खेल जितेको छ ।

उनले पछिल्लो पटक गएको वर्ष, सन् २०१७ मा फिफा कन्फेडेरेसन कपको उपाधि दिलाएका थिए । अब उनको ध्यान २०२० को युरोकपका लागि हुने छ ।

सन् १९७८ देखि १९९५ सम्म खेलाडी जीवनमा रहेका उनले त्यसलगत्तै प्रशिक्षण सुरु गरेका थिए । अट्याकिङ मिडफिल्डबाट खेल्ने उनको प्रशिक्षण शैली पनि आक्रामक नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment