Comments Add Comment

अर्जेन्टिनाको प्रशिक्षक बनाए सित्तैमा काम गर्छु : म्याराडोना


१९ असार, काठमाडौं । अर्जेन्टिनाका लिजेण्ड फुटबलर डियगो म्याराडोनाले अर्जेन्टिनाको प्रशिक्षकको रुपमा बोलाए निःशुल्क काम गर्ने बताएका छन् ।

सन् २०१० को विश्वकपमा म्याराडोना अर्जेन्टिनी टिमको प्रशिक्षक थिए । जतिबेला अर्जेन्टिना क्वार्टरफाइनलमा जर्मनीसँग ४-० ले पराजित भएको थियो ।

आठ वर्षपछि विश्वकपको अन्तिम १६ को खेलमा फ्रान्ससँग अर्जेन्टिना पराजित भएपछि म्याराडोनाले टिम सम्हाल्ने इच्छा देखाएका हुन् । तर, अहिले जर्ज साम्पाओली सन् २०२२ सम्मका लागि अर्जेन्टिनी टिमको प्रशिक्षक नै छन् ।

‘हो, मलाई प्रशिक्षकको रुपमा बोलाइयो भने यसपटक सित्तैमा काम गर्नेछु’ भेनेजुयलाको एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘अर्जेन्टिना टिमको प्रशिक्षक भएवापत म केही पनि लिने छैन ।’

अर्जेन्टिनाको प्रशिक्षक छाडेपछि उनले युनाइटेड अरब इमिरेट्सका विभिन्न दुई क्लबमा काम गरे ।

सन् १९८६ को विश्वकप जित्दा अर्जेन्टिनी टिम कप्तान रहेका उनी चर्चामा सधैं अगाडि रहन्छन् । यसपटक रसिया विश्वकपमा पनि अर्जेन्टिनाको खेलको दौरान उनको विभिन्न स्वरुप चर्चामा आएका थिए ।

‘मानिसहरु म खुसी छु भनेर सोच्छन् तर मेरो मन भारी भएको छ । हामीले मेहनत गरेर खडा गरेका हरेक कुरा सहजै चकनाचुर भयो’ अर्जेन्टिना विश्वकपबाट बाहिरिएको प्रसंगमा उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment