Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
Dip Poudel
२०७५ असार २० गते १०:२९
लौ जय होस् दाईको ।

राजाराम पौडेलको रामकहानीः न जीरो, न हिरो

करिब पाँच फिट दुई इन्च उचाइका, मझौला गोलाइका, आर्य र मंगोल मिश्रति ठिमाह वर्णका, गहुँगोरो, असाध्यै राम्रो अभिनय गर्ने, हरेकजसो फिल्ममा देखापर्ने, तर कहिल्यै हिरो हुन नसक्ने को हो भनेर सोध्यो भने तपाईंले फ्याट्ट जवाफ दिनुहोला, ‘राजाराम पौडेल ।’

प्रकाश थापा, शम्भु प्रधान, तुलसी घिमिरेदेखि प्रदीप भट्टराईसम्मका निर्देशक झेलिसकेका उनले माथि उल्लेखित एउटा पंक्तिमा भने आपत्ति जनाउन सक्छन् । यसो भन्न सक्लान्, ‘म कहिल्यै हिरो हुन नसक्ने भनेर तपाईंसँग के ठोस प्रमाण छ ?’

किनभने पछिल्लो केही फिल्ममा उनी ‘हिरो’ बनेर देखापर्दैछन् । राजाराम पौडेल हिरो ! सुनेर तपाईंको ओंठमा उपहासको हाँसो फुत्केला या त यसलाई ‘मजाक’ ठान्नुहोला । तर, राजाराम भन्छन्, ‘धरोधर्म, नभए मरिजाउँ ।’

कथाले मागेपछि

कसरी हिरो हुनु भो ? आफैं पैसा तिरेर त पक्कै होइन ?

हामीले यस्तो जिज्ञासा राख्नुअघि नै उनले भने, ‘कथाले मागेपछि हिरो भएँ ।’ आजको दिनसम्म उनलाई चिनिने एउटै विशेषण थियो, हास्य कलाकार । फिल्मको चटनी जस्तै । बेलाबखत फुत्त देखापर्ने, दर्शक हसाउँने । र, अलाप भइहाल्ने ।

नेपाली फिल्ममा हास्य कलाकारको भूमिका यो भन्दा बढी के होला र ? उहिले त अझ हास्य कलाकार भन्नु नाम मात्रको । फिल्मको पोस्टरमा त नअटाउने । ‘न अनुहारबाट चिनिने, न नामबाट’ चिटचिट पसिना चुहिने हालैको एक मध्यन्ह उनले सुनाए, ‘त्यसबेला हास्य कलाकारको भ्यालु थिएन नि ।’

तर, अहिले फिल्मको काय, मेरुदण्ड, आवरण सबै बदलिएको छ । यो बदलावले राजाराम पौडेलजस्ता ‘मापदण्ड पूरा नगरेका’ जेन्टलमेनलाई पनि ‘हिरो’ बन्ने मौका दिएको छ ।

पछिल्लो केही फिल्ममा उनी ‘हिरो’ बनेर देखापर्दैछन् । राजाराम पौडेल हिरो ! सुनेर तपाईंको ओंठमा उपहासको हाँसो फुत्केला या त यसलाई ‘मजाक’ ठान्नुहोला । तर, राजाराम भन्छन्, ‘धरोधर्म, नभए मरिजाउँ ।’

‘अहिले मान्छे होइन, चरित्र हिरो हुन्छ’ उनले फुर्तिका साथ भने, ‘पहिले जस्तो कहाँ छ र ?’ पहिले जस्तो नभएर नै हो, राजाराज पौडेल पनि हिरो भएको । अब केही समयपछि उनी फुत्त-फुत्त हिरो बनेर देखापर्नेछन् । केही यस्ता फिल्म छन्, जो राजारामकै काँधमा बोकाइएको छ । जस्तो कि, ‘सयकडा दश ।’

प्रेमगीत-२ निर्देशन गरिसकेका रामशरण  पाठकले यो फिल्ममा राजारामलाई ‘हिरो’ बनाउने भएछन् । राजारामकै शब्दमा, ‘रामशरण पाठक त्यस्ता निर्देशक हुन्, जसले अति सुक्ष्म कुरालाई पनि ध्यान दिन्छन् । उनी निकै खिपिएका निर्देशक हुन् ।’ उनै पाठकले लेखेको कथामा कमेडियन मनोज गजुरेल पनि अभिनय गर्न राजी भएछन् । हामीले मनोज गजुरेलसँग एक अनौपचारिक भेटमा फ्याट्ट सोधिहाल्यौं, ‘अब तपाई पनि फिल्म खेल्दै हुनुहुन्छ नि ?’

उनले सहज रुपमा यसो भने, ‘फिल्म होइन, सिनेमा । सिनेमा खेल्न लागेको । त्यसमा म मनोज गजुरेल नै भएर खेल्नेछु ।’ उनले यति मात्र भनेनन्, फिल्मको विषयवस्तु नै चुहाइदिए, ‘यो भ्रष्टचारसम्बन्धि भएकाले मलाई रुची लाग्यो ।’

उनले यसअघि कहिल्यै सिनेमा खेलेनन् ।

के भन्ने हाम्रो समय

३६ बर्षअघि । ‘बासुदेव’ फिल्मको लागि पहिलो पटक क्यामेरा अघिल्तिर उभिएका थिए, राजाराम पौडेल । फिल्ममा उनको एउटा सिन थियो । त्यो पनि साह्रै सानो । तर, त्यही विन्दुबाट सुरु भएको कलायात्रा उनको जीवनको लय बनिदियो । आज पर्यन्त उनी फिल्मभन्दा दायाँबायाँ लागेका छैनन् । फुर्सद भए पो ?

हामीसँग भेट्दा पनि उनी फिल्म ‘रामकहानीको डबिङमा जानुछ’ भन्दै हतारिदै थिए । यसपालि सुटिङको सिलसिलामा पोखरा मात्र ६ पटक पुगिसकेछन् । त्यसअघि उनी झापामा थिए, फिल्म ‘जय भोले’का लागि । भर्खरै मात्र ‘अनुराग’, ‘बाँध मायाले’को डबिङ सिध्याएका रहेछन् ।

त्यो बेलादेखि यो बेलासम्म फिल्म र फिल्म भन्दा कतै नगएका उनी सग्लो दस्तावेज पनि हुन्, जसले नेपाली फिल्मको एउटा सिंगो कालखण्ड गुजारेका छन् ।

‘उबेला अहिलेजस्तो कहाँ थियो र ?’ उनी तीन दशकअघिको समयमा फर्किए, ‘बर्षमा मुश्किलले एक, दुई फिल्म बन्ने । त्यो पनि त्यो हिन्दी फिल्मको एउटा, अर्को फिल्मको एउटा टुक्रा-टुक्रा जोडेर ।’ हिन्दी फिल्मकै प्रतिलिपी बन्ने त्यो समयमा सुकिला-मुकिला हिरो र हिरोइन ‘मेनकोर्स’ हुन्थ्यो । यस्तोमा हास्य कलाकार गोलभेंडा, टिमुरको अचार जस्तो ।

त्यो बेलादेखि यो बेलासम्म फिल्म र फिल्म भन्दा कतै नगएका उनी सग्लो दस्तावेज पनि हुन्, जसले नेपाली फिल्मको एउटा सिंगो कालखण्ड गुजारेका छन् ।

‘हास्य कलाकार भन्नु मात्र’ उनले आफ्नै पारामा सुनाए, ‘मान्छेले चिन्दा पनि नचिन्ने ।’

१६ एमएममा खिचेको नेगेटिभलाई ३५ एमएममा बढाएर पनि देखाउनुपर्ने । उनले थपे, ‘अहिले जस्तो हो र ? सुटिङमा जुन डायलग बोलेको छ डबिङमा ठ्याक्कै लिपसिङ मिलाउनुपर्ने । अहिले त डिजिटल प्रविधि आएको छ । नमिलेको कुरा पनि कम्प्युटरले मिलाइदिन्छ ।’

फिल्मले बामे सर्दै गरेको अवस्थामा, कसरी उनी चाहिँ फिल्मतिर तानिए ?

आई वान्ट टु बि डाक्टर एन्ड एक्टर

कसरी कलाकार बन्ने रौस जाग्यो त भन्ने प्रश्नले उनलाई आफ्नो बाल्यकालतर्फ फर्कायो, जतिबेला उनी स्कुले फुच्चे थिए । नक्साल, नागपोखरीको घर नजिकै स्कुल । स्कुलबाट केही दूरीमा सिंहदरबार । ठूलो पर्खालको चौघेराभित्रबाट रेडियो बज्छ भन्ने उनले सुनेका थिए । तर, कसरी बज्छ ? भेउ  पाएका थिएनन् ।

स्कुल छुट्टी हुनसाथ कुददै सिंहदरबारको छेउछाउ पुग्थे र टोलाउथे, ‘यहाँ भित्रबाट कसरी गीत बज्दो हो ? यहाँ बजेको गीत देशभरको रेडियोमा कसरी सुनिदो हो ? कसले बाजा बजाउदो हो ?

दिनदिनै सिंहदरबारको अघिल्तिर आएर फन्को लगाउने स्कुले फुच्चेलाई देखेपछि त्यहीँका कुनै कर्मचारीलेे भने, ‘भित्र जान्छौं ?’

फुच्चे राजारामले फुर्तिसाथ स्वीकृतिको टाउको हल्लाए । उनै कर्मचारीले भित्र लगे र स्टुडियोमा पुर्‍याए । उनले पहिलो पटक देखे, रेडियोमा गाउने र बजाउने ठाउँ । समाचार भन्ने ठाउँ । त्यहाँबाट फर्केपछि उनले मनमनै घोषणा गरे, ‘म पनि कलाकार बन्छु । रेडियोमा गाउँछु ।’

स्कुलमा एस्से अर्थात निवन्ध लेख्नुपर्ने हुन्थ्यो । उनी निवन्ध लेख्थे र पुच्छरमा निश्कर्ष यस्तो हुन्थ्यो, ‘आई वान्ट टू बी डाक्टर एन्ड एक्टर ।’

उनी डाक्टर भएनन्, तर प्यारामेडिक्स भएर स्वास्थ्य सेवामै खटिए । गायक भएनन्, तर एक्टर भए । त्यही भएर त उनी अहिले पनि ठट्यौली शैलीमा भन्ने गर्छन्, ‘आजसम्म कसैलाई मारिन, बचाएको छु । कसैलाई रुवाइन, हँसाएको छु ।’

दिउँसोको सुताई, गायक बन्ने सपना चकनाचुर

एक बिहान स्वर फाटेर कण्ठबाट दुईवटा ध्वनि निस्कने समस्या नभइदिएको भए, उनी यतिबेला  हारमोनियममा धुन अलापिरहेका हुन्थे होलान् । सितारमा स्वर मिलाएर सारेगम पो अभ्यास गरिरहेका हुन्थे कि ! गिटारको झंकारमा र्‍याप पो गाइरहेका हुन्थे कि ?

तर, त्यसदिन उनको स्वर बिगि्रयो । बोल्दा एकसाथ दुईवटा स्वर निस्किए जस्तो भो ।

वीर अस्पतालको इमर्जेन्सीमा ड्युटी । आठ घण्टा खट्नुपर्ने । साँझ आठ बजेदेखि बिहान आठ बजेसम्म । बीरको इमर्जेन्सी भनेपछि बुझिहाल्नु भो होला, एकछिन फुर्सद नमिल्ने । उनी खटिएका, खटिएकै हुन्थे । रातभर खटिएर घर पुग्थे । भात खान्थे । झ्यालको पर्दा लगाउँथे र सुत्थे ।

‘हेर्नुहोस्, दिउँसो सुत्दै नसुत्नुहोस्’ उनले रामदेव शैलीमा अर्ति दिए, ‘सुत्ने भनेकै राती हो । दिउँसो सुत्नु भनेको कालको भाइ हो । काल नै चाहिँ होइन ।’

उनी किन यसरी झ्वाँकिएका रहेछन् भने, त्यही दिउँसोको सुताईले उनको स्वर बिगि्रएछ । स्वर बिगि्रएपछि गायक बन्ने सपना पनि लथालिंग भएछ । तर, सपना पनि खोला जस्तै हो । एकातिर ठोक्किए, अर्कोतिर मोडिन्छ । एकातिर थुनछेक गरे, अर्कोतिर पोखिन्छ । गायक बन्नै नपाएको झ्वाँकमा उनी हास्य कलाकार बने । हास्य कलाकार बन्नुको कथा पनि घतलाग्दो छ ।

राजालाई प्रहसन देखाउँदा

उनले प्रहसन लेखेकै थिएनन् । तर, गोरखापत्रमा छापिएको विज्ञापन देखेपछि उनलाई मौकामा चौका हान्न मन लाग्यो । यो २०३९ सालको कुरा ।

त्यसबेला प्रज्ञा प्रतिष्ठानले गाईजात्रा आयोजना गर्ने । सातदिनसम्म धुमधाम चल्थ्यो । त्यसको खास कुरा भनेका, विशेष शोमा राजारानी आगन्तुक बन्ने ।

गोरखापत्रमा आह्वान गरेको स्क्रिप्ट बमोजिम उनले एउटा स्क्रिप्ट तयार पारे र बुझाइदिए । उनको स्क्रिप्ट छनौटमा पर्‍यो त्यो पनि ‘किङ शो’मा । त्यो भनेको राजारानीले हेर्ने शो । सात दिनमा सातै पटक देखाउन पाइने । गजब भयो ।

तुलसी घिमिरेले दिएको ‘चोर माइला’ वास्तमै उनको जीवनसँग मेल खाने चरित्र थियो । दुरुस्तै उनकै जस्तो । किनभने राजाराम पनि उस्तै उटपट्याङ गर्ने ‘चोर माइला’कै फोटोकपी थिए । वास्तविक जीवनमा ।

अब कसलाई रिहर्सल गराउने त ? मनोज आचार्यलाई भेटेर सोधे, ‘ए मनोज तिमी खेल्छौ त ?’

किन नखेल्नु ? मनोज सहजै राजी भए । अब रिहर्सल कहाँ गराउने भनी सोध्दै खोज्दै जाँदा फेला पर्‍यो हरिवंश आचार्यको डेरा । हरिवंश र उनका दिदी दुबै दिनभर काममा जाने । कोठा खाली । नक्सालमै कोठा थियो । उनले हरिवंशलाई चाबी मागे । त्यही रिहर्सल गरे र प्रहसन देखाइदिए ।

महमा घुलिए

मह जोडीको बीचमा घुसि्रएका थिए, राजाराम । ‘बासुदेव’मा मदनकृष्णले नै उनलाई निम्त्याएका थिए । पछि उनी मह जोडीले बनाएको टेलिफिल्म ‘सन्तति’मा खेले । त्यसपछि उनले ‘र’ भन्ने टेलिफिल्म गरे, जुन असाध्यै राम्रो बनेको थियो । तर, प्राविधिक कारणले प्रसारण भएन । महको ‘पन्ध्र गते’ गरेपछि भने उनी रातारात हिट भए ।

पद्योदयमा पढ्दा उनीभन्दा एक ब्याच जुनियर थिए, हरिवंश । ‘हाईहेल्लो’ चल्थ्यो । पछि दुबैले थाहा पाए, हरिवंशका पिताजी र राजारामको हजुरबा लंगोटिया यार रहेछन्, उबेला । आज छोरा-नाती पुस्ता एकै ठाउँ उभिएर कलाकारितामा जम्नु ‘संयोगमात्र’ मान्नुपर्नेछ ।

राजाराम हरिवंशलाई ‘हरि’ भन्छन् । मदनकृष्णलाई ‘मदनदाइ’ मह दाजुभाइको बीचका गुदी हुन्, राजाराम । तपाईंले कति हेक्का राख्नुभएको छ, खासमा हरिवंश र मदनकृष्णलाई ‘मह जोडी’ भनेर न्वरान गरिदिने उनै राजाराम पौडेल हुन् । यसरी पहिलो पटक ‘मह जोडी’को न्वरान गरिदिएवापत उनलाई हरिवंश र मदनकृष्णले दुई बोत्तल बियर चढाएका थिए रे ।

महसँग उनी कति घुलिएका छन् भने, ‘हरिवंश-मदनकृष्णले निर्माण गर्ने फिल्म, टेलिफिल्म, प्रहसन सबैमा उनको लागि ठाउँ सुरक्षित हुन्छ । त्यसमा पनि के हुन्छ भने, मदन-हरिले राजााराजमलाई सुहाउँदो र मिल्दो चरित्र एव डायलग नै दिन्छन् । महले स्क्रिप्टमा जे डायलग लेख्छन्, राजाजाम त्यही भट्याउँछन् । अरुको हकमा भने त्यस्तो हुँदैन ।

राजाराम स्क्रिप्टको डायलगमा बाँधिदैनन् । निर्देशकले सिक्वेन्स मात्र बताउनुपर्छ, उनी सरासर आफ्नो डायलग बोलिदिन्छन् ।

‘सुदर्शन थापा त त्यही कारण अप्ठ्यारो मान्छन्’ राजाराम भन्छन्, ‘उनलाई स्क्रिप्टकै डायलग चाहिने, मलाई स्क्रिप्टको डायलग मरिगए बोल्न नआउने ।’

महसँग चाहिँ उनको ट्युनिङ कतिसम्म मिल्छ भने, कति प्रहसनमा उनीहरु स्क्रिप्टभन्दा बाहिर गएर पनि आफुखुसी बोल्न थाल्छन् । मान्छे हास्न थालेपछि उनीहरुलाई रोकिन मन लाग्दैन । बोल्दै जाँदा कुनै प्रहसन त उनीहरुले लेखेको भन्दा दोब्बर लामो हुन्छ । ‘दर्शकले बाहिरबाट हाम्रो प्रहसन हेरिरहेको हुन्छ’ उनी भन्छन्, ‘हामी भित्रभित्रै अर्कै जात्रा देखाइरहेका हुन्छौं ।’

चोर माइला

एउटा रमाइलो प्रसंग छ । तुलसी घिमिरेले ‘दक्षिणा’ बनाउने भए । त्यसमा एउटा चरित्र थियो, चोर माइलाको । यसका लागि तुलसीले राजाराम नै फिट देखे ।

फिल्मबारे दुबैबीच छलफल भयो । पारिश्रमिकलगायत सबै बिषयमा छिनोफानो भएपछि राजाराम त्यहाँबाट उठेर हिँड्नै लागेका थिए । तुलसीले रोकिहाले, ‘ए भाइ, मैलें तपाईंसँग एउटा कुरा गर्नै बिर्सेछु ।’

राजाराम रोकिएर कान ठाडो पारे । तुलसी भन्दै थिए, ‘भाइलाई म स्क्रिप्ट चाहिँ दिन्न है । तपाईंलाई मैले डायलग दिएँ भने तपाईंले राइटरको भाषा बोल्नुहुन्छ । मलाई राइटरको होइन, तपाईंको बोली चाहिन्छ ।’

सुटिङको लागि कालेबुङ गए । त्यहाँ पुगेपछि राजारामले भने, ‘ल दाइ, के कसो हो ?’

तुलसीले फिल्मको सिक्वेन्स बताइदिए । राजाराम स्त्रिmप्ट नै नहेरी क्यामेरा अघिल्तिर पुग्थे । मनमा लागेको कुरा बोल्थे । तुलसी घिमिरे ‘एक्सन’ भन्थे । राजाराम आफै ‘कट’ भनिदिन्थे ।

खासमा तुलसी घिमिरे यस्ता निर्देशक थिए, जसलाई कलाकारको खुबी मिहीन ढंगले पहिल्याउन सक्थे । राजारामलाई लाग्छ, तुलसी घिमिरेले दिएको ‘चोर माइला’ वास्तमै उनको जीवनसँग मेल खाने चरित्र थियो । दुरुस्तै उनकै जस्तो । किनभने राजाराम पनि उस्तै उटपट्याङ गर्ने ‘चोर माइला’कै फोटोकपी थिए । वास्तविक जीवनमा ।

सानो छँदा उनले के गरे भने, हजुरबा शिवराम बार्दलीमा घाम ताप्दै सुतिरहेका थिए । खेलिरहेका राजारामलाई हजुरबाले बोलाए । हजुरबा डरलाग्दा थिए । लामो कपाल र दाह्री भएको । सबै डराउँथे । हजुरबा घोप्टो परेर सुतेका थिए, राजारामलाई ढाड कुल्चन भने । राजारामले ढाड कुल्चिदिए । हजुरबा निदाएपछि उनको गन्जीबाट जनै बाहिर देखियो । उनले उक्त जनै विस्तारै ताने र बार्दलीमा लगेर बाँधिदिए ।

अर्को त्यस्तै किस्सा छ । बाजेका एक मित्र थिए, चन्द्रमान । उहाँ सधै राजारामको घरमा आउने । एकदिन उनको कोटको खल्ती ‘आँ’ परेको देखे । राजारामको हात चिलाइहाल्यो । उनलाई के गरौं, कसो गरौं भयो । उनले सिस्नु टिपेर ल्याए र खल्तीमा फुत्त हालिदिए ।

एकपटक बिजुलीको तारमा झिँगा बसेको देखे । झिँगा पक्रदै प्लाष्टिकको थैलोमा हालेर बाँधे । अनि उक्त थैली उनकै बुबा सुत्ने खाटको सिरानतिर राखे । रातभर बुबालाई झिँगाले सुत्नै दिएनछ । अर्कोदिन त्यही झिँगाको पोका उनले अफिस जान लागेको काकाको खल्तीमा हालिदिए ।

यस्तो उटपट्याङ गर्ने राजारामलाई तुलसी घिमिरेले गजबकै चरित्र दिएका थिए, चोर माइला ।

फिटिक्कै मन नपर्ने, नाइट र फाइट

राजारामले अभिनय गरे, नाचे, गीत पनि गाए । तर, फाइट गर्न भनेपछि उनको जीउमा काँडा उम्रन्छ । उनी भन्छन् नै, ‘फाइट र नाइट फिटिक्कै मन पर्दैन ।’

नाइट अर्थात उनलाई रात्रीकालीन काम मन पर्दैन । राती ९ बजे त सुतिहाल्नुपर्छ । जस्तोसुकै अवस्था किन नहोस् । घरमा पाहुना अएको बेला पनि उनी ९ बजेपछि लुसुक्कै ओछ्यानमा घुसि्रसक्छन् । यस्तोबेला कहिलेकाहीँ साथीभाइले चित्त पनि दुखाउँछ ।

अमेरिकामा छँदा एउटा साथी राति-राति राजारामकहाँ आउथे । धुमधाम बस्ने योजना बनाउथे । राजाराम भने टाइम हुनसाथ ओछ्यानमा गइहाल्ने । त्यो पनि कसैलाई नभनी । साथीले अरुसँग दुखेसो गरेछन्, ‘त्यो राजारामकोमा झन साथी भनेर जानुपर्छ, ऊ चाहि भन्दा पनि नभनी लुसुक्कै सुत्न जान्छ ।’ एकदिन भेटमा राजारामले रेडिमेड स्पष्टिरण दिएछन्, ‘मेरो हजुरबाले भन्नुभा, सुत्न जाने बेला गएँ है भन्नु हुँदैन रे । गएको गएकै हुन्छ रे ।’

रातिको छायांकन छ भने चाहिँ उनी सकेसम्म निदाउँदैनन् । आफू मात्र ननिदाउने हो र ? सुटिङका कसैलाई पनि निदाउन दिदैनन् । भन्छन्, ‘निदाएपछि उसको मुड नै चेन्ज भइहाल्छ नि, पहिलेको फिलिङ्समा कहाँ काम गर्न सक्छन् ?’

निर्देशक प्रकाश थापाले त कुनै कलाकार मेकअप गरेर निदायो भने, उसलाई ‘आउट’ गरिहाल्ने ।

प्रकाश थापाले भने, ९० टेक खाइदेउ

प्रकाश थापाको बारेमा थुप्रै किस्सा बजारमा प्रचलित छ । उनलाई ‘बाघ’ भनेर सम्बोधन गरिन्थ्यो । अत्यान्तै कडा मिजासको । एकपटक राजाराम उनै बाघ निर्देशकको फेला परे ।

फिल्म थियो, अधिकार ।

राजारामले सुनेकै थिए, ‘उनी बाघ हुन् । रिसाह छन् । झम्टन्छन् ।’

पहिलो दिनको सुटिङ बालाजु स्टुडियोमा थियो । अघिल्लो दिन निर्देशक थापाले भनेका थिए, ‘ल राजाराम, तिमी भोलि अफिसमा आउनु । अनि सँगै जाउँला ।’ बिहानै कार्यालय पुगे, तर मेन गेटमा ताल्चा मारिएको छ । उनले सोचे, ‘बुढा आइपुगेकै रहेनछ ।’

राजाराम वीर अस्पतालको इमर्जेन्सीमा गए । डाक्टरले चिया मगाएपछि भने, ‘कहिलेकाहीँ त कस्तो हुन्छ है राजाजामजी, फिल्ममा जस्तै ।’

राजारामले सोधे, ‘के भयो र ?’

‘ल हिजोको घटना थाहा छैन र ?’ डाक्टरले प्रश्न गरे । राजारामले आफू अनभिज्ञ रहेको बताएपछि डाक्टरले भने, ‘सन्तोष पन्त अमेरिकाबाट फर्किरहेको । ऊ फर्केर आउँदा घर पुग्न लागेको बेला एक्सिडेन्ट देख्यो । मान्छेको भीड । केही लडिरहेको । पछि घर पुग्दा त आफ्नै छोरीको मृत्यु भएको ।’

सुनेर राजाराम खङ्ग्रङ्ग भए । डाक्टरले फेरी थपे, ‘त्यतीमात्र हो र ? फेरी अर्को घटना घट्यो नि । सन्तोष पन्तको काका, बसन्त पन्तको बुबा । त्यही बच्चाको मलामी गएको जमलमा अर्को बसले हानेर उहाँको पनि मृत्यु भयो ।’

‘ला उहाँको डेडबडी लग्यो त ?’ राजारामले सोधे । डाक्टरले भन्यो, ‘छैन यही बाहिर छ ।’ राजाराम बाहिर गए र सेतो कपडा उठाएर यसो हेरे । उनलाई बादलले छोपेजस्तै भयो । केही देखेनन् । त्यसपछि प्रकाश थापा आइपुगे । उनैसँग बसेर बालाजु स्टुडियो पुगे । सुटिङ सुरु भयो । राजेश हमालसँगको फाइट सिन थियो ।

एक टेक, दुई टेक, तीन टेक, चार टेक, पाँच टेक, छ टेक, सात टेक खाए । अहं उनलाई मुड नै आएन । उनी हायलकायल भए । पसिना आउन थाल्यो । उनले निरिह शैलीमा भने, ‘डाइरेक्टर साप गर्नै सकिन, खै के भो, के भो ?’

निर्देशक थापाले जंगिएर भने, ‘ह्या, टेक खाएर के हुन्छ ? एउटा फिल्ममा दिलीपकुमारले ७० टेक खायो । तिमी ९० टेक खाइदेउ ।’

थापाको यो शब्दावली सुनेपछि उनको शरीरमा बेग्लै जोश भरिएर आयो । उनले खराखर अभिन गरिदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment