काठमाडौं । आफ्ना दिवंगत साथीबारे प्रश्न आएपछि क्रोएसियाका गोलरक्षक डानिजेल सुवासिक भावविह्वल भएका छन् ।
सुवासिकका साथी हर्भोज कस्टिकको १० वर्ष अगाडि सन् २००८ मा एनके जादार क्लबबाट फुटबल खेल्ने क्रममा कंक्रिटको पर्खालमा ठोक्किएर मृत्यु भएको थियो । यो घटना हुँदा उनी मात्र २४ वर्षका थिए ।
मंगलबार डेनमार्कलाई हराएपछि मिडियाहरुले जादारबाट खेल्दा मिल्ने साथीबारे सम्झाएपछि गोलरक्षक सुवासिकले आफूलाई सम्हाल्नै सकेनन् । उनको आँखाबाट आँशु खस्न थाल्यो र क्रोयसियाको क्याम्पका एक जनाले सम्झाएपछि मात्रै उनले आँशु पुछेर पत्रकारहरुको प्रश्नको जवाफ दिन थाले ।
रुससँग शनिबार हुने खेलअघि आएको यो प्रश्नले उनलाई भावुक बनायो तर, आफूलाई सम्हाल्नेपछि ३३ वर्षीय गोलरक्षकले अन्य प्रश्नहरुको डटेर सामना गरे ।
टाइब्रेकरमा डेनमार्कका तीन खेलाडीको पेनाल्टी रोक्दै क्रोएसियालाई क्वार्टरफाइनलमा पु¥याएका उनले जित आफ्नो सबैभन्दा मिल्ने साथी कस्टिकको लागि समर्पित गरेका थिए । त्यसैगरी कस्टिकको सम्झनामा उनले डेनमार्कसँग खेलका क्रममा लगाएको टिसर्ट पनि फिफा म्युजियमलाई दान गरेका छन् ।
उनले प्रत्येक अन्तर्राष्ट्रिय खेलमा क्रोएसियाको जर्सीभित्र कस्टिकको तस्वीर अंकित टिसर्ट लगाउने गर्छन् ।
मोनाकोबाट व्यवसायिक फुटबल खेल्दै आएका गोलरक्षक डानिजेल सुवासिकले प्रत्येक पेनाल्टी रोकेपछि आकाशतिर फर्केर आफ्नो दिवंगत साथीलाई सम्झिएका थिए ।
क्रोयसियाले अब शनिबार आयोजक रसियालाई हराएर विश्वकपको सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको छ । रसियाले पनि टाइब्रेकरमा स्पेनमाथि नाटकीय जित हाच पार्दै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।