Comments Add Comment

गरे के हुँदैन ? बागमती किनारमा यति गजबका पार्क ! (फोटोफिचर)


२० असार, काठमाडौं । केशव स्थापितले कुनै समयमा बागमतीको सौन्दर्यकरणका लागि एउटा सपना देखाएका थिए, ‘बागमतीलाई सफा बनाएर कलरफुल माछा हाल्ने अनि किनारमा पार्क-नै पार्क बनाएर पर्यटन प्रवर्द्धन गर्ने ।’

स्थापितले यसका लागि काम नै त गरेनन्, तर बागमती किनारमा पार्क बनाउने र नदी सफा गर्न सरकारले नै प्रयास थाल्यो । नदी सफाइ अभियानसँगै बागमतीमा पार्कहरु भने धमाधम बनिरहेका छन् ।

केही समयअघिसम्म किनारमा पार्क विकास गर्ने कुरा हुँदा कुनै समय कसैलाई विश्वास थिएन ।

तर, शंखमुल (च्यासल खेल मैदान नजिक) मा रवि-रवि शंकरको लगानीमा निर्माण भएको पार्कले बागमती किनारमा पार्क बनाउन सकिन्छ भन्ने दरिलो प्रमाण दिएको छ । पार्कमा ढकमक्क फूल फुलेका छन् ।

गजबसँग व्यवस्थापन हरियो दुबोले कंक्रिट शहर हेरेर दिक्क भएकाको मन बहलाउँछ । नदीको डिलमा लगाइएका रुख विरुवाले फोहोर नदीको गन्धलाई खासै फैलन दिएको छैन । यो पार्कमा पुगेपछि सबैलाई एकपटक अवश्य पनि अनौठो नै लाग्छ,’आहा ! बागमतीको किनारमा यस्तो पार्क !’

यो पार्क विहान र बेलुका मात्रै खुल्ने गरेको छ । शंखमुलको यो पार्क बागमतीको किनारमै छ । केही समयअघिसम्म झाडीले ढाकिएको यो ठाउँमा बनेको पार्क स्थानीयका लागि अविश्वसनीय वरदान बनेको छ । यहाँ बेलुकाको समयमा यो पार्कमा भीड लाग्छ । वरपर चहलपहल बढेको छ । ब्यापारिक गतिविधि पनि फस्टाएको छ ।

स्थानीय प्रितम मानन्धर पार्कको योजना मात्रै सुनाउँदा आफूहरुलाई विश्वास नलागे पनि अहिले पार्क बनिसकेपछि भने यसको महत्व पनि बुझेको बताउँछन् ।


‘यहाँ पार्क बनेपछि हामीलाई शंखमुलमा घर छ भन्न पनि गर्व लाग्ने भएको छ,’ पारीतर्फ एनआरएनएले बनाइरहेको अर्को पार्क देखाउँदै उनले भने,’त्यो पार्क पनि बनेपछि यो काठमाडौंमा बागमती किनारकै नमूना ठाउँ हुन्छ ।’

अहिले बागमती र विष्णुमतीका विभिन्न २० भन्दा बढी स्थानमा यस्तै पार्क निर्माणको लागि काम हुँदैछ । गोकर्णदेखि तिलगंगासम्मको क्षेत्रमा सरकारले नै काम गर्दैछ ।
पार्क बनाउनेदेखि विभिन्न संरचनाहरु तयार गर्न १ अर्ब ९० करोडको ठेक्का लगाएर काम भइरहेको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशिष घिमिरेले जानकारी दिए ।

मीनभवनदेखि तल भने विभिन्न संघ संस्था, बैंक, वित्तीय संस्था र व्यक्तिहरुले बागमतीमा पार्क निर्माणको जिम्माा लिएका छन् । तिनै संस्थाले लगानी गरेर बनाउने पार्कका लागि समतिले जग्गा उपलब्ध गराइरहेको घिमिरेले बताए ।

नदी किनारको फोहोरमाथि झाडी फाँडेर पार्क बनाउने हो भने त्यसले बागमतीको सभ्यता जोगाउन निकै सहयोग पुग्ने देखिएको छ ।

अहिले शंखमुलमा एनआरएनएले अर्को पार्क पनि बनाउँदैछ । टेकुमा सरकारले बागमती सम्पदा पथ निर्माण गर्दैछ । त्यससँगै विभिन्न बागमती किनारामा पार्कहरु बनिरहेका छन् ।


यस्ता पार्कहरुले बागमतीलाई सफा राख्न पनि मद्दत गर्ने विश्वास सरकारको छ । फोहोर फाल्ने ठाउँ बनेका किनारका सार्वजनिक जग्गालाई उपयोग गरेर पार्क बनाउँदा सुकुम्बासीका नाममा हुने अतिक्रमण पनि हट्ने समिति बताउँछ ।

साथै शहरमा प्राकृतिक वातावरणमा समय विचरण गर्नेहरुलाई पनि यस्ता पार्कले भरपर्दो विकल्प दिएको छ ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment