Comments Add Comment

गैंडा चीन पठाउनेबारे समन्वय नगरेको भन्दै नगरपालिकाको असन्तुष्टि

२०, असार, चितवन । एक सिंगे गैंडा चीन पठाउने बारे चितवन राष्ट्रिय निकुञ्जले समन्वय नगरेको भन्दै रत्ननगर नगरपालिकाले असन्तुष्टि जनाएको छ ।

नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी गैंडा चीन पठाउने बारे कुनै बिरोध नभएपनि समन्वय नगरेको भन्दै नगरपालिकाले असन्तुष्टि जनाएको हो ।

नगरपालिका मेयर नारायण वनले गैंडाको संरक्षणमा समुदायसँग मिलेर काम गर्ने स्थानीय सरकार नगरपालिकालाई यसबारेमा कुनै समन्वय नगराइनु दुःखद र आपत्तिजनक भएको बताए । ‘गैंडाले स्थानीयको जनधनको क्षती गर्दा नगरपालिका नै सबैभन्दा पहिला पुगेर सहयोग र सम्झाउनु पर्दछ, यो काम त अरुले गर्दैनन्,’ मेयर वनले भने, ‘अनि तिनै गैंडा चीन पठाउने कुरा हुँदा हामीलाई वेवास्ता ? यस्तो गर्न मिल्छ ?’

सरकारले अगामी असार २८ गते उत्तरको छिमेकी देश चीनमा एक जोडी गैंडा पठाउने तयारी गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदबहादुर ढकालले चीन लैजाने बेलामा नगरपालिकासँग समन्वय हुने बताए । ‘हामीले भन्दा पनि यो नेपाल सरकारको निर्णय अनुसार भएको हो, सरकारले जे जे गर्नुभन्यो त्यही गरेका छौं, स्थानीय सरकारसँग अनुमति लिने कुरा हो जस्तो लाग्दैन,’ प्रमुख संरक्षण अधिकृत ढकालले अनलाइनखबरसँग भने, ‘उहाँहरुले चासो राख्नु स्वभाविक हो, तयारीका बारेमा जानकारी गराउँछौं ।’

डेढ महिनाअघि निकुञ्जबाट ल्याइएका गैंडालाई ल्याएर एक बिषेश प्रकारको काठको खोर (पिट बुमा) मा राखेर बाहिर वातावरणसँग अभ्यस्त बनाउने काम भैरहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको खोरिया मुहान नजिकको देवीतालबाट वैशाख १५ गते ल्याइएको गैंडाको भाले बच्चा ‘भऽ’ नाम दिइएको छ भने, वैशाख १७ गते समातेर ल्याइएको दुई बर्षको पोथी गैंडालाई रुपसी नाम दिइएको छ । भद्र डेढ वर्षको छ । पहिलो चरणमा भद्र र रुपसी चीन जानेछन् भने दोस्रो चरणमा अरु थप एक जोडी पठाइने छ । एकै वर्षमा एक जोडी मात्रैं पठाउन मिल्ने भएका कारणले अर्को बर्ष मात्रैं वुमामा रहेका गैंडा पठाउन सकिने निकुञ्जले जनाएको छ ।

चीन लाने गैंडाको बच्चाको नियमित स्वास्थ्योपचार र खानपानमा विषेश ध्यान दिइएको छ । प्रत्येकलाई दैनिक दुई दर्जन केरा, पाँच किलो बन्दा, एक किलो स्याउ र एक किलो गाजर खुवाउने गरिएको छ । बिहान बेलुका गरी ४० लिटर दूध दिने गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषमा निर्माण गरिएको राखेर छुट्टाछुट्टै राखेर स्याहार गरिएको छ ।

चीन लैजान तय गरिएको चार वटा गैंडाको बच्चालाई बाहिरी वातावरणमा घुलमिल हुन सिकाइएको छ । प्रत्येक गैंडालाई वन्यजन्तु प्राविधिकसहित दुई जनालाई जिम्मेवारी दिइएको छ । अन्य दुई गैंडालाई दोस्रो चरणमा लगिने बताइएको छ ।

चीनको सांघाई र गोन्जाओमा रहेको मानवनिर्मित पार्क राख्न असार २८ गते लाने तयारी गरिएको हो ।

दुई वर्षअघि असार २६ गते सरकारले चीनलाई गैंडा उपहार दिने निर्णय गरेको थियो । सन् २०१४ को गणनाअनुसार नेपालमा ६ सय ४५ वटा गैंडा छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ गैंडा छन् । यसअघि २५ वटा मुलुकमा वन्यजन्तु उपहार दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment