Comments Add Comment

रुपन्देहीमा २५ करोड लगानीमा खुल्यो आरम्भ रिसोर्ट

२१ असार, बुटवल । रुपन्देहीमा ठूला लगानीका होटल र रिसोर्टहरु खुल्ने क्रम बढ्दो छ । आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गर्दै बुटवल उपमहानगरपालिका १३ ढबाहामा २५ करोड लगानीमा आरम्भ रिसोर्ट सञ्चालनमा ल्याइएको छ ।

आरम्भ ग्रुप अफ हस्पिटालिटी अन्तर्गत १ सय ४० जनाको संयुक्त लगानीमा पब्लिक कम्पनी अन्तर्गत आफ्नै स्वामित्वको करिब ४ बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरिएको छ ।

पब्लिक कम्पनी अन्तर्गत सञ्चालनमा आएको आरम्भ रिसोर्ट रुपन्देहीकै पहिलो हो । जिल्लाकै ठूलो स्वीमिङ पूल, कन्फेरेन्स हल, पार्टी प्यालेससहित मास्टर किङ साइजका हाल ९ वटा वातानुकुलित बेडरुम रहेका रिसोर्टमा एक वर्षभित्र पूरा हुने गरी ५० वटा र २ वर्षभित्र सय वटा स्तरीय बेडरुम निर्माण गर्ने लक्ष्य रहेको रिसोर्टका सञ्चालक गोपाल पाण्डेले जानकारी दिए ।

लजका लागि दुई वटा अलग अलग भवन बनाइने कम्पनीको योजना रहेको छ । रिसोर्टमै ब्याचलर इन होटेल म्यानेजमेन्ट -बीएचएम) को कक्षासमेत सञ्चालन भइरहेको छ । भविष्यमा रिसोर्टलाई नेपालकै नमूना ‘स्कूटेल’ -शिक्षण होटल) र पाँचतारे होटलका रुपमा विकास गर्ने लक्ष्य रहेको पाण्डेले बताए ।

रिसोर्टमा हाल ४७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । रिसोर्ट पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नयाँगाउँ ढबाहाबाट सात सय मिटर दक्षिणमा अवस्थित छ । रिसोर्टको बिहीबार प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे ।

रिसोर्ट उद्घाटन गर्दै मन्त्री गिरीले रुपन्देहीमा पर्यटन विकासको प्रचूर संभावना रहेकाले स्तरीय होटल र रिसोर्टहरुमा अझै लगानी आवश्यक रहेको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसंगै एक वर्षपछि प्रत्येक दिन १५ देखि २५ हजार आन्तरिक र वाह्य यात्रु/पर्यटक रुपन्देही अवतरण गर्ने भएकाले भविष्यलाई मध्यनजर गरी व्यवसायीहरुले अहिल्यैबाट तयारी थाल्नुपर्ने सुझाव दिए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका महासचिव माधव खनालका अनुसार रुपन्देहीमा  साना, मझौला, ठूला र तारेसहित करिब एक हजार पाँच सय  होटल सञ्चालनमा रहेका र एक रातमा पाँच हजार जना पाहुनालाई सहजरुपमा राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment