Comments Add Comment

हिरोलाई ५० लाख, अनि कथालाई ?

कुनै चलचित्रको मेरुदन्ड मानिन्छ कथा यानेकि कथावस्तुलाई । स्क्रीप्ट नै झूर छ भने अरु क्षेत्रमा जति लगानी थोपरे पनि उत्कृष्ट चलचित्र बन्न सक्दैन ।

ठूला स्टार लिएर महंगो लागतमा बनाइएका चलचित्र पनि कमजोर स्क्रीप्टले गर्दा मात खाएका उदाहरण धेरै छन् । हालै दुई बलिउड फिल्म प्रदर्शनमा आए । एउटा सलमान खान अभिनित ‘रेस ३’ र अर्को रणवीर कपुर अभिनित ‘सञ्जु’ । निसन्देह रणवीरको तुलनामा सलमानको स्टारडम कयौं गुणा बढि छ । तर व्यापारको कुरा गर्दा ‘रेस ३’ भन्दा ‘सञ्जु’ धेरै अगाडि छ । ‘रेश ३’ले इदको अवसरमा रिलिज हुँदा पनि १६० करोडभन्दा बढि कमाई गर्न सकेन ।

‘सञ्जु’को स्क्रीप्ट तयार पार्नका लागि निर्देशक राजकुमार हिरानीले ठ्याक्कै ३ बर्ष लगाएका थिए । चलचित्रमा आफूलाई फरक-फरक हुलियामा देखाउन नायक रणवीर कपुरले २-२ महिनाको ग्याप लिएका थिए । फलस्वरुप अहिले उनीहरुको जताततै प्रशंसा भएको छ ।

नेपाली चलचित्रको कुरा गर्दा प्राविधिक पक्ष सुधार हुँदै गएको छ । तर स्क्रीप्टमा भने अझै पर्याप्त मिहिनेत गरिएको देखिदैन । हालसालै एक स्टार कलाकार राखेर छायांकन गरिएको चलचित्रका निर्देशकले सुटिङ स्पटमै पुगेर कथा फेरबदल गर्ने गर्थे । अघिल्लो दिन कलाकारले एउटा भूमिकाका लागि तयारी गर्थे, भोलीपल्ट कथा नै परिवर्तन भैसकेको हुन्थ्यो । पछि कथाकै कारण चलचित्रले समिक्षक र दर्शकको राम्रै गाली खायो ।

नेपाली चलचित्रका कलाकारलाई हिजोआज ५० लाखसम्म पारिश्रमिक दिन निर्माता तयार हुन्छन् । कलाकारलाई महंगो पारिश्रमिक दिएर अनुवन्धित गर्न सकेमा पनि उनीहरु ठूलै युद्ध जितेको महशुश गर्छन् । कलाकारका घर धाउने, अनुवन्धित गर्न ठूलै पावर लाउने निर्माताले के त्यो हिरोले अभिनय गर्ने चलचित्रको पटकथाका लागि मिहिनेत गरेका छन् ? के चलचित्रको कथा लेख्नेहरु हरेक कोणबाट सन्तुष्ट छन् त ?

रिलिज डेट पहिल्यै तोकेर कथा लेखाउँछन्: सामिप्यराज तिमिल्सिना

एक दर्जन बढी चलचित्र लेखिसकेका सामिप्यराज तिमिल्सिनालाई नेपाली निर्माताहरु चलचित्रको पटकथामा गम्भिर नभएको देख्दा उदेक लाग्छ । सामिप्य भन्छन्-‘पहिले भन्दा अहिले केही गम्भिर त बनेका छन् । तर, फेरि त्यो चिन्ता लामो समयसम्म टिक्दैन । पटकथा लेख्नेलाई राम्रो वातावरण दिनुपर्छ भन्ने सोच नै छैन । सकेसम्म चाडो सकेर सुटिङ गर्न पाए पुगिहाल्छ ।’

सामिप्यको अनुभवमा जब, पावरफूल कथा तयार पारिन्छ त्यसपछि बल्ल चलचित्र राम्रो बन्ने सम्भावना हुन्छ । तर, पहिले नै चलचित्रको रिलिज डेट तय गरेर कथामा काम गर्नेे निर्माता-निर्देशक धेरै छन् यहाँ । उनीहरुले कस्तो कथाको अपेक्षा गरेका हुन्छन्, अनुमान गर्न सकिन्छ ।
कलाकारलाई भनेजति पारिश्रमिक दिन तयार हुने निर्माता लेखकको हकमा भने मुठ्ठी कस्न खोज्छन् । चलचित्र मात्र लेखिने अवस्था अझै नरहेको सामिप्य बताउँछन् ।

उनी भन्छन्-‘मैले एउटा फिल्मको ५ लाख डिमाण्ड गर्ने गरेको छु । तर, अहिलेसम्म पुरा पैसा पाएको रेकर्ड छैन । पाउने रकम पनि एकैपटक आउँदैन । २० हजार, ३० हजार गरेर दिन्छन् । जसले गर्दा लेख्ने मुड पनि खलबल भैसकेको हुन्छ । आर्थिक रुपमा असन्तुष्ट लेखकबाट उत्कृष्ट कथाको अपेक्षा गर्न पनि सकिँदैन ।’ आफूले लेखेको कथा सोचेअनुसार पर्दामा नआउँदा पनि असन्तुष्ट बन्छन् लेखक ।

सामिप्यले भने- ‘अहिलेसम्म १२ वटा चलचित्र लेखेँ होला, पर्दामा आउँदा म कुनैबाट पनि सन्तुष्ट भइनँ । बरु, एउटा भूसको लोग्ने भन्ने छोटो चलचित्र लेखेको थिएँ, त्यसबाट भने सन्तुष्ट छु ।’

एउटा चलचित्र लेख्नका लागि नेपालका लेखकले बढीमा ६ महिना समय पाउँछन् । तर, त्यो ६ महिना निकै कम हो भन्ने सामिप्यको धारणा छ । उनी भन्छन्-‘कम्तीमा पनि १ बर्षको समय हुनुपर्छ । तर, यहाँ त चलचित्रको रिलिज डेट तोकेरै काम गर्ने प्रचलन हुँदा कथा हतारमा सक्नुपर्ने वाध्यता छ ।’

चलचित्रको कथा हतारमा लेख्ने मात्र होइन, त्यो कथा अनुसार आफूलाई ढाल्ने कलाकार पनि नेपालमा छैनन् । सौगात मल्ल, विपिन कार्की लगायतले त्यो प्रयास गरेता पनि ९० प्रतिशत कलाकारले पूर्ण कथामा ध्यान दिदैनन् । हरेक चलचित्रमा आफ्नो भूमिका फरक छ भनेर ठूला कुरा गर्नुबाहेक कुनै पनि कलाकारले भूमिका अनुसार आफूलाई मिहिनेत गरेको पाइदैन । बिहान एउटा चलचित्रको छायांकन सकेर बेलुका अर्को चलचित्रको छायांकनमा जाने हतारो धेरै कलाकारलाई हुन्छ । यसैले, उनीहरु आफ्नो भूमिका कस्तो छ भन्दा पनि सुगा रटाइमा काम गरिरहेका छन् ।

कथा दुरुस्त पर्दामा आउँदैन: प्रदिप भारद्धाज

नेपाली चलचित्रमा पछिल्लो समय चलेका लेखक हुन्, प्रदिप भारद्धाज । प्रदिप, नेपाली चलचित्रमा कथा, पटकथामा पनि मिहिनेत गर्नुपर्छ भन्ने सोचको विकास बल्ल हुन थालेको बताउँछन् । उनले भने-‘कसैले कथा लेख्ने समय दिने भन्दा पनि आफूले लिने हो । नेपालको अवस्थामा ३ देखि ६ महिना ठिकै हो । मैले ६ महिनाको समय लिएर चलचित्र लेख्नु गरेको छु । त्यो भन्दा कममा चाडै सक्नुपर्‍यो भन्ने निर्मातासँग मैले काम नै गर्दिनँ ।’

आफूले पुराना निर्मातासँग काम गरेकाले पनि उनीहरुले पटकथाको मर्म वुझ्न थालेको प्रदिपको भनाई छ । उनले, अहिले आफूले पाउने गरेको पारिश्रमिकबाट नेपालको परिप्रेक्षमा खुशी नै रहेको बताए । उनले भने-‘नयाँ निर्माताहरु चाँडो लेखिदिनुपर्‍यो भनेर आउनुहुन्छ, उहाँहरुसँग त म काम नै गर्दिनँ । पुरानाहरुमा पटकथा राम्रो बनाउनुपर्छ भन्ने सोच पलाएको छ ।’

प्रदिपले गुनासो गर्दै भने-‘मैले लेखेको कथामा ६० प्रतिशत मात्र पर्दामा उतारियो भने त्यो राम्रो हो भनेर मान्ने गरेको छु । यहाँ त, १५-२० प्रतिशत पनि कथा अनुसार पर्दामा उतारिदैन ।’

प्रदिपले कलाकारमा पनि कथा अनुसार मिहिनेतको आवश्यकता औल्याए । थिएटरबाट आएका कलाकारहरुले भने यसमा केही मिहिनेत गर्ने उनको भनाई छ । उनले, नेपालमा बल्ल कथामा मिहिनेत गर्नुपर्छ भन्ने कल्चरको सुरुवात हुन थालेको स्पष्ट पारे ।

कलाकारहरु कथामा भिज्दैनन्: अभिमन्यू निरबी

चलचित्र लेखनमा चलेको अर्को नाम हो, अभिमन्यू निरबी । उनको वुझाइमा नेपालमा पछिल्लो समय पटकथालाई महत्व दिने सोच बढेको छ ।
‘तर, यतिले मात्र पुग्दैन,’ उनले भने-‘कथा, पटकथामा निर्माताहरु गम्भिर त देखिनु भएको छ । तर, आर्थिक रुपमा पनि अझै कथामा लगानी गर्नुपर्छ भन्ने सोचको विकास भएको छैन । एउटा कलाकारलाई ३० लाख, ४० लाख पारिश्रमिक दिन तयार निर्माताहरु पटकथाकारलाई सस्तो ठान्नुहुन्छ । तर, कथा उत्कृष्ट नभई चलचित्र चल्दैन ।’

एउटा राम्रो कथा तयार गर्नका लागि ६ महिना समय लाग्ने अभिमन्यूको भनाई छ । तर, केही निर्मातालाई छाड्ने हो भने २ महिनामै कथा तयार पारिदिनुपर्‍यो भन्दै आउने धेरै रहेको उनले सुनाए ।

कथावस्तु राम्रो तयार भए पनि त्यसको २५ प्रतिशत पनि पर्दामा नआएको गुनासो अभिमन्यूको छ । उनले भने-‘हामीले लेखेको कथा पर्दामा हेर्दा निकै असहज लाग्छ । चलचित्रको अन्तिम ड्राफ्ट तयार भएपछि त्यो हलसम्म आउँदा ६ वटा स्टेज पार गरेर आउँछ । तर, त्यो ६ वटै स्टेज निकै फितलो हुन्छ ।’

नेपालमा अधिकांश कलाकार कथामा भिज्दै नभिज्ने अभिमन्यूको भनाई छ । ‘हुनत, यसमा हाम्रो पनि कमजोरी होला । हामीले उसको भूमिकालाई कथामा राम्रोसँग वुझाउन नसकेको पनि होला ।’

यसमा कुनै शंका छैन कि, नेपाली चलचित्र चुकेकै स्क्रीप्टमा हो । कलाकारका लागि महंगो पारिश्रमिक दिन तयार नेपाली चलचित्रका निर्माता कथामा फिटिक्कै मिहिनेत गर्दैनन् । हुनत यहाँ कस्तो कथामा चलचित्र बनाउने भन्ने वुझेका निर्माता नै कम छन् । अरुको लहलहैमा, हिरोइनसँग हिमचिम गर्न पाइन्छ भन्ने आश्वासनमा लगानी गर्ने धेरै छन् । चलचित्रको कुन पाटो शक्तिशाली हो भन्ने नवुझिकन लगानी गर्ने कुनै दृश्यका लागि क्यानभास तयार गर्दा लोभ गर्ने तर बेलुकी हिरोइनसँग बसेर मदिरामा रम्न पाए मख्ख हुने निर्माता धेरै छन् ।

हो, समय अनुसार कलाकारलाई पनि पारिश्रमिक दिन आवश्यक छ । तर, कलाकारलाई मात्र पारिश्रमिक थोपार्दैमा चलचित्र चल्ने ग्यारेन्टी हूँदैन । पहिले, चलचित्रको मेरुदण्ड कथावस्तुमा ध्यान दिन आवश्यक छ । होइन भने, हलमा चलचित्र चलेपछि करोडौ कमायो भनेर हल्ला फिजाउने अनि घरमा पुर्पुरोमा हात राखेर बस्नु बाहेक अरु उपाय नै हुँदैन ।

अनमोलदेखि साम्राज्ञीसम्मः कसको स्टार पावर कति ?

पेलाईमा निर्माता, ‘मुर्गा’ संस्कृति कहिलेसम्म ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment