Comments Add Comment

गतिहीन सरकार, मतिहीन विपक्षी

इतिहासकै शक्तिशाली ठानिएको वर्तमान केपी ओली नेतृत्वको वाम सरकारका गृहमन्त्री रामबहादुर थापा बादलका केही अर्धछापामार शैलीका काम र केही होमर्कहरुलाई अलग-थलग गर्ने वा उनलाई क्याबिनेटबाट झिकेर हेर्ने हो भने कोही कसैले पनि ओली सरकारको अस्तित्व भेट्न मुश्किल छ । किनभने ओली मन्त्रिमण्डलका कुनै पनि सदस्यले समाजको ठूलो हिस्सालाई तरंगित गर्नेगरी माखो पनि मारेका छैन्न ।

सरकारले के गर्‍यो होइन, के के गरेन भन्ने सूची लामो छ । दोस्रो पट्क झन स्पाती शक्ति आर्जेका प्रधानमन्त्री ओलीको त उखान टुक्के भाषणमा पनि सुस्तता आउन थालिसक्यो । स्थानीयदेखि केन्द्रीय सत्ता कोही कतै जनमुखी हुन सकेन्न । तर सडकदेखि सदनसम्मको सरकार विरोधी हुँकार देख्दाचाहिँ लाग्छ, ओली सरकारले एकदलीय अधिनायकवादको शिलान्यास गरिसक्यो ।

हो, राजा रजौटाका विरासतबाट हुर्के बढेको देश अहिले वामपन्थी सरकारको तजविजीमा चलेको छ । वडादेखि गाउँ, नगर, शहर, प्रदेश हुदै केन्द्रीय सत्तामा पनि वामपन्थीहरुकै निर्वाचित नेतृत्व भएका कारण अहिलेको नेपाल वामपन्थीकै नेपालभन्दा फरक पर्दैन । किनकी यो जनताको मतसँग साटिएको वैधानिक वाम सत्ता हो । नेपालको वर्तमान वाम सत्तालाई कोही कसैले किन अस्वीकार गर्न सकिँदैन, मिल्दैन भने उनीहरु जनताको मतबाट सर्वस्वीकार्य निर्वाचनका बाटोबाट सत्तामा पुगेका हुन् ।

लोकतन्त्रको दुहाई दिने कुनै माईकालालले निर्वाचित सरकारको वैधानिकतामा कुनै पनि कोण र जोडबाट प्रश्न गर्नु वाहियात हो । यदि यो सरकारको काम कारवाही कसैलाई मन परेन वा त्यसको खिलाफमा कोही उभिने हो भने त्यसको झटारो जनादेश दिनेे जनताप्रति सोझिनुपर्छ । किनभने ओलीले केही गरेन्न भन्ने हो भने त्यसको जिम्मेवार अब ओली होइनन्, ओलीलाई चुन्ने जनता हुन् । जनता कसका हुन ? चुनावी मतादेशको जगमा जनता ओली, प्रचण्डकै हुन, नेकपाकै हुन, कम्तीमा अहिलेसम्म ।

यसकारण केपी ओली नेतृत्वको सरकारलाई कोही कसैले पोलपोटको छायाँ वा खमेरुजको सन्तान देख्छन् भने त्यो उनीहरुको भ्रम मात्र हो । उसोभए प्रश्न उठ्छ के यत्रो विधि जनमतले बनेको वामपन्थी सरकार उग्र जनपक्षीय छ त ? सरकारले विपक्षी कांग्रेसकै शब्दमा अधिनायकवादको बाटो समातेको हो त ? वा सर्वोच्च अदालतकी प्रथम पूर्वप्रधान म्याडम श्रीमान सुशीला कार्कीले भनेजस्तै के ओली सरकार सामन्ती सरकार हो त ? वा विप्लवहरुले भनेजस्तै यो निकम्मा सरकार हो त ? वा गगन थापाका शब्दमा काँसको थालमा मार्सी धानको भात खाने प्रवन्ध मिलाउने नोकरशाहीहरुको सरकार हो त यो ?

लालझण्डाधारी दाइ कांग्रेस सरकार !

कुरा स्पष्ट छ, यो वाम ट्रेडमार्कको नयाँ कांग्रेसी चरित्रको सरकार हो । पुष्पलाल श्रेष्ठकालीन, झापा विद्रोहकालीन वा मदन भण्डारीकालीन वा भूमिगत जनयुद्धकालीन वाम संस्कारको सरकारको छवि यसमा कसैले खोज्छन् भने यो पनि भ्रम नै हो । यो लालझण्डाधारी दाइ कांग्रेस सरकार हो ।

अहिले सरकारलाई आलोचना गर्ने जति छन ती कोही पनि विशुद्ध जनता होइनन् । पहिले उनीहरु गैर ओली, गैर नेकपा अर्थात कांग्रेसी हुन् । शुसीला श्रीमान सर्वसम्मत प्रधानन्यायाधीश हुन नसकेकै कारण महाअभियोगको डण्डामा दण्डित पूर्वन्यायमूर्ति हुन् । जुम्ला पुगेर १५ औं अनशन खेती गरिरहेका सरकारी जागिरे डाक्टर गोविन्द केसी रविन्द्र मिश्र र गगन थापाहरुका फ्यान हुन् ।

साझा विवेकशीलका झुण्ड हुन् कि गंगामाया अधिकारीलाई वीर अस्पतालमा अनशन बसाएर डलर खेती गर्ने चरण प्रसाई वा कनकमणि दीक्षितहरु नै किन नहुन्, ती सबै डामिएका कांग्रेसी हुन् । कांग्रेस परिभाषाको कथित लोकतन्त्रका नाममा सधैं उनीहरु सत्ता र शक्तिका दाहिना भएर आफ्नो दुनो सोझ्याउदै आएका सदावहार पन्किएका राज्यदोहन गर्ने नेपथ्यका खेलाडीहरु हुन् ।

चारतारे कांग्रेस सत्तामा हुँदा उनीहरुलाई आफ्नो कमाउ खेती फस्टाउन सहज हुन्थ्यो । ओली र प्रचण्डले चारतारे कांग्रेसलाई टपेर हसियाँ हथौडाधारी दाइ कांग्रेस बन्दै सत्ता कव्जा गरिदिएपछि ती चारतारे बर्को ओढेर लोकतन्त्र, मानवाधिकार र विकासको कागजी खेती गरेर खाने सुकिला मुकिलाहरुको वर्ग परिवर्तन भएको छ ।

यसैकारण ओली सत्ताका आलोचकहरु गंगामायाको ओछ्यानदेखि यलमाया केन्द्रसम्म, माईतीघर मण्डलाको दुबो माड्नेदेखि संसद र जुम्लाको अनशनसम्म छरपस्ट छन । सत्ताको वरिपरी खाईपाई आएकाहरुको भाग खोसिँदाको यो स्वभाविक चित्कार, प्रतिरोध र प्रतिशोध हो । यसले वर्तमान सत्ताको जरो किलो त के पात समेत हल्लाउने छैन नै ।

यसैगरी सामाजिक सञ्जालमा सरकारलाई अधिनायकवादी वा मिचाहा देख्नेहरु त वामको भूतात्माको डरपोकेहरु हुन् । किनकी गतिहीन सरकारलाई चलायमान देख्नु जस्तो ठूला भ्रम अरु हुनै सक्दैन । र, जनताका बस्तीमा होईन, सामाजिक सञ्जालमा सक्रिय पुस्ता वा वर्गले गर्ने सुकिलो आलोचना अल्छेहरुको अलाप मात्रै हो ।

कांग्रेसीहरु पहिले एमालेलाई भाई कांग्रेस ठान्थे । किनकि एमाले ०४६ को परिवर्तनपछि निरन्तरजसो कांग्रेसकै पुच्छर लागेर सत्तासहयोगी बन्यो । तर, निर्वाचन ०७५ पछि माओवादी केन्द्रलाई पनि आफैमा विलीन गराएर एमाले भाइ काँग्रेस रहेन, दाइ कांग्रेस भैदियो नेकपाको ब्यानरमा । त्यो पनि जनताको मतादेशको जगमा ।

झण्डा बोक्दैमा मात्रै कोही असली राष्ट्रवादी हुने भए लक्ष्मणसिंह खड्काले सधै सूर्य चन्द्र अंकित झण्डा बोकेकै छन् । उनलाई कम्तिमा झण्डाका साथ देख्दा मान्छेले नोटिस गर्ने भएका कारण उनीहरु झण्डा बोकेर परिचय बटुल्ने सुविधा लिईरहेका हुन् ।

हालको सत्तारुढ नेकपालाई पनि प्रथम एमाले अध्यक्ष तथा प्रधानमन्त्री स्व. मनमोहन अधिकारीकै शव्दमा ट्रेडमार्ककै लागि भए पनि हँसिया हथौडा अंकित अन्र्तराष्ट्रिय श्रमिक मुक्तिको झण्डा बोक्नु नै छ । तर, खासमा नेकपा आज लालझण्डाको असली दाई काँग्रेस दल हो । किनभने सिद्धान्त देखावटी दाँत मात्रै हो । तर व्यवहार, संस्कार, चरित्र र आम क्रियाकलापका आधारमा अब नेकपा वा उसको सरकार, नेता, नीति, कार्यक्रम सबै कांग्रेसी परिभाषाको भन्दा पनि उम्दा लोकतान्त्रिक भैसकेका छन् ।

नेपाली भूधरातलीय सत्ता राजनीतिक अभ्यासको लोकतान्त्रिक चरित्रमा कांग्रेसीलाई टपिदिएकै कारण प्रचण्ड ओली बलिया हुँदा भाग खोसिएको चित्कार मात्रै हो । कोही पनि चारतारे आलोचकको हर प्रकारको विरोधरुपी अरण्यरोदन ।

२०४६ को परिवर्तनपछि सत्ताबाट बिरलै पाखा लागेको काँग्रेसले अब आफूभन्दा तीनदोब्बर शक्तिशाली साइजमा आएको नेकपालाई अधिनायकवादको मतियार वा नायक देख्नु भनेको उसले आफ्नो आंगमा हात्ति नदेख्ने, वामको आंगमा जुम्रा देख्ने दृष्टि दोष मात्रै हो ।

ईच्छामरण अधिकार हो गंगामायाको

वीर अस्पतालको शैयामा अनशनकै क्रममा मर्न चाहन्छिन् गंगामाया । भोकै बसेरै मर्न पाउनु पनि त उनको जन्मसिद्ध अधिकार नै हो । उनका पतिदेव नन्दप्रसाद अधिकारी ईच्छामृत्यु लिएर शिक्षण अस्पतालको शवगृहका सम्पत्ति बनेका छन् ।

अहिले कनकमणि वा चरण प्रसाईहरुको आन्दोलनले चाहिँ गंगामायामाथि अन्याय गरिरहेको छ । सत्तामा नभएको झोकमा चारतारे कााग्रेसीहरु उनलाई साथ दिनदिनै भेटेर, कथित ऐक्यवद्धता जनाएर गंगामायाको मृत्यु अधिकारमा हस्तक्षेप गरिरहेका छन् ।

यदि एक थान गंगामायालाई एकोहोरो रटानमा उनका समर्थकहरुले भने जस्तै बचाउने र गंगामायाले दोषी भनेका जतिलाई पाता कसेर जेल हाल्ने हो भने २०६३ मंसिर ५ को वृहत शान्ति सम्झौता भंग गरेको घोषणा तमाम गंगामायाका फ्यान फ््लोअरहरुले गरुन् । तत्कालिन सत्ताशक्तिका नायक बनेर शान्ति सम्झौतामा सात दलीय नेताका रुपमा हस्ताक्षर गर्ने तत्कालिन काँग्रेस सभापति गिरिजाप्रसाद कोइर्रालालाई पनि स्वर्गबाट फर्काएर ल्याउन् । अनि मात्रै दुईपक्षीय सार्थक पहल सुरु हुन्छ गंगामायाहरुको जिद्धी, हठ वा त्यागमा ।

होइन भने हिजो नन्दप्रसादको वियोगान्त देहान्त हुँदा सत्तामा को ज्ञानेन्द्र महाराजा थिए र ? उनै कांग्रसी सत्ताले होईन नन्दप्रसादको लास शिक्षण अस्पतालमा पुर्‍याएको ? गंगामाया सामु गोहीको आँशु चुहाउन जानेहरुले या त गिरीजाकालीन कांग्रेसको कदम खारेज गर, या त गंगामायालाई प्ले कार्ड बनाउने राजनीति बन्द गर ।

किनभने गंगामायाका पृष्ठपोषकहरुलाई शान्ति सम्झौताको आफखुसी परिभाषा गरेर शान्तिको लाभ लिँदै युद्ध अवशेषको व्यापार गर्ने बेलगाम छुट हुनु हुदैन ।

मार्सी चामलका भातविरुद्ध गगन गर्जन

दलका नेता र कार्यकर्तालाई अवसर बनेको तथा सर्वसाधारणका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात झै बनेको वर्तमान गणतन्त्रको स्थापनार्थ झापाका दुर्गा प्रसाई र काठमाण्डौंका गगन थापा मध्ये कसको बढी वा कम लगानी, संघर्ष वा बलिदान होला ?

यो एक आम प्रश्न हो, डा. गोविन्द केसीको जारी १५ औं अनशनको दौरानमा प्रसाई भर्सेज थापाको पछिल्लो वायुद्धपछिको । गगन थापाले त्रिचन्द्र कलेजमा नेविसंघको वषनरमा ढुंगामुढा राजनीतिमा स्नातक गर्दै गर्दा शायद दुर्गा प्रसाई स्कूले शिक्षा बहिष्कार गरेर बन्दुकबाट साम्यवादी सत्ता स्थापनाको लागि लाल संघर्षको भुलभुलैयामा नै थिए ।

तत्कालीन माओवादी जनयुद्धताकाका छापामार भनिएका प्रसाई त्यतिबेलासम्म गुमनाम नै थिए, जतिबेलासम्म उनले बीएनसी नामक एक निजी मेडिकल कलेज चलाउने ताउर-माउर गरेनन् ।

जसै उनले बीएनसी मेडिकल कलेजको लेठो बेसाए, उनी छदमभेषी प्रचण्डका रुपमा प्रचारित छन् । कुनै बेलाका छापामार, जिब्रोका क्यान्सरका पीडित प्रसाई झापाका जमिन्दारका सन्तान मानिन्छन् । झापाली हुनुको फाईदा उनी प्रधानमन्त्री केपी ओलीका निकट छन, प्रचण्डका त शिष्य नै भए ।

यस बाहेक दुर्गा प्रसाई र गगन थापाको भिन्नता के हो भने दुर्गा प्रसाई कृष्ण सिटौला प्यानलका चारतारे कांग्रेसी होइनन् । यदि सिटौलाका शिष्य प्रसाई हुन्थे भने संसदमा के भनेर गर्जिन्थे गगन थापा ?

बरु भोलिको प्रधानमन्त्री ठानिएका गगनले एक गैरकांग्रेसी भएकै कारण मेडिकल उद्यमी प्रसाईमाथि नखनिएको भए गगनको हाईट बढ्थ्यो कि ? किनभने झापाजस्तो स्थानमा बाउबाजेको जायजेथा धरौटी राखेर अस्पताल र मेडिकल चलाउन दुर्गा प्रसाईले पाउँदैनन् भनेर स्थानीय रैथाने विश्वप्रकाश शर्माले तर्क गरेका हुन्थे भने कुरो पत्याउँदो हुन्थ्यो । तर, गगनको गनगन त विरोधी सबै बराबर भन्ने बर्बराहट मात्रै प्रमाणित भयो ।

एनटिभीमा म्याद गुज्रेको साप्ताहिक ज्यालादारी जागिरबाट निस्केका राजु थापाको पक्षमा गजिर्ेने डा. मिनेन्द्र रिजालहरु वा प्रसाईका विरुद्ध गजिर्ेने गगनहरुले तथ्य र तर्क भन्दा पनि हावाको राजनीतिमा जुन तीर मारेका छन्, यसले उनीहरुकै लोकपि्रयताको स्खलन गर्ने हो ।

अस्ताउन देऊडा, केसी अतिवादलाई

राजधानीमा जोर नचलेपछि जुम्लामा अनशन स्थान्तर गरेर डा. केसीले सत्तापक्षीय र प्रतिपक्षीय मात्रै होइन, सामाजिक रुपमा नै कित्ताकाट गराइरहेका छन् । सरकार पक्ष्ीाय शक्ति अनशनलाई वेवास्ता गरेरै तुहाईदिने मुडमा देखिन्छ । विपक्षी कांग्रेस जुम्लाको डा. के. सी. को र वीर अस्पतालको गंगामायाको अनशनको वैशाखी टेकेर ओलीसत्ता विरुद्ध झम्टिने तरखर गरिरहेको छ ।

डा. केसीको जुम्ली अनशनलाई तीन थान माननीय खटाएर कांग्रेसले गरेको चारतारे समर्थन वा माइतीघरको प्रदर्शन वा यलमाया केन्द्रमा गएर सर्वोच्च अदालतकी पूर्वम्याडम श्रीमान शुसीला कार्कीले दिएको केसी समर्थन कुनै नौलो कुरो होइन ।

अनशनको अतिवादी खेतीमा सिंगो जीवन त्याग गर्ने छुट डा. केसीलाई पनि छ । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उनको स्वास्थयमा ख्याल गर्न मातहतका निकायलाई निर्देशित गरिसकेका र मन्त्रिपरिषदले संसदमा पेश गरेको चिकित्सा अध्यादेश प्रतिस्थापन विधयेक नै फिर्ता लिइसकेको परिपे्रक्ष्यमा अनशनको औचित्य खोजिएला नै । तर, तथ्य के हो भने अनशनमा नै अर्को पीएचडी गर्ने डा. केसीको अधिकार सरकारले सम्मान गर्नुपर्छ ।

जनयुद्धकालीन माओवादी अतिवाद हारेको देशमा अब गंगामाया र गोविन्द केसीहरुको अतिवादले मात्रै सदा विजयी हुने छुट कहाँ पाउला र ? केसीले भने अनुसार सरकारले गर्नुपर्ने भए जनताले गगन र रविन्द्र मिश्रको दललाई सत्तारुढ हुन आदेश दिन्थे ।

अहिले सरकार विरुद्धको अनशनको हठ त डा. केसीको जनादेशमाथिकै मुढेेबलमिच्याई मात्रै हो । यो जित्नेले गरेर देखाउने बेला हो, दुख त सरकारले कामै नगरेकामा मात्र पो हो ।

र, अन्तमा

जनताको नजरबाट जनताको दैनिकी र जीविकासँग सम्वन्धित मुद्दामा हुनुपर्ने तहको विरोध भएको छैन सरकारको विरुद्धमा । किन भने सरकार कामै नगरी कुम्भकर्ण निन्द्रमा बस्दा पनि जनता मौन छन । यसको मत्लव त जनता नयाँ दलीय रैती बनेका छन् ।

दलका नयाँ रैती नजागुञ्जेल ओलीसत्तालाई हाइसन्चो नै होला । कांग्रेसीहरु, तिनको प्रचार गर्ने एकांकी मिडिया र अधिकारकर्मी तथा समर्थकहरु जागेर मात्रै कांग्रेसको आरालो राजनीति केही रिप|mेस हुने हो जनताले राहत पाउने होइन्न ।

यथास्थितिमा अलिकति पनि क्रमभंगको संकेत नै छैन सरकारको । यथास्थितिको निरन्तरता नै जारी रहने हो भने यो सरकारको औचित्य नै छैन । सरकारलाई लिड्को लाएर अघि बढ्ने समय र जनादेश हुदा पनि केही नगनु साच्चै चिन्ताको विषय बन्नुपर्छ ।

त्यसैले यो सरकारले अधिनायकवाद ल्यायो भनेर भ्रामक होइन, सिन्को भाँचेन भनेरचाँहि मिडिया, अधिकारकर्मी वा जागरुक जनताले सटिक अलोचना गर्न ढिलो भएको छ । कामै नगर्ने गतिहीन सरकारलाई स्वार्थी मतिहीन कांग्रेसी आलोचनारुपी प्रलाप वा सत्तोसराप मात्रैले छुनेवाला छैन ।

देश कब्जाको दम्भमा वामसत्ताको कचहरी एकातिर, कांग्रेसी अलाप अर्कोतिर भैरहँदा मिचिएका, किचिएका जनता नै हुन् । अब जाग्ने पालो जनताको हो है । यथार्थ पस्किँदै गर्दा यी पंक्तिहरु सरकारका आरती होइन्न र पंक्तिकार सत्ताधारीको सदस्य वा समर्थक कदापि होइन । सरकारले सही कोर्ष समातेन भनेर विपक्षी पनि गलत कोर्षमा नरुमल्लियोस् भन्ने खबरदारी भने अवश्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment