Comments Add Comment

रसिया विश्वकपका चर्चित ९ गोल र सेलिब्रेसन

गोल गरेपछि ब्राजिलका खेलाडी ‘फोन सेलिब्रेसन’ गर्दै ।

२१ असार, काठमाडौं । विश्वकप फुटबल पछ्याइरहेका धेरै समर्थकको नजरमा पर्ने क्षण हो, खेलाडीले गोल गरेपछि मनाएको खुसी ।

विश्वकपका क्षणहरु तस्वीर र भिडियोमा आउन थालेदेखि नै खेलाडीले गोलपछिको खुसी मनाउँदा देखाउने विभिन्न व्यवहारले चर्चा पाउने गरेको छ ।

रसिया विश्वकपमा पनि त्यस्तै केही फरक गोल ‘सेलिब्रेसन’हरु देखिएका छन् ।

आर्टेम डिजुबा – रसिया

विश्वकपको उद्घाटन खेलमा नै दोस्रो हाफमा मैदान प्रवेश गरेको केहीबेरमै साउदी अरबविरुद्ध डिबुजाले गोल गरे ।

टिमको तेस्रो गोलपछि प्रशिक्षक स्तानिस्लाभ चेर्चेस्भोव खुसी भए र खेलाडीहरुलाई सलाम गरे । त्यसपछि इजिप्ट र स्पेनविरुद्ध गोल गर्दा डिबुजाले सलाम फर्काए । गोलमा मनाएको खुसीले उनलाई समर्थकको नजरमा पार्‍यो ।

एन्टोनी ग्रिजम्यान – फ्रान्स 

फ्रान्सका स्टार स्ट्राइकर ग्रिजम्यान फोर्टनाइट भिडियो गेम धेरै मन पराउँछन् । यसैले उनी खेलमा गोल परेपछि शरीर अंग्रेजी अक्षर ‘एल’ आकार जस्तो बनाएर नाच्छन् ।

अर्जेन्टिनाविरुद्ध गोल गर्दा उनको ‘एल डान्स’ मा समर्थकको ध्यान पुगेको थियो । फोर्टनाइट भिडियो गेममा विपक्षीलाई मारेपछि यस्तै प्रकारको सेलिब्रेसन हुने गर्छ ।

क्रिष्टियानो रोनाल्डो – पोर्चुगल

रोनाल्डोले विश्वकपमा स्पेनसँगको खेलमा गोल गरेपछि कर्नर नजिर पुगेर हातले आफ्नो दाह्री सुम्सुमाए । उनले यस्तो गरेको अर्जेन्टिनाका लियोनल मेस्सीलाई जिस्काउन हो भन्ने हल्ला चलेपनि यसपछिको कारण भने भिन्न छ ।

खासमा रोनाल्डोले दाह्री काटिरहँदा साथी खेलाडी रिकार्डो करिज्मासँग अलिकति दाह्री छाड्ने र गोल गरेमा विश्वकप भरी नकाट्ने भन्ने मजाक गरेका थिए । यसैले उनले गोलपछि करिज्मालाई सम्झँदै आफ्नो दाह्री मुसारे ।

केलियन एमबाप्पे – फ्रान्स

गोल गरेपछि खुसी मनाउने एमबाप्पेको शैली पनि अरु खेलाडीको भन्दा भिन्न छ ।

खासमा एमबाप्पेले आफ्नो भाइसँग भिडियो गेममा फिफा खेल्दा गोल गरेपछि भाइले रिमोर्ट भुँइमा राखेर दुवै हात काखीमुनि लग्ने गर्थे ।
यसैले एमबाप्पेले खेलमा गोलपछि त्यसैलाई नै आफ्नो सेलिब्रेसन बनाएका छन् ।

लियोनल मेस्सी – अर्जेन्टिना

क्लब फुटबलमा बार्सिलोनाबाट मेस्सीले गोल गर्दा धेरै खाले सेलिब्रेसन देखाइसकेका छन् ।

रसिया विश्वकपमा नाइजेरियाविरुद्ध गोल गर्दा मेस्सीले मैदानको छेउमा घुँडा टेकेर दुवै हात आकाशतर्फ फैलाएर माथि हेरेका थिए ।

उक्त गोल उनले आफ्नो हजुरआमालाई समर्पित गरेका हुन् । जसका कारण उनी फुटबलमा आएका थिए ।

रोमेलु लुकाकु – बेल्जियम

रसिया विश्वकपमा अहिलेसम्म चार गोल गरिसकेका लुकाकुले पानामाविरुद्ध दोस्रो गोल गर्दा फरक ढंगको सेलिब्रेसन गरेका थिए ।

उनी क्यामराको नजिक गएर ओठ चलाएर ‘मामा’ भन्दै हातले चुम्बन गरेका थिए । दुई पटक त्यसरी हातमा चुम्बन गर्दै क्यामरातिर फर्काएका उनले आफ्नो आमालाई सम्झिएका हुन् ।

एमबाए निएङ – सेनेगल

सेनेगलले समूह चरणको पहिलो खेलमा पोल्याण्डसँग आत्मघातीले गोलबाट अग्रता लियो । त्यसपछि सेनेगलका लागि निएङले गोल गर्दै अग्रता बढाए ।

जुन उनको सेनेगलबाट पहिलो गोल थियो । उक्त गोलपछि उनले टिमका अन्य खेलाडी साथीसँगै मिलेर ‘सके डान्स’ देखाए । जुन सेलिब्रेसनले विश्वकपमा विशेष चर्चा पायो ।

ऐरी मिना – कोलम्बिया

मिनाले रसिया विश्वकपमा तीन गोल गरे । समूह चरणमा सेनेगलविरुद्ध उनैले गरेको एक मात्र गोल जितको आधार बनेको थियो ।

त्यससँगै पोल्याण्डसँगको खेलमा गरेको पहिलो गोल र इंग्ल्याण्डविरुद्ध इन्जुरी समयमा गरेको बराबरी गोलपछि भएका सेलिब्रेसन भिन्न थियो ।

गोलपछि एक हात अगाडि र एक हात पछाडि राखेर नाच्दै गरीने सेलिब्रेसन ‘कोलम्बियन कोरियोग्राफी’ का नाममा चर्चित भएको छ ।

ग्रेन्ट जाका र जेरदान साकिरी – स्वीट्जरल्याण्ड

विश्वकप समूह चरणका सर्बियाविरुद्ध १-० ले पछि परेको खेलमा स्वीट्जरल्याण्डका जाकाले ५२ औं मिनेटमा बराबरी गोल गरेपछि र अन्तिम समयमा जेरदान साकिरीले विजयी गोलपछि गरेको सेलिब्रेसन निकै विवादित बन्यो ।

उनीहरुले गोलको खुसी मनाउँदा दुई हात उठाएर बाझजस्तो बनाएका थिए । जुन अल्बानियाको झण्डामा भएको प्रतीक चिन्ह हो । फिफाले उनीहरुको सेलिब्रेसन गलत भएको भन्दै छानबीन गरेर दुवैलाई ७ हजार ६ सय ३२ पाउण्ड जरिवानासमेत तिराएको थियो ।

जाका र साकिरीको सांकेतिक उत्साहले सर्बियमा रहेका बाल्कान्सहरुमा विवाद निम्त्याएको थियो । जसले कोसोभोको स्वतन्त्रता र जातीय अल्बानियनहरुको अस्तित्व स्वीकार गर्दैनन् । साकिरी कोसोभोमा जन्मिएका हुन् । जाकाका अभिभावक सर्बियाका अल्बानियन हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment