Comments Add Comment

विश्वकपका १८ कीर्तिमान, आत्माघाती गोलदेखि पेनाल्टीसम्म

२१ असार, काठमाडौं । रसिया विश्वकपमा समूह चरण र अन्तिम १६ का गरेर ५६ खेल सकिएका छन् । हारजितको रोमाञ्चकतासँगै यसपटक विश्वकपमा केही कीर्तिमान पनि बने ।

आत्माघाती गोल र पेनाल्टीसँगै रसिया विश्वकपमा बनेको १८ कीर्तिमान यस्ता छन् ।

१. ६० वर्षअघि ब्राजिलका पेले विश्वकपमा एकभन्दा बढी गोल गर्ने चौथो युवा खेलाडी बनेका थिए । अहिले फ्रान्सका केलियन एमबाप्पे विश्वकपमा एकभन्दा बढी गोल गर्ने पाँचौ युवा खेलाडी बने ।

२. ४८ वर्षअघि विश्वकपको नकआउट चरणमा दुई गोलले पछि परेको खेल जितेर इतिहास बनेको थियो । १९७० मा पश्चिम जर्मनीले इंग्ल्याण्डलाई २-० ले पछि परेको खेल उल्टाएर ३-२ ले जितेको थियो । यसपटक बेल्जियमले जापानलाई त्यसैगरी २-० ले पछि परेको खेलमा ३-२ ले जित निकाल्यो ।

३. रसिया विश्वकपमा अहिलेसम्म भएका १ सय ४६ गोलमध्ये ३१ गोल ८० मिनेटभन्दा पछिको समयमा भएको छ । जुन गोल प्रतिशतमा हेर्दा २१ प्रतिशत हो ।

४. रसिया विश्वकपमा अहिलेसम्मकै धेरै २८ पटक पेनाल्टी प्रहार भएको छ । जसमा २१ पेनाल्टी गोलमा परिणत भएको छ । विश्वकपमा यसअघि धेरै पेनाल्टी भएको सन् १९९८ मा हो । जतिबेला १८ पेनाल्टी भएको थियो । यस्तै सन् १९९० र सन् २००२ को विश्वकपमा पनि १८ पटक नै पेनाल्टी प्रहार भएको थियो ।

५. रसिया विश्वकपमा क्वार्टरफाइनल अघिका ५६ खेलमा २२ खेल पहिलो हाफमा गोलरहित बराबरी भएको भए पनि एक खेल मात्रै गोलरहित बराबरीमा टुंगिएको छ । जुन विश्वकपको ३७ औं खेलमा पुगेर फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेलेका हुन् ।

६. यसपटक नै मेक्सिकोका राफा मारक्वेजले विश्वकपमा सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने कीर्तिमान पनि बनाए । विश्वकपका १७ खेलमा कप्तान बनेका उनी पाँच फरक विश्वकपमा कप्तान बन्ने एकमात्र खेलाडी पनि बने । साथै मारक्वेजले पाँच फरक विश्वकप खेल्ने कीर्तिमानमा मेक्सिकोकै एन्टोनियो कार्बाजल, जर्मनी लोथर म्याथुज र इटालीका जियनालुइजी बुफोनसँग बराबरी पनि गरेका छन् ।

७. विश्वकपमा यसपटक आत्माघाती गोलमा पनि कीर्तिमान बन्यो । यसपटक १० वटा गोल आत्मघाती भए । यसअघि १९९८ को फ्रान्स विश्वकपमा ६ गोल आत्माघाती भएका थिए ।

८. यसपटक अन्तिम १६ बाट बाहिरिएको मेक्सिको लगातार सात विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको हो । साथै विश्वकपमा ब्राजिलसँगका पाँच खेलमा एक गोल पनि गर्न नसकेको मेक्सिकोले १३ गोल खाएको छ ।

९. विश्वकपमा कप्तानका रुपमा ६ गोल हान्ने अर्जेन्टिनाका म्याराडोनाको कीर्तिमानमा यसपटक इंग्ल्याण्डका हृयारी केनले बराबरी गरेका छन् । साथै इंग्ल्याण्डका खेलाडीले एकै विश्वकपमा गरेको धेरै गोलमा पनि उनले बराबरी गरेका छन् । १९८६ को विश्वकपमा इंग्ल्याण्डका गेरी लिंकरले ६ गोल गरेका थिए । १०. यसपटकसमेत गरी लगातर तीन पटक विश्वकप विजेता राष्ट्र समूह चरणबाटै बाहिरिने कीर्तिमान पनि बन्यो । २००६ को विश्वकप विजेता इटाली २०१० मा, २०१० को विजेता स्पेन २०१४ मा र २०१४ को विजेता जर्मनी २०१८ मा समूह चरणबाटै बाहिरिए । १९९८ को विश्वकप विजेता फ्रान्स पनि २००२ मा समूह चरणबाटै बाहिरिएको थियो । साथै १९५० मा इटाली, १९६६ मा ब्राजिल पनि विश्व विजेता रहेर पनि पहिलो चरणबाटै बाहिरिएका थिए ।

११. कोलम्बियाका एरी मिनाले विश्वकपमा नयाँ कीर्तिमान बनाए । एरी मिनाले यसपटक गरेको तीन गोल डिफेन्डरले एकै विश्वकपमा गरेको धेरै गोलको कीर्तिमान हो ।

१२. विश्वकपको टाइब्रेकरमा तीन पेनाल्टी बचाउने पोर्चुगलका रिकार्डोको कीर्तिमानमा यसपटक क्रोयसियाका ड्यानिजेल सुवासिकले बराबरी गरे । सुवासिकले अन्तिम १६ मा डेनमार्कविरुद्ध ३ पेनाल्टी बचाएका थिए । पोर्चुगलका रिकार्डोले सन् २००६ मा इंग्ल्याण्डविरुद्ध क्वार्टरफाइनलमा ३ पेनाल्टी बचाएका थिए ।

१३. अहिलेसम्म सबै विश्वकपमा सहभागी भएको ब्राजिल १५ पटक समूह विजेताको रुपमा अघिल्लो चरण पुगेको छ । १८ पटक अघिल्लो चरणमा पुगेको ब्राजिल सन् १९३०, १९३४ र १९६६ मा भने पहिलो चरणबाटै बाहिरिएको थियो ।

१४. विश्वकप खेल्ने सबैभन्दा बढी उमेरको कीर्तिमान पनि यसपटक इजिप्टका गोलकिपर इसाम एल हदारीले बनाए । ४५ वर्ष १ सय ६१ दिनका उनले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाविरुद्ध खेलेका थिए । उनैले विश्वकपमा सबैभन्दा बढी उमेरको कप्तानको कीर्तिमान पनि बनाए ।

१५. विश्वकपमा स्पेनविरुद्ध हृयाट्रिक गरेका पोर्चुगलका क्रिष्टियानो रोनाल्डो सबैभन्दा बढी उमेरमा हृयाट्रिक गर्ने खेलाडी बने । स्पेनविरुद्ध हृयाट्रिक गर्दा उनी ३३ वर्ष १ सय ३० दिनका थिए ।

१६. विश्वकपमा सबैभन्दा ढिलो गोल गर्ने कीर्तिमान यसपटक नै ब्राजिलका नेइमारले बनाए । उनले कोस्टारिकाविरुद्धको खेलमा इन्जुरी समयको अन्तिम ९७ औं मिनेटमा गोल गरेका थिए ।

१७. उरुग्वेका प्रशिक्षक ओस्कार तबरेजले विश्वकपमा सबैभन्दा बढी उमेरका प्रशिक्षकको कीर्तिमान बनाए । ७१ वर्षका उनी एउटै टिममा सबैभन्दा धेरै विश्वकपमा रहने प्रशिक्षक पनि हुन् । उरुग्वे टिमलाई उनले चार फरक विश्वकपमा सम्हालिसकेका छन् ।

१८. विश्वकपमा एकै खेलमा सबैभन्दा धेरै सफल पास खेल्ने कीर्तिमान यसपटक नै स्पेनले बनायो । रसियासँगको अन्तिम १६ को खेलमा स्पेनले खेलेका ७ सय ७९ सही पास कीर्तिमान हो । स्पेनले विश्वकपका चार खेलमा ३ हजार १ सय २० सही पास खेल्यो ।

यसअघि एकै खेलमा सबैभन्दा धेरै सही पास खेल्ने कीर्तिमान अर्जेन्टिनाको नाममा थियो । अर्जेन्टिनाले सन् २०१० मा गि्रसविरुद्ध ७ सय ३ सफल पास खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment