Comments Add Comment

दुई महिना अघिदेखि नै युएईमा तीजको चहलपहल

२२ असार, युएई । रोजगारीको सिलसिलामा युएई आएका नेपालीहरुले दुई महिना अगाडिदेखि नै तीजको तयारी सुरु गरेका छन् । आगामी भदौ २७ गते परेको हरितालिका तीज भव्यताका साथमा मनाउन युएईमा रहेका जिल्लास्तरीय सामाजिक संस्था, केही जातीय र राजनीतिक दलका जनवर्गीय संगठनहरु असार पहिलो सातादेखि नै प्रतिस्पर्धात्मक तरिकाले लागेका छन् ।

केही सामाजिक संस्थाले तीजको अवसरमा नेपालबाट लोकगायक, लोकगायिका र हाँस्य कलाकार बोलाएर विशेष सांगीतिक कार्यक्रम कार्यक्रम गरेर तीज मनाउने तयारी दुई÷तीन महिनाअघिदेखि नै शुरु गरेका छन् ।

व्यक्तिगत रुपमा पनि युएईमा श्रम गर्दै आएका नेपाली दिदीबहिनीहरु तीजका लागि राता साडी र चोलो अनि गच्छे अनुसारका गहनाको जोहो गरिरहेका छन् ।

पाल्पाकी गोमा भण्डारीले तीजका लागि गएको शुक्रबार किनमेल गरिसकेको बताइन् । झापाकी निरु पाण्डेले पनि यो तीजमा रातो साडीमा छड्के तिलहरी लगाएर परदेशमा भए पनि छमछमी नाचेर तीज मनाउने बताएकी छन् ।

बरदुबईका नेपाली सुन पसलहरुमा सुनका गहना खरिद गर्ने सर्वसाधारण नेपालीहरुको घुइँचो बढेको सहजै देख्न सकिन्छ ।

हप्तैपिच्छे सांगीतिक कार्यक्रम

युएईमा क्रियाशिल केही संस्थाहरुले आफ्नो संस्थामा आबद्ध दिदीबहिनीहरुलाई दर खुवाउने तयारी गरेका छन् भने अगस्टको तेस्रो शुक्रबारदेखि लगातार चार हप्ता नेपालबाट गायक, गायिका र अन्य कलाकारहरु बोलाएर भव्य सांगीतिक कार्यक्रमहरु विभिन्न संघसंस्थाले आयोजना गरेका छन् ।

झापाली समाज युएईले बृहत तीज विशेष कार्यक्रम तीजको तीन साताअघि नै गर्ने भएको छ । नेपाली महिलाहरुको विशेष पर्वलाई मध्यनजर गर्दै दुबईको डलसको हलमा आगामी अगस्ट १७ तारिकको दिन झापाली समाजले सांगीतिक कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रमका लागि गायक ताराप्रकाश लिम्बू, गायिका जुना प्रसाईं र हाँस्यकलाकार राजा राजेन्द्र पोखरेल आउने आयोजक समितिका संयोजक पारस लामाले जानकारी दिएका छन् ।

‘झापाली समाज युएईको नयाँ सोच, असहाय बालबालिकाहरुलाई १० लाखको अक्षय कोष’ नारासहित तीज विशेष कार्यक्रमलाई आयोजना गरिएको छ । उक्त कार्यक्रमबाट संकलित रकममध्ये १० लाखको कोष खडा गरी झापामा रहेका असहाय बालबालिकाहरुको शिक्षामा खर्च गरिने झापाली समाज युएईका अध्यक्ष अशोक चापागाईंले जानकारी दिए ।

झापाली समाजको तीज कार्यक्रम लगत्तै अर्को साता अगस्ट २४ मा गायिका सिन्धु मल्ल, गंगा गौतम र गायक शिशिर देवकोटाको उपस्थितिमा दुबईमा हिमालय तीज धमाका–२०१८ आयोजना हुँदैछ । एभरेस्ट क्लब बरदुबईमा आयोजना हुने उक्त कार्यक्रमको मुनाफाबाट युएईमा समस्यामा परेका नेपालीहरुको उद्दार गरिने आयोजक प्रवासी नेपाली मञ्च दुबई राज्य कमिटीका अध्यक्ष मणिराज खतिवडाले बताएका छन् ।

तीजकै सन्दर्भ पारेर सोही दिन खोटाङ समाज युएईले प्रथम सांगीतिक धमाका–२०१८ कार्यक्रम आयोजना गरेको छ । चर्चित गायक राजेशपायल राई र युवागायक त्रिबिहाङ राईको उपस्थितिमा अबुधाबीको फोक्लर कल्चरल हलमा कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक उदय सोनु राईले बताएका छन् ।

तीजको निकट साता अगस्ट ३१ मा युएईका विभिन्न स्थानमा छुट्टाछुट्टै कार्यक्रमहरु आयोजना गरिएका छन् । नेपाली समाज युएईको संयोजकत्वमा युएईका विभिन्न सामाजिक, जातीय संस्थाहरु मिलेर संयुक्त तीज धमाका–२०१८ आयोजना गरिएको नेपाली समाज युएईका महासचिव कृष्ण पौडेलले बताए ।

अलकुजको डलसको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालबाट लोकदोहोरी गायक खुमन अधिकारी र लोकगायिका रमिला न्यौपाने युएई आउने भएका छन् । सोही दिन तामाङ समाज युएईले दुबईमै सेलो गायिका निर्मला घिसिङको उपस्थितिमा एसएमएस धमाका–२०१८ नामक कार्यक्रम आयोजना गरेको छ ।

यसैगरी स्याङ्जा सहयोग समाज युएईले आगामी ७ सेप्टेम्बर २०१८ का दिन महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । ‘स्टेज क्विन’को उपनामले चिनिने लोक दोहोरीगायिका भुमिका गिरी तथा विभिन्न ब्यक्तिका आवाजमा गीत गाउन सफल चर्चित लोक दोहोरी गायक राजन कार्की स्याङ्जा समाजको तीज कार्यक्रममा युएई आउने संस्थाका सांगठनिक बिभाग प्रमुख गोबिन्द भट्टराईले जानकारी दिएका छन् ।

बर दुबईको एभरेष्ट क्लब, अष्ट्रोरिया होटेलमा सेप्टेम्बर ७ तारिक २०१८ शुक्रबारका दिन दिनको ठीक १ बजे तीज सांस्कृतिक कार्यक्रम हुने समाजका महासचिव ओमकार पोख्रेलले बताएका छन् ।

यसैबीच पाल्पाली समाज युएईले भने सामुहिक दर खाने कार्यक्रमका साथमा नाचगान गरी तीज मनाउने योजना बनाएको छ भने रुपन्देही सेवा समाज, गुल्मी सेवा समाज युएईले पनि तीजका अवसरमा दर खाने कार्यक्रमका साथमा स्थानीय नेपाली कलाकारहरुको प्रस्तुतिसहित रमझमपूर्ण तरिकाले तीज मनाउने तयारी गरिरहेका छन् ।

युएईबाट पनि तीज गीत

युएईमा कामको सिलसिलामा रहेका नेपाली गीतसंगीतको क्षेत्रमा संघर्षरत गायकगायिकाहरुले तीज गीत तीन महिना पहिले नै सार्वजनिक गरेका छन् । नेपाल सरकारले घरेलुु कामदारको श्रम रोकेका कारण वर्षौंदेखि नेपाल जान नपाउँदाको पीडालाई समेटेर युएईमा कार्यरत सञ्चारकर्मी राजा बगर र गोपाल भट्टराईले ‘श्रम खोल सरकार’ बोलको तीज गीत सार्वजनिक गरेका छन् । युएईमै कार्यरत गायक होमनाथ कुँवर र गोपाल भट्टराईको स्वरमा रहेको उक्त गीतमा देवी घर्ती र सुस्मिता घर्तीले साथ दिएका छन् ।

समसामयिक समस्यामा केन्द्रित यो गीतको भिडियो पनि सुटिङ भइरहेको सञ्चारकर्मी तथा उक्त भिडियो निर्देशक प्रकाश ढकालले जानकारी दिएका छन् ।

यसैगरी युएईमा लोकगायकको रुपमा परिचित स्याङ्जाका गोपाल भट्टराईले ‘सुनको बाला’ शिर्षकमा एक तीज गीत सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment