Comments Add Comment

जाइकाको स्वीकृति कुर्दै नागढुंगा सुरुङमार्ग


२२ असार, काठमाडौं । सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि सडक विभागले अहिले जाइकाको स्वीकृति कुरिरहेको छ ।

सडक विभागले करिब २० दिन अघि जाइकासँग स्वीकृति माग गर्दै पत्र पठाएको थियो । जाइकाको स्वीृकति नआइसकेकाले अहिले टेन्डरको काम अघि बढ्न सकेको छैन ।

जाइकाको स्वीकृति आएसँगै निर्माण कम्पनी छनौटको लागि टेन्डर आह्वान गर्ने सडक विभागको वैदेशिक महासाखाका प्रमुख सञ्जय श्रेष्ठ बताउँछन् । विभागले यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन ( डीपीआर ) तयार गरिसकेको छ ।

‘हामीले सबैजसो काम सकिसक्यौं, अब जाइकाले अनुमति दिएसँगै टेन्डर आह्वानका लागि सूचना प्रकाशित गर्नेछौं’, श्रेष्ठले भने । सुरुङमार्गको डिजाइन जापान सरकारले तयार गरिसकेको छ ।

सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा पनि यो आयोजनाको निर्माण सुरु गर्ने भनेको छ ।

नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनिकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो ।

श्रेष्ठका अनुसार सुरुङको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले नौबीसे देखि काठमाडौ प्रवेश गर्न तीन घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । यो सुरुङमार्ग निर्माण गरेसँगै भने यो छोटिएर २० मिनेटमा झर्ने श्रेष्ठ बताउँछन् ।

उनका अनुसार दुवैतर्फका सडक बेला–बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टिको सडक दुई लेन हुँदा अर्काेपट्टि एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १/ १ मिटरको पेटी राखिने छ ।

सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment