Comments Add Comment

इंग्ल्याण्ड र कोलम्बियालार्इ फेरि खेलाउन माग

दुई लाख ८० हजारले गरे हस्ताक्षर

काठमाडौं । विश्वकपमा मंगलबार राति भएको अन्तिम १६ को इंग्ल्याण्ड र कोलम्बिया बीचको खेल फेरि खेलाइनुपर्ने माग गर्दै कोलम्बियाका दुई लाख ८० हजार जना समर्थकले हस्ताक्षरसहित फिफालाई निवेदन दिएका छन् ।

खेलमा पेनाल्टी सुटआउटमामा इंग्ल्याण्डले हराएपछि कोलम्बियाका आक्रोशित समर्थकहरुले फिफाको निष्पक्ष खेलको नियमअनुसार फेरि खेलाइनुपर्ने माग गरेका हुन् ।

दोस्रो हाफमा कोलम्बियाका कार्लोस सान्चेजले हृयारी केनलाई लडाएपछि ग्यारेथ साउथगेटको टिमलाई दिइएको पेनाल्टीमा फल नै नभए पनि रेफ्रीले पेनाल्टी दिएको भन्दै निष्पक्ष खेलको उदाहरण स्थापित गर्न फिफाले उक्त खेल फेरि खेलाउनु पर्ने उनीहरुको माग छ ।

यसमा कार्लोस बाक्काको अतिरिक्त समयको गोल नदिएको विषयमा पनि उनीहरुले कुरा उठाएका छन् । मैदानमा दुईवटा बल देखिए पछि रेफ्रीले खेल रोकेको समयमा कोलम्बियाका फरवार्डले बललाई जाली चुमाएका थिए तर उक्त गोललाई मान्यता दिइएन ।

निवेदन अनुसार दुवै क्षणमा रेफ्री मार्क गेगरले खेल इंग्ल्याण्डको पक्षमा पार्ने काम गरेको भन्दै फिफाको खेल निष्पक्ष बनाउने उद्देश्य अनुसार फेरि खेलाइनुपर्ने माग छ ।

हस्ताक्षर अभियानको सुरु उद्यमीको रुपमा चिनाउने जुआन डिएगो गार्सिया मुनोजले गरेका हुन् । शुक्रबार बिहानसम्म यसमा दुई लाख ८० हजार मानिसले हस्ताक्षर गरिसकेका छन् र यसमा ऐक्यबद्धता जनाउनेको सङ्ख्या अझै बढ्ने देखिन्छ ।

तर, कोलम्बियाका समर्थकहरुले चाहेअनुसार खेल फेरि खेलाइने सम्भावना भने न्युन छ । विश्वकपको तालिका अनुसार शनिबार बेलुकी इंग्ल्याण्ड र स्वीडेन बीच क्वार्टरफाइनल खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment