Comments Add Comment

छाउपडी प्रथा अन्त्य गर्ने हो ? महिला होइन, पुरुषको चेतना बढाऔं

सुर्खेतको छाउगोठमा फेरि अर्की किशोरी बलत्कारमा परिन् । देवताको बाहाना बनाएर छोरीलाई छाउ बार्न गोठ पठाएका बा-आमाको मनमा घटनापछि के चल्यो होला ? छरछिमेकले के भने होला ? समाजले के भन्यो ? जान्ने, सुन्ने भनिएका शिक्षक, नेता, समाजसेवीले के सोचे कुन्नी ? हुर्कंदी छोरीलाई जानीजानी नर्कमा पठाउनु पर्दाको पीडा महसुस गर्‍यो कि गरेन होला तिनको मनले ?

१७ दिन मात्रै भयो । अछामका एउटी किशोरीलाई छाउ गोठमा नै गुमाएको । एसईई दिएर बसेकी एउटी किशोरीका रहरहरु छाउगोठमा सकिए । सपनाहरु खरको सानो झुप्रो भित्रै बिलाए । लाग्नेहरुलाई त लाग्यो होला, यो त सामान्य कुरा हो । छाउगोठमा बसेका एकाध दुई बलत्कारमा पर्छन् । एकादुई मर्छन् । यो नौलो विषय होइन । नेता, गन्यमान्य, समाजसेवी, धामी यिनिहरुलाई सामान्य लाग्यो होला । सबैलाई नौलो नलाग्ने तर बारम्बार दोहोरिने यस्ता घटनाले मन पोलेको छ । साँच्चिकै पोलेको छ । तर मेरो मन पोलेर के ? जसको मन पोल्नुपर्थ्यो , उनीहरुको पोलेको भए पो ।

गत वर्षको मध्य माघको चिसोमा सुदुरपश्चिम पुगेकी थिएँ । घाम डाँडामाथिबाट झर्दै थियो । साँझ साँझको समय । स्यालाखेतको सानो बस्ती । बझाङको सदरमुकाम चैनपुरबाट मात्रै २ किलोमिटर टाढा । आएको बेला घुमौ न गाँउ ! त्यहि सोचर गाँउ पसें । ढुङ्गै, ढुङ्गाको गद्र्‍यान । बाटोमा आफ्नै बाटो बनाएर पानी बगिरहेको थियो । पहाडको काखैमा थुपुक्क बसेको बस्ती । बडो सुन्दर । तर, बस्तीको काखमा बसेका महिलाहरुको पीडा फुकाएरै नसकिने खालको ।

एउटी महिला लुसुक्क गोठमा पसिन् । कसैले देख्ला कि झैं गरेर । गुन्द्री तल झारिन् । सानो गोठ । झ्याल छैन । त्यहीमाथि गुन्द्रीको बारले छेकेपछि भित्र कति अँध्यारो भयो होला, उनै जानुन् । गोठभित्रका उनको जीवन र मनभित्रको जलन जान्ने इच्छा भयो । साथमा जिल्लाका केही क्रियाशील महिला पत्रकार साथीहरु हुनुहुन्थ्यो । गोठतिरको बाटो सोझ्याएका मात्रै थियौं, एउटी आमाले भनिन् कता हिँडेको ? छाउ गोठ भनिकन गया हौला, होइन ?

ती आमामात्रै होइन, अरु दुई महिला पनि पछिपछि आए । हिजोआज पहिलेजस्तो छैन, छोरी चेली गोठमा बस्दैनन् । घरैमा बस्छन् उनीहरुले यसै भने । अरे ! आँखै अगाडि किन झूटो बोले उनीहरुले ? मैले बुझिनँ । तर, यतिचाहिँ बुझें कि महिनावारीका समयमा गोठमा बस्नु राम्रो होइन भन्ने उनीहरुले राम्रोसँग बुझेका छन् ।

महिनावारी प्राकृतिक प्रक्रिया हो, योविना सृष्टि धानिँदैन । यो पनि थाहा छ । महिनावारीका बेला गोठमा बस्ने कुरा लज्जाको बिषय हो । अब पनि गोठमा बस्दा, छोरी, बुहारीलाई गोठमा बसाउँदा लाजैमर्नु हुन्छ भन्ने सबैलाई थाहा छ । त्यसैले उनीहरु आफूहरु गोठमा बसेको खुलेर सुनाउँदैनन् । तर, गोठमा बस्न पनि छोड्दैनन् ।

यस्तो अँध्यारो कोठमा एक्लै बस्न गाह्रो हुँदैन ? आगो फुक्दा, फुक्दै डल्ली धामीले भनिन् क्यार्नु चलनै यस्तो ! नबस्न पाए त हुनी हो धामीले मान्दैनन् । ३९ बर्षकी उनले झण्डै २५ बर्षदेखि महिनाको ५ दिन गोठमा बिताउँछिन् ।

बाटै छेउको सानो गोठमा भेटिइन् सम्झना धामी । उनको ९ महिनाको छोरा रै’छ । छोरालाई नै च्यापेर कयौं रात यही गोठमा बिताएकी छन् उनले । १२ कक्षा पास गरेकी छन् । शुरुमा त खुलिनन् । भनिनन् महिनावारी हुँदा गोठ जान्छु । तर, यर्थाथ कतिञ्जेल लुकोस् र ?

ओदो (चिसो) आउने गोठमा रात गुर्जानको पीडा खोल्दै गइन् । कहिलेकाँही त त्यही गोठमा ३/४ जना हुन्छन् । कहाँ सुत्नु नि ! अनिँदो जान्छ रात ! टुसुक्क बसेरै । खोर जस्तो ठोमा बस्न नि काँही सजिलो हुन्छ ? पछि खुल्दै गइन् ।

गोठमा रात गुर्जान जति मुस्किल, गोठ जान्न भनेर बिद्रोह गर्न झन् गाह्रो । जमाना कहाँ पुगिसक्यो । यो वैज्ञानिक युगमा छुई हुँदा गोठमा बस्छु भन्न त अहो झन् मुस्किल । रेडियो, टीभीले महिलाहरुका संघर्ष र सफलताका कुराहरु सुनाइरहन्छ । आफ्नो बस्तीमा महिनावारी हुँदा घरसम्म बस्न पाइन्न । यस्तो लाजै मर्नु कुरा कसरी सुनाउनु बाहिरिया मान्छेलाई ? उनको कुरोबाट बुझे सत्य भन्न पनि मुस्किल लुकाउन त झन् मुस्किल ।

अछाम बान्नीगढी ६ जयगढका महिला सदस्य भेटिइन् मैसरा थापा । छाउपडीको गफ गर्न त गएकी थिइन् । प्रसंगवस सोधें । महिनावारी हुँदा कहाँ बस्नुहुन्छ ? घरमै बस्छु म त । वडाअध्यक्ष र अरु सहभागी मुसुक्क हाँसे । सायद पत्याएनन् । उनलाई पनि मुस्किल भयो । गोठमै बस्छु त कसरी भनौं ? झूठो बोल्दा सुहाएन ।

हिजो आज त फेरिएको छ । धेरै महिला घरै बस्छन् । खाना पकाउदैनन् । बाहिरको काम गर्छन् । देवता छुँदैनन् । गोठमै बस्ने पनि सफा सुग्घर भएर बस्ने गरेका छन् । उनले सकेसम्म छाउपडी हटिसकेको आभाष दिलाउन खोजिन् ।

जनप्रतिनिधिको यो ढाकछोप धेरैबेर टिकेन । जब सपना शाहले महिनावारीका हरेक रात गोठमा बिताउने गरेको सुनाइन् ।

कति दिन बस्नुहुन्छ नि गोठमा ?

५ दिन ।

कति टाढा छ गोठ ?

१० मिनेट ।

आम्मा…. (म आत्तिएँ) १० मिनेट ?

होइन ५/६ मिनेट लाग्ला ।

उनले पनि फेरि ढाँट्न खोजिन् । सोधें-घरमै बस्न मन लाग्दैन ?

लाग्छ त के गरौं ? देवीदेवता रिसाउँछ भन्छन् ।

१९ बर्षकी यिनलाई गोठमा जान मन लाग्दैन । कहिलेकाँही त लाग्दो रै’छ विद्रोह गर्दिम् । तर, फेरि डर लाग्छ । केही भयो भने ? देवीदेवता रिसाए भने ? धामीले के भन्लान् ? मुख्य डर त धामीको छ ।

टोल, टोल वा गाउँमा धामी हुने । उनले भनेको मान्नुपर्ने । स्यालाखेतको सानो बस्तीमा पनि भेटिए धामी ।

तपाईहरुको नि आफ्नो काम होला । हामी नि धर्मअनुसार आफ्नो काम गर्छौं । तपाईहरु आफ्नो काम गर्नुस् । तर, हाम्रा मूल्य मान्यता हाम्रै ठाँउमा छन् । उनले मीठो बोलीमा सिधै भने- छाउ हुँदा घरमा बस्न मिल्दैन । उनीसँग धेरै के गफ गर्नु ? के सोध्नु यो भन्दा ?

बल्ल बुझें दिदीबहिनीहरुको मुस्किलको जड । सरकारी, गैह्रसरकारी संस्था र सञ्चार माध्यमले दिनदिनै महिनावारीको महत्वका बारेमा जानकारी दिँदै छाउलाई कुप्रथाका रुपमा व्याख्या गरिरहन्छन् ।

किशोरी, महिलाहरुलाई बारम्बार तालिम दिइएको छ । महिनावारी प्राकृतिक प्रक्रिया हो । यो लाजको कुरा होइन, गर्वको विषय हो । बरु छाउगोठमा बस्नु लाज हो । फेरि उता धामीहरुले धम्कीसहित भन्छन्- महिनावारी हुँदा छोईछिटो गरे पाप लाग्छ । सत्यानास हुन्छ । सर्पले टोक्छ । बंशै सकिन्छ । कूलदेवता रिसाउँछन् । केके हो, केके । त्यसैले महिलाहरु धामीका अघि न छाउगोठको बिरोध गर्न सक्छन् । न हाम्राअघि छाउ बार्छु भन्न सक्छन् । किनकि बाँच्नु त फेरि उही समाजमा छ ।

छाउगोठमा बलात्कार र सर्पको टोकाइबाट मृत्यु भएका खबरहरु आएपछि लाग्न थाल्छ । महिनावारीको महत्व र सचेतना महिलाहरुलाई होइन । धामीहरुलाई दिनुपर्छ । न्यायाधीशजस्तै मानिएका धामीहरुको बिचार नबदलिएसम्म छाउपडी अन्त्य हुँदैन । होइन भने छाउमुक्त गाउँहरुमा किन फेरि छाउगोठ बनाइए ? छाउमुक्त भनिएका गाउँका छाउघरमा किन हाम्रा छोरीबुहारी बलात्कृत हुन छोडेनन् ?

किनकि त्यो गाउँका जान्ने-सुन्ने भनिएका धामीले कुरा बुझेनन् । उनीहरुले स्वीकार गर्न सकेनन् महिनावारी प्रक्रिया र यसको महत्व । छोड्न सकेनन् परम्परागत सोच । रुढीवादी परम्परा ।

महिलाहरु, जनप्रतिनिधि राति गोठमा अनिँदो बसेको आँखा लिएर बिहानै किन ढाँट्न बाध्य भए म छाउ बार्दिनँ भनेर ? किनकि उनलाई थाहा छ, छाउ बार्नु गलत हो भनेर । तर, गोठ जान किन छोडेनन् ? किनकि उनीहरुलाई यो पनि थाहा छ, छाउ हुँदा घरै बसे देवता होइन, धामी रिसाउँछन् । यसैले परिवारमा भाँडभैलो हुन्छ । धामीले के भन्छन् ? अनि छरछिमेकी र समाजले के भन्छ ? यसै पनि महिलाहरु चाहँदैनन् परिवारमा नराम्रो होस् ।

छाउपडी अन्त्यमा सरकारी, गैह्रसरकारी करोडाैं रकम सकिएको छ । तर, समाज सोचे अनुरुपले सुधारिएन । कारण हामीले गन्यमान्य र पुरुषहरुलाई कम तालिम दियौं, उनीहरुको प्रतिवद्धता कम लियौ । जति महिलाहरुलाई दिएका छौं । त्यसैले अहिलेसम्म भएका गल्ती नदोहोरिन एउटा फरक अभियान चलाउनुपर्‍यो ।

नियममा बाँधेर हुन्छ वा कडा कानुन बनाएर वा चेतनाको स्तर बढाएर पहिले धामीहरुले मनैदेखि स्वीकार गर्नुपर्छ कि महिनावारी पापको विषय होइन । सायद समाजका गन्य मान्य र धामीहरुले यो कुरा स्वीकार गरे भने प्रत्येक महिना केही थान कपडाको पाको बोकेर गोठ दौडिने क्रम अन्त्य होला । र, आउन छोड्ला छाउगोठका दर्दनाक कथा । होइन भने अझै कति बर्ष हामीले यस्तै समाचार लेख्न र पढ्न पर्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment