1. ताजा अपडेट
Comments Add Comment

कथाः नक्कली फूलको समाजशात्र


पिन्नारो मेमेरियल पार्कमा म दोस्रो पटक प्रवेश गर्दैछु । यो पार्क मात्र होइन । वेस्टर्न अष्ट्रेलियाको एक मूर्दाघाट अर्थात् सिमेटरी हो । साँच्चै भन्ने हो भने यो एउटा मृत्युको शहर हो ।

हजारौं मान्छेको मृत्युलाई संगालीरहेको पार्कको प्रवेश द्वारमा म्यापलका रुखहरु छन् । केही फरक खालका सल्ला र अरु केही नचिनिने बोट विरुवाको बाक्लो झाडी छ । अलिभित्र पुगेपछि बीच बीचमा हरियो चौर देखिन्छ । जहाँ कंगारुका बथान चरीरहेको मैले परैबाट देख्छु । बीचमा सानो पोखरी छ । पोखरीमा निख्खर कालो पानी छ । मैले तन्केर पोखरीमा आफ्नो अनुहार हेर्न खोज्छु । नमिठो दुर्गन्ध नाकमा आएर ठोकिन्छ ।

– यहाँको पानी किन यती विधि कालो होला ? सँगै आउनुभएका मामालाई सोध्छु ।

– खोई भाञ्जी कुनै रसायनको कारण होला । मामाले सहज जवाफ दिनुहुन्छ ।

– वरपर पुरै मान्छे गाडिएको छ होइन ?

– हो नि यहाँ पुरै मानिसका अस्तु छन् ।

– अस्तु मात्रै ठीक अस्तीपञ्जर पनि यहीँ गाडिएका छन् ?

– पहिले लास नै गाडिन्थ्यो रे । तर आजकल लासका अस्तु मात्र यी बाकसमा राखिन्छ भन्ने सुनेको छु । चिहानको बाकसतिर देखाउँदै मामाले भन्नुहुन्छ ।

– सायद लास सडेर गलेपछि यही पोखरीमा आएर थिग्रिन्छ । त्यही भएर यहाँको पानी यति फोहोर छ ।

– त्यस्तो त होइन होला । यो सुनेपछि मामाको अनुहार बिग्रियो । मामाले त्यो कुरा सत्य नहोस् भन्ने चाहनुभएको थियो ।

– पक्कै त्यही हो, किनकि मान्छेको शरीरमा पचहत्तर प्रतिशत पानी हुन्छ । माटो भए सोस्थ्यो । तर, यहाँ त बालुवा मात्र छ । बालुवा मुनिबाट रसाउँदै अन्तिममा यही पोखरीमा आएर मिसिन्छ होला त्यो पानी ।

मेरो निश्कर्ष चित्त नबुझेको मामाको अनुहार थप बिग्रिन्छ । मामालाई असन्तुष्ट देखेपछि म चुप लाग्छु । हामी केही नबोली माथि फूल रोपिएको तिर उक्लिछौँ ।

– के सारो मिलाए लगाएका होलान् यी फूल । कस्तो सबै एकै पटक ढकमक्क फूलेका ! मैले मोबाइल निकालेर फूलहरुको तस्वीर लिन थाल्छु ।

– यो त नक्कली फूल हो, भान्जी । मामाले भन्नुभयो ।

यो सुनेपछि फूलको तस्वीर लिने मेरो उत्सुकता एकाएक भंग हुन्छ । मृत्युको सत्यमाथि नक्कली फूल ! सुनेरै दिक्क लाग्छ । मैले अरु फोटो खिच्न सक्दिनँ, मोबाइल बन्द गरेर खल्तीमा हाल्छु । र, सोध्छु ।

– किनहोला यसरी नक्कली फूल राखिएको ? के यहाँ सक्कली फूल लगाउन सकिँदैनथ्यो ?

– थाह छैन भान्जी, यो नक्कली फूलको समाजशास्त्र के हो ? तर अजीहरुले सबैजसो चिहानमा नक्कली फूल छोडेर हिँडेको मैले देखेको छु ।

अघिसम्म सुन्दर लागेका फूलहरु हेर्दा हेर्दै कुरुप लाग्न थाल्छन् । किनकि त्यहाँ नक्कली फूलका रंगी बिरंगी अनुहारले मृत्युको सत्यलाई खिल्लि उडाइ रहेका थिए ।

कुरा गर्दै हामी नक्कली फूलको बगैंचाबाट मृत मानिसका स्मृति चिन्ह लहर अगाडि पुग्छौँ । त्यहाँ खोली राखिएका थुप्रै रक्सी वाइन र बियरका बोतलहरु थिए । विभिन्न ब्राण्डका सिगरेट र म्याकडनल्सबाट आयातीत पिजा र बर्गरका बाकसहरु थिए । सबै भन्दा आश्चार्य लाग्ने कुरा त्यहाँ चिहान रिजरभेसन बाकसहरु थिए । जो आफु मरेपछि आफना आफन्तसँगै बस्नकालागि मानिसहरुले रोकी छोडेका थिए ।

कस्तो लाग्दो हो, एकदिन मेरो शरीर यही बाकसभित्र आएर बस्छ भन्ने सोच्दा ? या छोराछोरीले जीवितै रहेकामध्ये एक आमा या बाबुका लागि चिहानको पूर्व तयारी गरिरहँदा ? मनमा प्रश्न उठ्छ ।

त्यति नै बेला एकोहोरो टोलाइरहेको एउटा मानिसलाई मैले त्यहाँ देख्छु । किन टोलाइरहेको होला त्यो मानिस चिहानमा एक्लै ? के उसले पनि मैले जस्तै सोच्ने गर्छ ?

प्रश्नको उत्तर खोज्न मलाई ऊ नजिक जाँऊ जाँऊ लाग्छ । तर, मामासँगै भएकाले यो पागलपन देखाउन असमर्थ हुन्छु । हामी पार्कको पूर्वपट्टी लाग्छौँ । हामीलाई देखेपछि नजिकै चरिरहेका कंगारुका बथान शर्तक हुन्छन् । चर्न रोकिएर घरिघरि हामीलाई हेर्न थाल्छन् ।

मेरो ध्यान भने त्यो मानिस बसेको स्थलतिरै गइरहेको हुन्छ ।

– मामा अब तपाई जानुभए हुन्छ । चिहानघाटलाई एक फन्को लगाएपछि मैले मामालाई भन्छु ।

– हजुरलाई एक्लै छोडेर कसरी जानु ? मामा मान्नुहुन्न ।

– केहीबेर एक्लै बसेर एउटा कविता लेख्नु छ मामा । म जिद्दी गर्छु ।

– हजरुलाई पनि के के गर्न मन लाग्ने हो ।

केही अप्ठेरो मान्दै मलाई त्यहाँ छोडेर मामा जानुहुन्छ । मामा गएपछि म त्यो मानिस भएतिर लाग्छु । मलाई ऊसँग केही सम्वाद गर्न मन थियो । किनकि यसरी चिहानमा घण्टौं टोलाएर चिन्तन गर्न मलाई पनि खुब मन पथ्र्यो ।

र, यो पनि थाहा थियो, यसरी चिहान घाटमा आएर बस्ने मानिसको अक्सर उस्तै बानी हुने गर्छ । आर्यघाट, इच्छा विर्सेश्वरघाट, अथवा भस्मेस्वरघाट सबै घाटहरुमा दोहोरिने मानिसहरुको अनुहार मैले पटक–पटक पढेकी थिएँ ।

यही दृष्टान्त बोकेर म उक्त मानिसको नजिक पुगेँ । ऊ ध्यान मुद्रामा बसिरहेको थियो । कालो वर्णको खाइलाग्दो मानिसका अगाडि इलान ब्रुक लेखिएको एउटा चिहान थियो । जसमा उसले भर्खरै चढाएको नक्कली गुलाफको सेतो गुच्छा पनि थियो । खोलिराखेको चुरोटको बट्टा र कफीको कप पनि त्यहाँ थियो । र, सँगै थियो चिहान रिजरभेसन बाकस । यस्तो लाग्थ्यो, त्यो बाकसमा आएर बस्ने पालो अब त्यही मानिसको हो ।

म उसको नजिकै गएर केहीबेर नबोली बसेँ । र, उसका आँखा खुल्ने समयको प्रतिक्षा गर्दै यताउता हेर्न थालेँ ।

नक्कली फूलले रंगिएको चिहानघाटको सौन्दर्य खासै मीठो लागेन । मृत्युको सत्यमाथि चढाइएका नक्कली फूलप्रति मेरो वितृष्णा अरु बढ्यो । चिहानको बाकसमा गोरा, काला बालक, वृद्ध र युवाहरुको अनुहार टाँसिएको थियो । सबैको ओठमा एउटा मुस्कान छाइरहेको देखिन्थ्यो ।

किन मुस्कुराएकै तस्वीर टाँसिएको होला चिहानमा ? यी बाकसमाथि टासिएको उनीहरुको तस्वीर कसले खिच्यो होला ? त्यो ध्यान मुद्रामा गजधम्म सबेको मानिसलाई घच्घचाएर सोध्न मन लाग्यो । तर, आफ्नो पेटमा सानो बच्चो च्यापेर नजिकै चर्दै गरेकी मादा कंगारुलाई देखेपछि यो प्रश्न त्यतै हराएर गयो । र, उब्जियो अर्को प्रश्न ।

के प्रेमको परिभाषा मानिससँग मात्रै हुन्छ ?

यसको उत्तर जन्मिसकेर पनि आमाकै कोखभित्र हुर्किन पाउने सौभाग्य पाएको त्यो कंगारुको बच्चोलाई सबैभन्दा बढी थाहा होला जस्तो लाग्छ । मानिससँग जस्तै व्यक्त गर्न मिल्ने शब्द भएको भए प्रेम, जीवन र मृत्युको बेजोड परिभाषा यी कंगारुका बथानले लेख्थे होला ! रातभर चिहानमा उफ्रिँदै दौडिँदै खेल्नुको मजा, अथवा मृत आत्माहरु बीच हुने चोला परिवर्तनको कुुराकानी । ओहो कति रोचक हुदोँ हो त्यो कथा ? म निकैबेर कंगारुहरुतिर टोलाएँ ।

उक्त मानिसले आँखा नखोलेको देख्दा मलाई के गरुँ गरुँ भयो । उसलाई डिस्टर्व नगरुँ भन्ने लाग्यो । फेरि मन मानेन ।

– हेलोे । विस्तारै भनें ।

ऊ बोलेन, एक पटक पुर्लक्क मतिर हेर्यो र आफैभित्र मग्न भयो ।

– आर यू ओके ? मैले सुस्तरी सोधें ।

उसले मतिर नहेरी दुबै आँखा चिम्लियो । हातका औंलाहरु आँखामा पुर्‍याउँदै पटक–पटक ओठमा लगेर चुम्बन गर्‍याे । केहीबेर यसो गरेपछि उसले आँखा खोल्यो । मानौं उसले कसैसँग बिदा माग्नका लागि यो सब गरिरहेको छ ।

– ह्वाट आर यू डुइंग ? जे सुकै परोस् मैले सोधिदिएँ ।

– आइ एम टकिंग उइथ माइ लभ । उसले मतिर नहेरी भन्यो ।

– इलान बू्रक ?

– या, इलान ब्रुक इज माइ लभ ।

उसले अगाडि आईमाईको फोटो टाँसिएको चिहानतिर दृष्टि फ्याँक्यो ।

ऊफ कस्तो भावुकता । प्रेमको योभन्दा विकराल रुप अरु के हुन सक्ला ? मलाई केही अप्ठेरो महसुस भयो ।

– क्यान यू रिएल्ली मिट योर लभ ? केहीबेर रोकिएर मैले सोधें ।

– एस, एभ्रि विक आइ मिट माइ लभ ।

– यो कसरी सम्भव छ ?

– सम्भव छ । किनकि म आत्मा बोलाउन सक्छु, उसले भन्यो ।

म आश्चायचकित भएँ ।

– कसरी, मलाई देखाउन सक्छौ ?

– यस्तो कुरामा विश्वास नगर्नेहरुलाई आत्मा देखाउन सकिँदैन ।

– यो त एउटा भ्रम छर्ने कुरा मात्र भयो । साच्चिँकै आत्मा छ भने त जसले पनि देखिहाल्छ नि ।

– देखिन्छ, तर त्यसका केही विधि अपनाउन तिमी तयार हुनुपर्छ ।

– म तयार छु । तिमी मलाई आत्मा त देखाउ ।

यसरी ख्याल ख्यालमै एउटा डिल भयो । किनकि आत्माको दुनियाँमा पुर्‍याउने उसको कुरा मलाई बकवास लागिरहेको थियो ।

– सोच, तिमीलाई आत्माहरुको संसारबाट फर्किन दुई घण्टा भन्दा बढी लाग्न सक्छ । उसले भन्यो ।

– मलाई मञ्जुर छ ।

– त्यसोभए आऊ यहाँ आएर तिमी पलेटी कसेर बस ।

ऊ आफू बसेको स्थानबाट उठ्यो ।

– त्यही नै बस्नुपर्ने ? मैले सोधें ।

– हो यहीँ नै बस्नुपर्छ । किनकि केहीबेरमा तिमीलाई निद लागेजस्तो हुनेछ । तिमीलाई साहरा चाहिने भएकाले यो पछाडिको भित्तो उपयोगी हुन्छ । एउटा चम्किलो धातु मेरो आँखा अगाडि नचाउँदै उसले भन्यो ।

– यो चम्किलो धातु तिम्रो आँखा अगाडि १५ मिनेट घुम्नेछ । र, तिमीले त्यसलाई एकोहोरो हेरिरहनेछौ ।

– त्यसले के हुन्छ ?

– तिमीलाई आत्माहरुको दुनियाँमा पुर्‍याउँछ ।

– केही हानी त गर्दैन ?

– गर्न सक्छ र नगर्न पनि सक्छ । त्यो तिमीमा भर पर्छ ।

– कसरी ?

– तिमीले, मेरो आज्ञा कति पालन गर्छेउ त्यसमा भर पर्छ । तिमीले बीचमा विवाद गर्न खोज्यौ भने तिमी त्यही संसारमा रहन सक्छेऊ । त्यसैले कसैसँग कुनै प्रश्न नगर्नु ।

– हुन्छ । मैले सबै आदेश पालना गर्नेछु ।

– त्यसो भए ठीक छ । ल भन तिमी को हौ ?

– लतिका ।

– लतिका, कहाँबाट आएकी हौ ?

– नेपालबाट ।

– किन आएकी हौ ?

– ­घुम्न ।

– किन आत्माहरुसँग भेट्न चाहन्छेऊ ?

– मलाई जान्न मन छ कि साँच्चिकै आत्माहरु हुन्छन् ?

– जानेर के गर्छेऊ ?

– म यस कुरामा ढुक्क हुनेछु कि साच्चिँकै आत्मा हुन्छन् ।

– ल त्यसो भए तिमी आत्माहरुको संसारमा केन्द्रित हौ ।

– म केन्द्रित छु ।

– तिमी अब मान्छेको दुनियाँबाट अलग्गिँदै छौ । तिम्रो अगाडि अध्यारो सुरुङ देखिँदैछ ।

– हो देख्दै छु ।

– अब तिमीले नयाँ कुराहरु देख्ने छौ । हेर, तल पट्टी एउटा रगतको नदी उर्लिरहेको छ ।

– हो मैले देख्दैछु तल रगतको ठूलो नदी छ । त्यहाँ निकै घीनलाग्दा दृष्यहरु छन् ।

– त्यो नर्क हो । त्यहाँ सैतानहरु छन् ।

– अब माथि हेर, त्यहाँ एउटा रंगीन संसार छ । तिमीले देवताहरुको आसन देख्ने छौ, भगवान यशुलाई पनि त्यहाँ देख्ने छौ ।

– हो देख्दै छु । तर, त्यहाँ सबै नक्कली फूलहरु छन् ।

– त्यो नक्कली फूल होइन । स्वर्ग हो । अब तिमीले यी दुवै ठाउँमा बसेका हाम्रा पितृहरुलाई देख्दै छौ । स्वर्गमा सुखले नाचिरहेका मानिसहरु छन् । अप्सरा र देवताहरुको प्रेममा मुग्ध फूलको संसारमा छ ।

– तर त्यहाँ पनि नक्कली पूmल छ ।

– प्रश्न नगर । नर्कमा हेर त्यहाँ मानिसहरु तड्पिरहेका छन् । उनीहरुलाई झिरमा उनेर जिउदै बारबीक्यू बनाइँदैछ । भोक र प्यासले ब्याकुल भएर आत्माहरु छटपटारहेका छन् ।

– ओ हो कस्तो डरलाग्दो ।

– ल अब म जान्छु । तिमी आत्माको दुनियाँमा पुगिसकेकी छौ । को कोसँग के के सम्वाद गर्नु छ आफैं गर । तर, कसैसँग नजिक नहोऊ । उनीहरुले छुन खोजे भने तिमी तुरुन्त त्यहाँबाट भाग र अर्को संसारमा जाऊ । नत्र तिमीलाई सैतानहरुले बन्दी बनाउनेछन् ।

नक्कली फूलहरुको एउटा रंगीन शहरमा पुर्‍याएर ऊ जान्छ । म सेता घरहरुको संसारमा प्रवेश गर्छु । घरभित्र सुन्दर गोरा युवतीहरु नाचिरहेका देखिन्छन् । के यिनीहरु अप्सरा हुन् ? सोध्न मन लाग्छ । तर, उसले प्रश्न नगर्नु भनेको सम्झिन्छु ।

चिहान अगाडि खोली छोडेका रक्सी र बियरका बोतलहरु उनीहरुका हात हातमा थिए । गोरा र काला मानिसहरु मिलेर म्याकडनल्स र केएफसीबाट आयातीत पिजा र बर्गरका बाकसहरु खोलिरहेका थिए । त्यहाँ ठूलो पार्टी चलिरहेको थियो । विभिन्न ब्राण्डका चुरोट हातमा च्यापेर अप्सराहरुसँग रोमान्स गरिरहेका मानिसहरु के देवता हुन् ?

मनमा फेरि शंका उत्पन्न हुन्छ । तर, प्रश्न नगर्न उसले दिएको सुझाव मेरो दिमागमा आइरहन्छ । केहीबेर यिनीहरुलाई हेरेपछि केही नबोली म त्यो शहरबाट बाहिरिन्छु । शहरबाट बाहिरिएपछि म घना जंगलको बीचमा पुग्छु, जसलाई उसले नर्क हो भनेको थियो ।

त्यहाँ मैले मान्छेको कोलाहल परैबाट सुन्छु । कसैका आँखा निस्किएका, कसैको शरीरमा स्याउँ स्याउँ किरा परेको, कसैको घाउ र खटिराबाट पीप चुहिँदै गरेको । कसैलाई तातो तेलमा डुबाउँदै निकाल्दै गरेको । कसैलाई झिरमा उनेर बारवीक्यू गराएको दृष्य आँखामा ठोकिन थाल्छ । उफ् म डरले थरथर काम्न थाल्छु ।

– लतिका !

पुरुष र महिला दुवैको आवाज मिसिएको स्वरले एकाएक मलाई बोलाउँछ ।

म केही नबोली उभिन्छु ।

– म इलान बु्रक । उक्त आवाजले सम्वाद गर्न थाल्छ ।

– तपाई इलान बु्रक ? ।

– हो, म त्यही इलान बु्रक हुँ ।

– तपाईको चिहानमा त तपाईको हाँसिरहेको सुन्दर फोटो थियो ।

– हो, तर म अहिले नर्कमा छु, त्यसैले मेरो ओठमा हाँसो छैन । किनकि मेरो लोग्नेले ठूलो पाप गरिरहेको छ । त्यसको सजायँ मैले भोगिरहेकी छु ।

– के पाप गरिरहेको छ त्यस्तो ?

– ऊ हरेक दिन आउँछ र मेरो चिहानमाथि आँशु बगाएर जान्छ । त्यो आँशुले मलाई मुक्ति दिँदैन । ऊसंग मेरो सिंगो जीवन जोडिएको थियो । केही मीठा र धेरै तीता अनुभव मैले ऊसंग बाचेँकी थिए । उसले मलाई सधैं मर भनेर गाली गथ्र्यो । नभन्दै क्रिसमसको बिदामा घुम्न गएका बेला एकदिन मेरो कार दुर्घटनामा मृत्यु भयो । त्यसपछि मेरो मृत शरीरलाई उसले त्यो बाकसमा खरानी बनाएर राखिदियो । तर, मेरो आत्मा यो नर्कमा भड्किन थाल्यो । आजकल हरेक दिन आएर उसले त्यो बाकसलाई सुम्सुम्याउँछ । र, नजिकै आप्mना लागि रोकी राखेको बाकसलाई हेर्दै भन्छ– ‘मेरी प्रिय इलान ! एकदिन म तिमीसँगै आएर सुत्ने छु ।’

तर, सुत्न कहिल्यै आउँदैन । त्यसपछि मेरो प्यास बढ्छ ।

सृष्टिको अँध्यारोमा लुकेकी म उसको नजिक गएर आफ्नो प्यास बुझाउन सक्दिनँ । जगतको अँध्यारोमा हराएको मेरो प्रेम उसले अनुभव गर्न सक्दैन ।

जीवन रहुन्जेल उसले मसँग झगडा गर्‍याे । मैले संसार छोडेपछि बल्ल उसलाई थाहा हुदैँछ मेरो प्रेम कति महत्वपूर्ण थियो । उसले झगडा गर्दा पनि मैले कसरी सधैँ प्रेम गरिरहेँ । उसले मेरो प्रेमलाई सधै युद्ध ठान्यो । किनकि ऊ युद्धग्रसित ठाउँबाट आएको थियो । ऊ एक शरणार्थी थियो । यो जान्दाजान्दै मैले उसलाई प्रेम गरेँ । र, विवाह पनि गरेँ । मेरा दुइ छोरीहरु छन्, जसले उसलाई निकै घृणा गर्छन् ।

म मरेपछी उसले तीनवटी स्त्रीसँग बिहे गर्‍याे । तर, तीनवटै स्त्रीले उसलाई प्रेम गरेनन् । स्वार्थ रहुन्जेल उसलाई प्रयोग गरे, अनि उसलाई छोडेर गए । अनि बल्ल ऊ मलाई सम्झेर रुन थाल्यो । मेरो चिहानमा आएर घण्टांै बस्न थाल्यो ।

म प्यासी छु । उसले चढाएको रक्सीले मेरो प्यास बुभ्दैन । त्यो नक्कली फूलको कुनै अर्थ छैन, जसलाई तिमी पनि घृणा गर्छौ ।

लतिका, यो सन्देश तिमीले उसलाई पुर्‍याइदिनू । किनकि मान्छेजस्तै उसको मन पनि कालो छ ।

त्यसपछि त्यो आवाज एउटा गोरी युवतीमा परिणत भयो । हातमा एउटा सानो डिब्बा लिएर ऊ मतिर आउन थाली । म डराएर पर–पर सर्दै गएँ । ऊ मेरो नजिक आउन तिब्ररुपले अगाडि बढी । म भागेँ । ऊ पनि भागी । म चिच्याउन थाले । फेरि पनि उसले मलाई छोडिनँ ।

अन्ततः उसले आफ्नो सैतानी शक्ति प्रयोग गरी । र मेरो बाटो रोकिदिई । त्यसपछि उसले आफ्नो हातको त्यो सानो बाकस मेरो हातमा राखिदिई । म झसङ्ग भएँ ।

– भान्जी, भान्जी !

ब्यूझिदाँ मलाई मामाले हल्लाइरहनुभएको थियो ।

– के भो हजुरलाई ?

– त्यो काले खोई ? मैले आत्माको दुनियाँमा पुर्‍याइदिएको त्यो कालेलाई यताउता खोज्दै भनें– को काले ?

– यहाँ एउटा मानिस थियो, उसैले मलाई आत्माहरुको संसारमा पठाएको थियो । त्यसकी स्वास्नीले यो डिब्बा उसलाई दिन भनेकी छे । मैले आफ्नो हाततिर हेरें । म्याकडनल्स लेखेको एउटा बर्गरको डिब्बा मेरो हातले समातिरहेको थियो ।

– उफः यो के गरेको ? मामाले मेरो हातको डिब्बा फालिदिँदै भन्नुभयो ।

– मलाई त्यो कालेले आत्माहरुको संसारमा पठायो मामा । मैले स्वर्ग र नर्क दुवै देखेँ । बडो सन्तुष्ट हुँदै मैले भनें ।

– पुर्‍याउँछ आत्माहरुको संसारमा, उसले तपाईलाई हिप्नोटाइज गर्‍याे होला । यस्तो नचाइने कुरामा कहिलेदेखि लाग्न थाल्नुभो ? मामाले हकार्नुभो ।

– हिप्नोटाइज ? म छक्क परेँ ।

– हो, हिप्नोटिज्म अर्थात सम्मोहन, त्यतिबेलाको अवचेतन मनमा हुने उच्चतम कल्पनाशीलताले ब्रह्माण्ड भ्रमण गर्न सक्छ भन्छन् । हजुरलाई त्यही भएको ।

आजकल आत्मासँग कुरा गर्ने नाउँमा मानिसहरुले हिप्नोटिज्मको खुब प्रयोग गर्न थालेका छन् । धन्न फर्किनु भो, नत्र बहुलाउन बेर हुँदैनथ्यो ।

तर, त्यो इलान ब्रुक, के उसले बोलेको त्यो सब कुरा झूठो थियो ? मान्छेको कल्पना यति शक्तिशाली कसरी हुन्छ ? मनमा पुनः प्रश्न आएर उभियो । तर, मामालाई सुनाउने आँट गरिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment