Comments Add Comment

मन्त्रीकै योजनामा सिन्डिकेट फर्काइँदै, प्रतिवेदन मन नपरेपछि अध्यक्षले कुटे कर्मचारी !


२४ असार, काठमाडौं । काठमाडौंबाट आइतबार प्रकाशित बिभिन्न पत्रिकाहरुले फरक फरक समाचारलाई मुख्य पृष्ठमा छापेका छन् । यातायात मन्त्री रघुबीर महासेठ सिन्डिकेट फर्काउन लागिपरेकोदेखि सँस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई प्रहरीले प्रधानमन्त्री निवास बालुवाटारमा थुनेर राखेको लगायतका समाचारहरु छन् ।

यससँगै सरकारले चार दर्जन बढी राजनीतिक नियुक्ति खारेज गरेपछि उक्त स्थानमा जागिर खाने इच्छुकहरुको दौडधूप सुरु भएको, कर्मचारीको उमेर हद ६० वर्ष बनाउने तयारी भइरहेको, सरकारले ल्याउन लागेको सदाचार नीति अड्किएको लगायतका समाचारहरुले पनि पहिलो पृष्ठमा स्थान पाएका छन् ।

मन्त्रीकै योजनामा सिन्किेट फर्काइँदै

यातायात क्षेत्रको विकृति हटाउन यातायात व्यवस्था विभागले गत १८ चैतदेखि कारबाही थालेको थियो । तर सिन्डिकेटविरुद्ध निर्णायक कारबाहीमा उत्रिएका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई हौसला दिनुको सट्टा अचानक मन्त्रालय तानियो । ३१ वैशाख ०७५ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको निर्णयबाट मन्त्रालय हाजिर गराइएका भट्टराईलाई बस्ने कोठा र कुर्सीसमेत छैन ।

नयाँ पत्रिका दैनिकका अनुसार त्यसैले सहसचिव भट्टराई बिहान १० बजे हाजिर गर्न मन्त्रालय पुग्ने गरेका छन् तर गर्ने काम र बस्ने ठाउँ नभएकाले ११ बजे नै फर्कने गरेका छन् ।

नयाँ पत्रिका लेख्छ– देशभर शक्तिशाली ५ यातायात समिितसहित करिब ४ सय सार्वजनिक यातायात समिति एनजीओका रुपमा अहिले पनि बहाल छन् । ४ वैशाखमा मन्त्रिपरिषदको बैठकले असार मसान्तसम्म ती समिति कम्पनीमा दर्ता र नवीकरण हुनुपर्ने हो । तर तोकिएको समय सकिन ८ दिन बाँकी छँदा अरनिको यातायात समितिबाहेक अन्य कुनै पनि समिति कम्पनीअन्तर्गत दर्ता हुन आएका छैनन् ।

सरकारी निर्णय उल्ट्याएर पुनः एनजीओका रुपमा यातायात समिति दर्ता र सञ्चालन गर्ने कसरतमा यातायात व्यवसायी छन् । यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्दा कमाएको नाफाबाट १ रुपैयाँ पनि कर तिरेका छैनन् । तर यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चुपचाप छ । उल्टो मन्त्री महासेठ नै सिन्डिकेट फर्काउने योजनामा लागेका छन् ।

प्रतिवेदन मन नपरेपछि अध्यक्षले कुटे कर्मचारी

शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले प्रतिवेदन तयार पार्ने कर्मचारीलाई कार्यालयमै कुटपिट गरेका छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार जाजरकोट कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कुटपिट गरेका हुन् ।

प्रतिवेदन बुझाएपछि गाउँपालिका अध्यक्ष हरिचन्द्रले आफूमाथि कुटपिट गरेको बताए ।

शिक्षाको गुणस्तर उकास्नकमा लागि गाउँपालिकाले स्रोतव्यक्ति कमललाई अध्ययन प्रतिवेदन तयार गर्न लगाएको थियो । त्यसमा उनले विद्यालय नपढाउने, काम नगर्ने, छात्रवृत्ति वितरण नगर्ने शिक्षक र विद्यालयको सूची तयार पारेका थिए । सूचीमा अध्यक्ष हरिचन्द्रकै आफन्त देखिएपछि प्रतिवेदन तयार गर्ने व्यक्तिलाई नै कुटपिट गरिएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

सिंगो गाउँ शोकमा

मुस्ताङको टिपर दुर्घटनाका कारण दाङका राप्ती र राजपुर गाउँपालिका शोकमा डुबेको अन्नपूर्णमा खबर छ ।

दुर्घटनामा दाङका छ जनाको शुुक्रबार ज्यान गएको थियो। रोल्पाका रास्टे रोकाको परिवार पनि राप्ती गाउँपालिकामै बस्दै आएको छ। यो घटनाले सिंगो दाङ शोकमा डुबेको छ। राजपुर गाउँपालिकाका २ जना र राप्ती गाउँपालिकाका ४ जनाको मृत्यु भएको हो।

राजपुरका कमल बुढा, बालकुमार घर्ती, राप्ती नयाँ बस्तीका कविता घर्ती, सुबेर चोैधरी र वडा नं ९ का शान्ति थापा र गुरुदत्त थापाकोे मृत्यु भएको छ। गुरुदत्त र शान्ती पति–पत्नी हुन्।

नियुक्तिका लागि दौडधुप शुरु

अघिल्लो सरकारले गरेका झण्डै चार दर्जन राजनीतिक नियुक्ति खारेजीमा परेसँगै रिक्त पदमा पुग्न दौडधूप सुरु भएको छ। महत्त्वपूर्ण र आकर्षक नियुक्ति लिन सत्तारुढ दल निकटस्थहरू सक्रिय देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतलार्इ उद्धृत गर्दै अन्नपूर्ण पोस्ट दैनिकले खबर लेखेको छ ।

मन्त्रिपरिषद् कार्यालयले शुक्रबारै २० वटा मन्त्रालय र मातहत निकायलाई पत्राचार गरी राजनीतिक नियुक्ति खारेजीको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्देशनसँगै मन्त्रालयहरूले खारेजीमा परेका पदाधिकारीलाई अवकाश पत्र थमाउने तयारी थालिसकेका छन्।

सरकारले शुक्रबारै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएको पत्र पठाइसकिएको जानकारी दिएको छ।

सरकारले रिक्त पदमा भनसुनका आधारमा आफूनिकटलाई नियुक्ति दिनुभन्दा दक्ष र योग्य व्यक्तिलाई लैजानुपर्नेमा विज्ञहरूले आग्रह गरेका छन्। योग्य व्यक्तिलाई पाखा लगाउने र निकटस्थलाई नै शासन सञ्चालनमा लैजाने प्रवृत्तिले संघीय शासन प्रणालीलाई नै विकृत बनाउन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले राज्यका महत्त्वपूर्ण अंगमा आफ्ना आसेपासे नभएर मुलुकका निम्ति महत्वपूर्ण योगदान दिन सक्ने खुबी भएका व्यक्ति लैजानुपर्ने बताएको अन्नपूर्णले लेखेको छ ।

अड्कियो सदाचार नति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको राष्ट्रिय सदाचार नीतिको मस्यौदालाई चर्को कूटनीतिक आलोचना र र सरोकारवालाको सुझावपछि अन्तरमन्त्रालय छलफलमा लगिएको छ ।

कान्तिपुर दैनिकका अनुसार अघिल्लो महिना मन्त्रिपरिषद्मा लैजाने गरी तयारी अघि बढाएको भए पनि कूटनीतिक तहबाट दबाव र आलोचना भएपछि सरकारले पुनर्विचारका लागि छलफलमा लगेको हो ।

कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय दातृ निकायले सरकारका विभिन्न तहमा भेटघाट गरी छिमेकभन्दा बाहिरको विश्व आवश्यक नभएको हो कि भन्ने प्रश्न उठाएपछि सरकार हच्केको समाचारमा उल्लेख छ । सरकारले पछिल्लो समय छिमेक नीतिमा बढी ध्यान दिएको छ । तर छिमेकबाटै समस्या आउँदा अन्तर्राष्ट्रिय समुदाय गुहारेको पक्ष भुलेको भन्दै शक्ति तथा दातृ मुलुक सरकारप्रति रुष्ट बनेका छन् ।

उपकुलपतिलाई विदेश जान रोक

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई विदेश जान रोकेको नागरिकमा खबर छ ।

क्यानडा हिँडेका उपकुलपति कोइरालालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ नियन्त्रणमा लिएको हो । कोइराला नेतृत्वमा सात सदस्यीय नेपाली टोली क्यानडाको भ्यानकुभरमा आयोजना हुन लागेको विश्व संस्कृत सम्मेलनमा भाग लिन विमानस्थल पुगेको थियो ।

साँझ ८ बजेको उडानका लागि विमानस्थल प्रवेश गरी सामान जचाउँदै गर्दा उपकुलपति कोइरालालाई डीआईजी कमलबहादुर जिटीले नियन्त्रणमा लिएर बालुवाटार पुर्याएका थिए । उनले नागरिकसँग आफूलाई प्रधानमन्त्रीले भेट्न खोज्नु भएको भन्दै बालुवाटार लगिएको तर प्रधानमन्त्रीको निजी सचिवालयमा एक घन्टा राखिए पनि भेट नदिएको बताएका छन् ।

शिक्षामन्त्रीको स्वकीय सचिव पूरण केसीले उपकुलपति कोइरालाले बिदानको निवेदन शुक्रबार मन्त्रालयको कर्मचारीको टेबुलमा छाडेर गएको जानकारी दिँदै भ्रमण खर्च पारित नभएको बताए ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment