Comments Add Comment

‘ज्ञानेन्द्र शाहसँग लडें, अब ओलीसँग लड्छु’

विमानस्थलबाट फर्काइएका उपकुलपतिले सुनाए बाघ र बाख्राको कथा


२४ असार, काठमाडौं । क्यानडा भ्रमणमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई शनिबार साँझ प्रहरीले विमानस्थलबाटै पक्रेर प्रधानमन्त्रीनिवास बालुवाटार पुर्‍यायो । कोइरालाका अनुसार प्रहरीले उनलाई बालुवाटारको एउटा कोठाभित्र करिब एकघण्टा थुनेर राखेको थियो ।

प्रधानमन्त्रीज्यूले भेट्न खोजेको भन्दै बालुवाटार लगिए पनि प्रधानमन्त्रीसँग भेट्न नदिई जहाज उडिसकेपछि मात्रै कोइरालालाई घर फर्काइएको थियो ।

कोइराला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा संस्कृत विश्वविद्यालयमा उपकुलपतिको जिम्मेवारी पाएका थिए । उनले आफूलाई राजनीतिक प्रतिशोधका कारण सरकारले विदेश जान रोक लगाएको दाबी गरे ।

उपकुलपति कोइरालाले प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र शाहसँग तुलना गर्दै भने, ‘मैले ज्ञानेन्द्रविरुद्ध जे गरेको थिएँ, ओलीविरुद्ध पनि त्यही गर्नेछु ।’

सरकारबाट अपमानजनक रुपमा विमानस्थलबाटै फर्काइएका उपकुलपति कोइरालासँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी–

विमानस्थलबाटै पुलिसले नियन्त्रणमा लिनुपर्ने गरी तपाईंहरु के गर्दै हुनुहुन्थ्यो ?

क्यानडामा आयोजित १७ औं संस्कृत सम्मेलनमा सहभागी हुन हामी ७ जना सदस्य जाँदै थियौं । विमानस्थलमा लगेज चेक गराउने, कागजपत्र देखाउने लगायतको काम भइरहेको थियो । त्यहीबेला डीआईजी कमलबहादुर आएर ‘हजुरलाई प्रधानमन्त्री ज्यूले बोलाउनुभएको छ बालुवाटार जाऔं’ भन्नुभयो ।

मैले प्लेन उड्ने समय हुनै लाग्यो, अहिले किन जाने भनें । उहाँले होइन, एकैछिन त हो, प्रधानमन्त्री ज्यूलाई भेटेपछि फर्किनुहोला भन्नुभयो । अरु ६ जना साथीहरु प्लेनतिर जानुभयो, मलाई भने डीआईजीको गाडीमा राखियो र सीधै बालुवाटार पुर्‍याइयो ।

त्यहाँ तपाईँलाई कस्तो व्यवहार भयो ?

म बालुवाटार पुगेको थाहा पाएपछि शिक्षा मन्त्रालयका सचिव खगराज बराल र सहसचिव विनोद कुँवर पनि आउनुभयो । प्रहरीहरुले एकदमै राम्रो व्यवहार गरे । आदरपूर्वक राखे । हजुर हजुर भन्दै सम्बोधन गरे ।

तर, अपमान त प्रधानमन्त्रीबाट भयो । राति ८ बजे प्लेन उड्ने समय थियो । ८ बजेपछि ‘प्रधानमन्त्रीले टाइम मिलाउन सक्नुभएन’ भन्दै मलाई बालुवाटारबाट फर्काइयो ।

तपाईं प्रक्रिया नपुर्‍याई विदेश जान लागेर पो हो कि ?

होइन । सरकारले ७ सदस्यीय टोलीलाई विदेश पठाउने भनेर स्वीकृत गरेको छ । हामीले कार्यकारी परिषदबाट पनि निर्णय गराएका छौं । सहकुलपति (शिक्षामन्त्री) लाई त्यसबारे जानकारी गराएका छौं ।

देश बाहिर जानुपरेमा एक साताअघि सहकुलपतिलाई जानकारी गराउने व्यवस्थाअनुसार मैले असार १५ गते नै शिक्षा मन्त्रालयमा निवेदन दिएको छु ।

यही प्रक्रियाबाट म विगतमा चीन गएको छु । प्रचण्डका पालामा भारत पनि गएको छु । तर, अहिले विदा स्वीकृत भयो कि अस्वीकृत भयो, केही पनि जानकारी मलाई दिइएको छैन ।

अर्को कुरा, हामी क्यानडा जानका लागि बजेट पनि स्वीकृत गरिएको छ । गोपालमान श्रेष्ठ शिक्षा मन्त्री हुँदा हामीले ४० लाख रुपैयाँ माग गरेका थियौं । तर, शिक्षा मन्त्रालयले ३५ लाख स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । युवराज खतिवडा अर्थमन्त्री बनेपछि यति धेरै रकम दिन सकिँदैन, प्रधानमन्त्री त्यति सकारात्मक हुनुहुन्न १० लाख जति दिलाऔंला भन्नुभएको थियो । र, १० लाख रुपैयाँ स्वीकृत पनि गरिएको थियो ।

सरकारले अनावश्यक विदेश भ्रमणमा रोक लगाउने निर्णय नै गरेको छ । महत्व नभएको कार्यक्रममा ठूलो टोली जानु उचित नभएर हो कि ?

बाघ र बाख्राको एउटा कथा छ के ! तपाईंले सुन्नुभा’छ कि छैन ? बाघले बाख्रालाई भनेछ– एई, खोलाको पानी किन धमिलो बनाइस् ?

बाख्राले उत्तर दिएछ– म त खोलाको तलतिर छु, तपाईं माथितिर हुनुहुन्छ । तलतिर भएको धमिलो पानी माथितिर आउँदैन । मैले धमिलो बनाएको होइन हजुर !

अनि बाघले भनेछ– ए, तैंले होइन ? त्यसोभए तेरा बाउ, हजुरबाउले होला ।

अहिले भएको पनि यस्तै हो । सरकारबाट कार्यक्रमै अस्वीकृत भएको होइन, भीसी (उपकुलपति) मात्रै सरकारलाई अस्वीकृत भएको हो । म कोइराला परिवारको सदस्य हुनुको कारण हो ।

क्यानडामा हुने भनिएको संस्कृत सम्मेलन कस्तो हो ? त्यसमा तपाई सहभागी नहुँदा के हुन्छ र ?

 

सन् २०२४ मा नेपालमा संस्कृत सम्मेलन गर्ने भनेर हामी तयारीमा छौं । क्यानडाको सम्मेलनमा म त्यही प्रस्ताव लिएर जान लागेको थिएँ । तर, राजनीतिक कारणले मलाई त्यहाँ जान दिइएन । यसबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको बेइज्जत भयो ।

सम्मेलनमा एक सयभन्दा धेरै देशका विज्ञहरु सहभागी छन् । त्यहाँ संस्कृतलाई प्रवद्र्धन गर्ने, नेपालमा संस्कृत विश्वविद्यालय छ है भनेर विश्वभर चिनाउने अवसर गुम्यो । म नगएर त केही भएन होला, तर देशको बेइज्जत भयो ।

राजनीतिक कारणले नेपाल संस्कृत विश्वविद्यालयका भीसीलाई सम्मेलनमा आउन दिइएन भनेर विदेशमा पनि व्यापक समाचार आइरहेको छ रे । आज बिहान मात्रै पनि मलाई त्यहाँका साथीहरुले भाइबरमा म्यासेज पठाउनुभएको छ ।

अब सन् २०२४ मा नेपालमा संस्कृत सम्मेलन हुन्छ कि हुँदैन त ?

सरकारले सहयोग गरेमा हुन्छ । विदेशी पाहुनाहरुलाई खुवाउने, बसाउने, सुरक्षा दिलाउने, सबै प्रवन्ध मिलाउनुपर्‍याे । यो काम विश्वविद्यालयले मात्रै गर्न सक्दैन । सरकारको सहयोग भए सम्मेलन गर्न सकिन्छ ।

तपाईंको राजीनामा आउने हल्ला पनि चलिरहेको छ, अब के गर्नुहुन्छ ?

किन राजीनामा दिने ? के कारणले दिने ? पहिले ज्ञानेन्द्र शाहले गर्ने व्यवहार जस्तो थियो, अहिले प्रधानमन्त्री केपी ओलीको व्यवहार पनि त्यस्तै भयो । मैले ज्ञानेन्द्रविरुद्ध जे गरेको थिएँ, ओलीविरुद्ध पनि त्यही गर्नेछु, यदि कांग्रेसले साथ दियो भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment