Comments Add Comment

नौलो भूमिका पाएनौ भन्ने कलाकार आफैंले बनाएको फिल्ममा चिप्लिदै

'कसैले चोरेर बनाए, कसैले पुरानै फर्मुला दोहोर्‍याए'

नेपालीमा एउटा उखान छ, आफू नमरी स्वर्ग देखिदैन । स्वर्गको बारेमा कुरा सुन्नु र आफैले देख्नु फरक कुरा हो । यो उखान नेपाली चलचित्रका कलाकारका लागि पनि फिट हुन्छ । यसअघि हामीले नेपाली चलचित्रका कलाकारले आफूलाई फरक भूमिकामा ढाल्न नखोजेको र पैसाकै पछि लागेको बिषयलाई उठान गरेका थियौ ।

तर, यो बिषयमा कलाकारसँग कुरा गर्ने हो भने सबैको एउटै जवाफ आउँछ । त्यो जवाफ हो, निर्माताले फरक भूमिकामा अफर नै गरेनन्, नेपालमा राम्रो कथा नै पाइदैन, आजसम्म मैले खोजे जस्तो भूमिका नै पाएको छैन, आदि…इत्यादी ।

यो कुरा केही हदसम्म सत्य पनि छ । किनकी, नेपालमा उत्कृष्ट कथा नपाएर धेरै कलाकारले आफ्नो प्रतिभा देखाउन पाएका छैनन् । निर्माताले दिएका कथामा पैसाकै लागि खेल्नुपर्ने उनीहरुको वाध्यता छ । आफ्नो हातमा डाडु पन्यू नभएपछि मन लागेको खानेकुरा खान कठिनै हुन्छ । तर, आफैले डाडु पन्यू चलाएपछि पनि किन नमिठो खाना बन्छ, किन मन लागेको कुरा पकाउन सक्दैनन् ? यो भने साच्चै, टड्कारो रुपमा उठेको प्रश्न हो ।

भोलीका लागि भन्दै होस् वा सकिन लागेको करिअर जोगाउन होस् वा साँच्चै राम्रो चलचित्र बनाउन, जे जस्तो कारणले पनि धेरै कलाकार अहिले निर्माता बनेका छन् । आफै लगानी गरेर चलचित्र बनाइरहेका छन् । अहिले निर्माता नबनेका कलाकार भेट्न नै मुश्लिक पर्छ ।
आफै निर्माता र आफैं प्रमुख कलाकार भएपछि उनीहरुले भनेजस्तै, खोजे जस्तो, गर्न मन लागेको, उत्कृष्ट कथाबस्तु भएको चलचित्र बनाउनुपर्ने हो । तर कलाकारको काम गराई र भनाइमा कत्ती पनि तालमेल मिलेको छैन ।

कोहीले चोरे, कोही पुरानै फर्मुलामा दौडिए

नायिका केकी अधिकारी अरुले निर्माण गरेका चलचित्रमा काम गरेर सन्तुष्ट नभएपछि आफै निर्मात्री बन्न कस्सिइन् । भलै, पैसा अरुकै भए पनि उनले आफूलाई निर्मात्रीको ट्याग भने ‘कोहलपुर एक्सप्रेस’बाट भिराएकै हुन् ।

चलचित्र चलाउनका लागि उनी थुप्रै प्रचारका फन्डा अपनाइन् । अरु निर्माताको चलचित्र प्रमोशनमा स्वार्थी बन्ने गरेकी निर्मात्री अधिकारीले आफ्नो निर्माणमा बनेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रचारका लागि अहोरात्र जुटिन् । काम गर्दा गर्दै आफू किन नढलेको होला भन्दै आफैमाथि प्रश्न पनि गरिन् उनले ।

यो चलचित्रमा केकी आफैले अभिनय पनि गरेकी छन् । अरुको चलचित्रमा खोजे जस्तो भूमिका गर्न पाइनँ भन्दै आएकी केकीले ‘कोहलपुर एक्सप्रेस’लाई बबालै बनाइन् होला र आफूलाई पनि अरु निर्माताले दिन नसकेको भूमिकामा ढालिन् होला भनेर हलमा पुगेका दर्शक र समिक्षक निराश बने । उनले साउथको चलचित्र ‘मुम्बई एक्सप्रेस’बाट धेरै अंश सापटी लिएर त्यसमै दुई चारवटा कमेडी संवाद राखेर चलचित्र बनाएकी रहिछन् ।

चलचित्र कस्तो बनाएँ भनेर समिक्षा गर्नुभन्दा पनि उनी, एक सातामै करोड क्लबमा प्रवेश गरेको भन्दै केक काट्न हतारिइन् । ‘मुम्बई एक्सप्रेस’बाट चोरिएको हो कि के भन्ने प्रश्नको जवाफ उनले आजसम्म दिन्छु दिन्छु भनेर दिएकी छैनन् । तर, चतुर निर्माता बन्ने ध्याउन्नमा लाग्दा केकीले आफू एउटा राम्रो कलाकार पनि हुँ भन्ने विर्सिइन् । सायद, उनी निर्माता त बनिन् होला तर उनलाई आफूले प्रतिष्ठा कमाएको कलाकारको विधामा अन्याय गरेको पत्तै भएन ।

अरुको चलचित्रको खरो आलोचना गर्ने, व्रेकभन्दा बढी हेर्नै सकिन भन्दै हलबाट निस्किएको कुरा गर्ने नायिका ऋचा शर्माले चलचित्र ‘आधा लभ’ र ‘सुनकेशरी’ बनाइन् । ‘आधा लभ’को त कुरै नगरौ । किनकी, यसको कथाले दर्शकलाई हलमा आधा समय पनि टिकाउन सकेन ।
‘सुनकेशरी’लाई भूतको चलचित्र भनेर प्रचार गरेकी ऋचाले दर्शकलाई तर्साउनु भन्दा बढी हँसाइन् । नेपालमा यो चलचित्र नचलेको खण्डमा ५-७ बर्ष भूतको कथामा चलचित्र नै नबन्ने उनको दाबी थियो । तर, हलमा यो चलचित्र लागेपछि दर्शकले ५-७ बर्ष भूतको कथा भनेपछि हलमै नपुग्ने अवस्थाको सिर्जना भयो ।

नायिका रेखा थापाले निर्माता छविराज ओझाको क्याम्प छाडेर आफैले निर्माण गर्न थालेपछि बनेका चलचित्रको झनै हरिविजोग छ । ‘काली’, ‘रामप्यारी’, ‘रुद्रप्रिया’ लगायतका चलचित्रमा न त रेखा थापा बदलिइन्, न त कथावस्तु । उही मारपिट, एउटै संवाद, उस्तै खालको अभिनयले रेखाप्रति दर्शकको क्रेज कम बनायो । रेखा थापा यसपछि चल्न छाडिन् ।

तर, उनले आफै पैसा लगानी गरेर गर्न मन लागेको भूमिकाको खोज कहिले गरिनन् । बजारमा जे चल्यो, त्यसकै पछाडि लाग्दा रेखा यूग पनि समाप्त हुने बाटोमा छ ।

नायक अनमोल केसीले ‘ए मेरो हजुर ३ र ब्याचुलर बन्टी’ चलचित्र साइन गरेपछि भनेका थिए, नेपालमा राम्रो कथा नै पाइदैन । यसैले, यसपटक राम्रो कथा आएकाले मैले लगालग चलचित्र साइन गरे । यस्ता, कथा सधै पाइन्छ भन्ने छैन ।

अनमोलको यो कुरा सुन्दै गर्दा, उनकै होम प्रोडक्शनमा बनेको र उनी नै निर्माता रहेको चलचित्र ‘ड्रिम्स’को कुरा गरौ । अरुका चलचित्रमा आफूलाई क्यारेक्टरमा ढाल्न नखोजे पनि अनमोलले आफ्नै होम प्रोडक्शनको चलचित्रमा विशेष मिहिनेत त गर्न सक्थे । तर, उनले त्यसो गरेनन् । आफू, अरु ब्यानरमा जुन फर्मुलामा चलिरहेको छ, त्यसकै पछाडि दौडिए । हलमा दर्शक त आए, तर अनमोलको सपना उनकै ब्यानरमा पनि पुरा हुन सकेन ।

सायद, अनमोलका लागि ‘ड्रिम्स’को कथा रुचिकर थिएन वा उनले आफूलाई फरक रुपमा ढाल्ने प्रयास आफ्नै ब्यानरमा गर्न चाहेनन् । अनमोल अहिले चलचित्र ‘क्याप्टेन’मा फुटबल खेलाडी बनेका छन् । आफ्नै ब्यानरमा उनले यसपटक जोखिम मोलेको चर्चा हुने गर्दछ । अनमोलले जोखिम मोले या नजाने गाउँको बाटो हिड्न खोजे, चलचित्र रिलिज पछि पक्कै भन्न सकिनेछ ।

नायक आर्यन सिग्देलको गुनासो पनि सधै उस्तै हुनेगर्छ । खोजे जस्तो, सोचे जस्तो भूमिका नै गर्न पाइएन । अरु निर्माताले लगानी गरेर सेफ ल्याण्डिङको बाटो खोजे पनि आफूले बनाएको चलचित्रमा आफ्नो सपना पुरा गर्न सक्नुपर्ने हो । तर, आर्यनको रिलिज हुन लागेको चलचित्र ‘कायरा’को ट्रेलर हेरेपछि भन्न सकिन्छ, उनी जुन फर्मुलामा पहिले चलेका थिए सोही फर्मुलामा आफूलाई राखेर पैसा कमाउने धुनमा छन् । ‘कायरा’मा पनि आर्यन उही चलकेटी केटाको रुपमा छन्, जुन भूमिकामा आर्यनलाई दर्शकले बर्षौ हेरिसके ।

यहाँ कलाकारले बनाएका चलचित्रको उदाहरण जत्ती पनि दिन सकिन्छ । स्वेता खड्काको ‘कान्छी’, रेजिना उप्रेतीको ‘बरदान’, ऋचा घिमिरेको ‘ब्रेकफेल’, रमेश उप्रेतीको ‘ऐश्वर्य’, निखिल उप्रेतीको ‘भैरव र रुद्र’ ।

आफ्नो करिअरका सबैजसो चलचित्रमा एउटै भूमिकामा देखिएका नायक राजेश हमालले सधै एउटै गुनासो गरे, मलाई निर्देशकले फरक भूमिकामा ढाल्नै खोजेनन् । अरुले, फरक भूमिकामा ढाल्न जोखिम लिन नसकेको बताउने हमालले चलचित्र निर्देशन गर्ने बताएको पनि धेरै भैसक्यो । तर, उनी बजार वुझ्दैछु भनेर बसेका छन् । तर, हमालले आफैलाई आफ्नो ब्यानरबाट ३ सय चलचित्रमा गर्न नपाएको भूमिकामा ढाल्नेछन् र आफ्नो सपना पुरा गर्नेछन् भनेर कमैले मात्र पत्याएका छन् । अहिले त हमालले चलचित्र निर्देशन गरे भने त्यो नै ठूलो कुरा भन्नेहरु पनि छन् ।

चलचित्रमा सधै लभरब्वाइको भूमिकामा देखिएका नायक प्रदिप खड्का आफ्नै ब्यानरमा चलचित्र ‘लभ स्टेशन’ बनाउँदैछन् । अरुको चलचित्रमा गर्न नपाएको भूमिकालाई उनले यसपटक आफ्नै चलचित्रमा देखाउनेछन् या पुरानै फर्मुलामा दौडिनेछन्, प्रतिक्षा गर्नैपर्छ ।

आफैले बनाएको चलचित्रमा कलाकारले जोखिम मोल्न सक्दैनन् भने अरु निर्माताले करोडौ लगानी गरेर जोखिम मोलिदियोस् र आफूलाई फरक रुपमा ढालोस् भनेर आशा राख्नुको कुनै तुक छैन ।

तपाइले, आफ्नै लगानीमा आफ्नो सपना पुरा गर्न चाहनुहुन्न भने अरुले तपाइको सपनाका लागि करोर्डाै रकम किन जोखिम मोल्छ ?

कलाकारलाई प्रश्नः कपाल पाल्दैमा, जिम जाँदैमा क्यारेक्टरमा पसिन्छ र ?

हिरोलाई ५० लाख, अनि कथालाई ?

अनमोलदेखि साम्राज्ञीसम्मः कसको स्टार पावर कति ?

पेलाईमा निर्माता, ‘मुर्गा’ संस्कृति कहिलेसम्म ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment