Comments Add Comment

पूर्वमा धर्मको बहसः के हो किरात ?

लिम्बुवान र खम्वुवानमा आर्य संस्कृतिको प्रभाव

सरकारले राष्ट्रिय परिचयपत्र बाँड्ने कार्यक्रमसँगै राई र लिम्बूले धर्मको महलमा “किरात” लेख्नुपर्ने उर्दी याक्थुङ चुम्लुङ र यायोख्खाले जारी नै गरिसकेका छन् । ०४८ को जनगणनामा धर्मको महलमा कुनै न कुनै धर्म लेख्नुपर्ने भएकाले राई, लिम्बूले किरात धर्म लेख्नुपर्ने अभियान यी संस्थाहरूले पहिले पनि चलाएकै थिए ।

उतिबेला काठमाडौंमा बसोबास गर्ने राई-लिम्बूहरू थोरै भएकाले कम्तिमा पनि मलामी जान पर्दा किरात भनेपछि बढी भइने र अरु धर्मको दाँजोमा गणनासम्म हुन सकिने भएकाले राई-लिम्बूले धर्मको महलमा किरात लेख्नुपरेको अगुवाहरू बताउँछन् ।
धर्म भनेको के हो ? धर्म किन चाहिने ? धर्म र संस्कार-संस्कृति एउटै हुन् वा फरक हुन् ? आजसम्म चुम्लुङ र यायोख्खाले कहिल्यै बहस गरेका छैनन् ।

जातीय संस्थाले के गर्ने, के नगर्ने ? मेरो आशय यो होइन । यस आलेखमा राई र लिम्बूका हकमा धर्मका बारेमा थोरै इतिहास कोट्याउने मात्र मेरो मनशाय हो ।

वौद्धमार्गीको आक्रमण

वास्तवमा लिम्बूजातिको आस्था र विश्वासमाथि पहिलोचोटि आक्रमण बौद्धमार्गीहरूले गरेको देखिन्छ । अढाई सय वर्ष भन्दा पनि अगाडि लिम्बूजातिका लिपिका आविष्कारक शिरिजङ्गाले धर्मका बारेमा लेखेको हज्शन पाण्डुलिपिको खण्ड ८५ मा भेटिन्छ ।

उनले लिम्बूको यो धर्म, त्यो धर्म भने उल्लेख गरेका छैनन् । उनले आफ्नो नामका अगाडि “लामा गुरु” “उगेन पोमा” भनेर प्रशस्ती गाएका छन् । “उगेन पोमा” भनेर चाहिँ सातौं सताब्दीताका बौद्ध गुरु पदमसम्भवलाई सम्बोधन गरिएको हो ।

अर्जुनबाबु माबुहाङ

शिरिजंगालाई लिम्बूजातिका लिपि-भाषा प्रचार प्रसार गरेको आरोपमा सिक्किमको पेमियोन्ची गुम्बाका टछाङ -भारदार) लामाहरूले मार्तामको रेसीखोला (कालेज खोला वारी) मा हत्या गरेका थिए ।

ताप्लेजुङ मिवाखोलाका श्रेङ लिम्बूहरूका भान्जा सुनमाल अङ्शिले नाल्बो (फचङ) मा चिबे गुम्बा बनाएर बौद्ध धर्मको प्रचार गरेको देखिन्छ । मिवाखोला लिम्बूहरूको वंशावलीले सुनमाल अंशी करिव ३५ देखि ४० पुस्ता अघिका देखिन्छन् । आजभोलि पनि केही लिम्बूहरूले आफू अङ्शी भएको भनेर भविष्यवाणी गर्दै हिँडेको भेटिन्छ ।

सन् १८४८ मा दार्जीलिङ पुगेका बेलायती वनस्पतीविद जोसेफ डाल्टन हुकरले ताप्लेजुङ तमोरखोला इलाकामा भेटेका लिम्बूहरूलाई बौद्ध धर्मालम्वीका रुपमा पाएका थिए ।

 

वौद्धपछि हिन्दु अतिक्रमण

जिउँदा इतिहासकार ज्ञानमणि नेपाल (०५५) ले संकलन गरेको १८७५ मा पूर्वका काजीबहादुर भण्डारीका नाममा पठाइएको पत्र अनुसार मैवाखोलाका फागो र मिवाखोलाका सिरेङ लिम्बूहरूले सेनकालदेखि नै स्मृति वा हिन्दूधर्म मान्न थालेको देखिन्छ ।

पृथ्वीनारायण शाहले पनि लिम्बूहरूलाई मनुस्मृति नै मान्न लगाए । त्यसपछि भने नीति मान्ने वा सनातनी मुन्धुम मान्ने लिम्बूहरूले नीति मान्न बिन्ती सरकारमा चढाएको देखिन्छ ।

बैरागी काइँला (०६३) ले हज्शन पाण्डुलिपिको खण्ड ६० मा स्मृति मान्नेमा चैनपुरका फागु चोङबाङ, मासेेेरेङका सिरिङ र याङरुपका योङहाङ र नीति मान्नेमा आङबुहाङ, हाङबाङ, साम्बाहाङ भएको उल्लेख गरेका छन् । चैनपुरका फागु भनेका मैवाखोलाका फागोहरू नै हुन् । मासेरेङका सिरिङ भनेका मिवाखोलाका सिरेङ लिम्बूहरूनै हुन । नीति मान्ने आङबुहाङ आठराई चाँगेका आङबुहाङ हुन् । त्यस्तै हाङबाङ पनि आठराई हाम्पाङका हुन् भने साम्बाहाङ चाँहि मिवाखोलाका साँबाहरू हुन ।

यसरी पटक-पटक बुद्घष्टिपछि हिन्दूहरूले लिम्बूजातिको आस्था र विश्वासमा विचलन ल्याएको देखिन्छ ।

न वौद्ध, न हिन्दू

सन् १९६६ (विसं.२०२३) सालमा नेपाल आएर ताप्लेजुङको मिवाखोलामा लिम्बूजातिका बारेमा अध्ययन गरेका फ्रेन्च मानवशास्त्री फिलिप साँगाले लिम्बूहरू न बुद्घष्टि  न हिन्दू, नाम बेगरको परम्परागत धर्म भएका छुट्टै परम्परा, अनुश्रुति, बोकेका आफ् देउ-देउता मान्ने प्राकृत भएको बताएका छन् ।

वास्तवमा लिम्बूजाति कुनै त्यस्तो धार्मिक समूह नभएर परम्परागत संस्कारिक र सांस्कृतिक समुहको रुपमा देखिन्छन् ।

हिन्दू जोसमनी पन्थबाट प्रभावित फाल्गुनन्दले खर्चालु संस्कृतिका लतमा लागेर किपट (माटो) गुमाइरहेका लिम्बूहरूलाई सुधार्न १९८८ मा सत्यहाङमापथ निर्माण गरे ।

संस्कारमा जाँड-रक्सी, माछा-मासु त्याग्नुपर्ने र छोरीको सोत (रित) खान नहुने सत्यहाङमापथको जग थियो । उनको शेषपछि सत्यहाङमा पन्थीहरूले २०३६ -?) सालमा “किरात धर्म तथा साहित्य उत्थान” नामक संस्था दर्ता गरे ।

आज आएर सत्यहाङमापन्थी लिम्बूहरू किरात धर्मालम्वीका रूपमा चिनिन्छन् । आफ्नो आस्था, विश्वास, परम्परा संस्कृति सबै लत्याएर इशाईहरूको नक्कल गर्छन् । कान फुकेर शब्दी गर्छन् । पैसा लिएर हाङवा माङवा गर्छन् । पहिले युरोपमा मध्यकालमा पास्चरहरूले स्वर्ग र नर्क पठाएवापत इन्डल्जेन्स लिएजस्तै ।

त्यस्तै सत्यहाङमापन्थी लिम्बूहरू हिन्दूको पनि नक्कल गर्छन् । होम, यज्ञादि गर्छन् । शंख फुक्ने गर्छन् । भविष्यवाणी गर्छन् ।

त्यसो त धर्म भनेपछि पाप र पुण्य, स्वर्ग र नर्कको कुरो आउँछ नै । धर्मको त आचारसंहिता पनि हुन्छ, कुन कुरा गर्न हुने र नहुने । लिम्बूको मुन्धुममा न पाप छ न पुण्य छ । न स्वर्ग, न नर्क छ । न कुनै त्यस्तो आचारसंहिता नै छ ।

पहिले लिम्बुजातिमा खर्चालु संस्कार पनि थिएन । गोर्खालीले दिएको सुवाङ्गी (सुब्बा पगरी) देखाउन फुलपाती बढाईं दुर्गापूजामा भोगवली नै अन्ततः लिम्बूजातिमा खर्चालु संस्कृतिको कारक बन्यो । वास्तवमा लिम्बू संस्कारमा देऊ-देऊतालाई भोगवली गर्ने बाध्यता हुन्न । कुलदेवी युमालाई सेगेफुङ -बाहुनीवर) अर्पण गरे पुग्छ ।

धरान महासभाको सन्देश

लिम्बूजाति धार्मिक समूहभन्दा पनि परम्परागत संस्कार र संस्कृतिभएको, प्रकृतिप्रति आस्था र विश्वास राख्ने आफ्ना पितृप्रति अगाढ श्रद्घा भएको जाति हो ।

गत ०७५ वैशाख १७ गते मात्र युमा साम्यो महासभा धरानको अगुवाईमा नेपालबाट बैरागी काइँला र सिक्किमबाट एसआर खजुमको अभिभावकत्वमा धरानमा भेला भएका लिम्बूले आफूले मान्दै ल्याएका परम्परा र संस्कारलाई नै धर्मका रूपमा विकास गर्दै लैजाने आफ्नो पितृप्रति अगाढ श्रद्घा राख्दै आइन्दा आफ्नो पितृकै नामबाट धर्मको महलमा युमा धर्म लेख्ने भनेर सहीछाप गरिसकेका छन् । उनीहरूले लिम्बूजातिको आदिम ज्ञान र चिन्तनलाई नै युमा धर्म, दर्शनको प्रारुप बनाइरहेका छन् । यद्यपि लिम्बूजातिलाई अब धर्म किन चाहिने युमा धर्मका प्रचारकहरूले बताउन सकेका छैनन ।

रोमन मिसनरी फादर गसेप दि रोभाटो लाशा हुँदै नेपाल उपत्यका छिरे । उनी १७६९ ई. मा उपत्यकाबाट निकालिए । बाहिरिएपछि मकवानपुरदेखि बेतिया हुंदै र्फकने क्रममा उनले स्वतन्त्र किरात राज्य भेटेको र उनले किरातीहरूको कुनै धर्म नभएको पनि चर्चा गरेका छन् ।

खम्बुवानमा हिन्दुत्वको प्रभाव

राईहरूको आस्था, विश्वासलाई प्रभाव पार्न बुद्घष्टिहरूले पनि सकेको देखिन्न । सम्भवतः उनीहरूलाई अरुण नदीले पनि छेक्यो । तर, सेनकालमा खार्पाका पोखरेलहरूले पुरोहित्याइँ गर्ने बिर्ता नै पाएकाले राईहरूमाथि हिन्दूधर्मको प्रभाव पर्न थाल्यो ।

राणाकालमा दिङ्लाका बालागुरु षडानन्द र मझुवाबेंसीका योगमायाहरूले हिन्दूधर्मका केही सम्प्रदायहरूको ठूलो प्रचार-प्रसार गरे ।

हाल राईहरूले कर्मकाण्ड सबै हिन्दूकै गर्छन् । बाँकी संस्कृतिको नाममा बचेको चण्डी र सिली पनि पञ्चायतकालमा बामपन्थीहरूले सिलिकै धुनमा जनवादी गीत बनाइदिए । चण्डी नाच पनि आजकालका ठिटाहरूले क्याबे्र डान्स बनाइदिएका छन् । त्यसैले आज आएर राईहरूको परम्परा र संस्कृति मात्रै पनि ठम्याउन गाह्रो छ ।

आज राईहरूले भन्नलाई चाहिँ आफूहरू पूर्वको सबैभन्दा ठूलो र सभ्य जाति भएकाले राज्य नै चाहियो भन्छन् । तर, अल्पसंख्यकको कोटाबाट भए पनि जे बन्न पनि चुक्दैनन् । कोही गड एन्जेल बनेका छन् ।

केही मित्रहरूले राईहरूको मुन्धुममा “येल” को अर्थ भेटिएको भनेर दावी गरे पनि उपत्यकामा किरातकालका प्रशासनिक शब्दहरू जस्तै “कुथेर, माप्चोक, लिङवल” राईजातिको बोलचालमा हालसम्म छन् वा छैनन ? र, ती किन छैनन ? सोध्न मन लागेको छ ।

राईजातिले आफ्नो इतिहास जोड्न मुन्दुममा “येल” को अर्थ खोजिरहनुपर्दैन । जयस्थिति मल्लका पालामा संकलित गोपालराज वंशावलीमा “एते द्वात्रिश किरातराजाः, तामज्जर्णकोशकीटटाद्भबायेः अथवा “यी बत्तीसजना किरात राजाहरू भएÙ किरात राजाहरू तामाकोशी र सुनकोसीका तटमा जन्मेका ” भनेर लेखिएको योगी नरहरीनाथद्वारा २०२२ मा संकलित “इतिहास प्रकाशमा सन्धिपत्र संग्रह” मा छापिएको छ ।

अथवा, राईहरूका पूर्खाले सुनकोशी र तामाकोशीको किनारबाट उपत्यका गएर त्यहाँ ३२ पुस्तासम्म राज्य गरेका हुन् । धनबज्राचार्य र टेकबहादुर श्रेष्ठद्वारा ०३७ मा संकलित “शाहकालका अभिलेख” पुस्तकमा केलटोल वालकुमारीको अभिमानसिंह बस्नेतको अभिलेखमा “नवलख देश किरात” शब्दहरू परेका छन् ।

अर्थात्, “नौलाख किरात” को थिए त ? वि.सं १८३०-३१ मा अभिमानसिंहले किरात हान्दा उतिखेर राई मात्र थिए त नौ लाख ? कि हज्शनले भनेजस्तै राईबाटमात्रै नौलाख आना कर उठ्थ्यो त ? त्यत्रो संख्या त लिम्बूलाई जोड्दा पनि पुग्दैन ।

राणाहरूले लिम्बुहरूको भुमिलाई पल्लो किरात लिम्बुवान भनेर सम्बोधन गरेपछि लिम्बूहरूलाई पनि किरात भनिन थालियो । किरात वा राईको वास्तविकतासँग किराती भनेर चिनिने जो कोही पनि नजिकिन चाहँदैनन् । गोर्खालीबाट परास्त भएर कोशी तरेका चौदण्डीका चौतारियालाई हज्शन पाण्डुलिपिको खण्ड ८५ मा शिरिजङ्गा लिपिमा लिम्बूभाषामा लेखिएको लेखोटमा अगमसिंह खम्बू भनेर लेखिएको छ ।

एच.एच. रिस्ले (१८९१/ १९७२ ई.) द्वारा लिखित “गजेटियर अफ सिक्किम” नामक पुस्तकमा फेब्रुअरी १८९१ ई. मा सिक्किममा लिइएको जनगणना अभिलेखमा खम्बूहरूकोे जनसंख्या पुरुष ७२६, महिला ६४८ र वालवालिका ५८९ गरी जम्मा १९६३ लेखेको पाइएको छ ।

उक्त जनगणनाको जाति कोलममा ‘राई’ र “जिमदार” भनेर पुरुष ७४२, महिला ६९१ र वालवालिका ५८७ भेटिन्छ । जिमदार तर ‘किरात’ का बारेमा कुर्न चर्चा छैन । उक्त जनगणनामा लाप्चाहरूलाई त्यहाँकै भूमिपुत्र मानिएको छ भने खम्बू र लिम्बूलाई अरुणवारि र पारिबाट आएका भनिएको छ ।

नारायण संग्रौला (२०५६) को शोधपत्रमा पाइएको १८८० को कागजमा आठराईका राईलाई ‘खम्बु’ भनेर सम्बोधन गरेको पाइन्छ । गोर्खालीहरूको सरकारी कागजमा ‘खम्बू’ लेखिएको सम्भवतः पहिलो कागज हो यो ।

सन् १७७४ सम्म खम्बूहरू गोर्खालीहरूसँग परास्त भइसकेका थिए । योगी नरहरीनाथ (२०२२) द्वारा सङ्कलित कागजहरूमा वि.सं १९१४ को लडाइँमा लिम्बू र खसहरूले वीरता देखाएवापत खसलाई क्षेत्री बराबर र लिम्बुलाई मासिनेबाट नमासिने जातमा राखेको पाइन्छ । यसको मतलव लिम्बुहरूलाई पनि रणबहादुर शाहकालदेखि जङ्गबहादुरको समयमा मासिने जातमा झारिएको थियो ।

उबेला जातिच्युत हुनु ठूलो अपमान मानिन्थ्यो । सायद जातिच्युत भएका खम्बूहरूलाई खम्बूको नामले गोर्खालीले कहिले पनि सम्बोधन गरेनन् । बरु अमाल लिएर राय (राई) बनाए । असभ्य किराती भने ।

हिजो खम्बू भन्न गोर्खालीको डर थियो । तर, आजका दिनमा पनि केही अगुवा राईहरूले आफु खम्बु भएको थाहा पाएर पनि किरात नै भन्छन् । जस्तो-गोपाल खम्बूले फेरि किराती लेख्न थाले ।

वास्तवमा किरात जाति, भाषा, धर्म केही पनि नभएर आर्यहरूले दिएको नाम मात्र बुझिन्छ । आफूभन्दा बेगल जीवनशैली, शारीरिक स्वरुप, भाषा, संस्कार, संस्कृति बोकेका समूहहरूलाई नै सामुहिकरुपमा किरात भनेर सम्बोधन गरेका हुन् ।

(मुन्धुमविद माबुहाङ तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाका मेयर हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment