Comments Add Comment

राप्रपाका नेता कहाँ चिप्लिए ? अब यसो गरे एकता होला कि ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको टुटफुट र एकताको श्रृङ्खला लामो छ । यसका कारण धेरै छन् । तर, त्यस्तो गम्भीर र आकाश-पाताल नै फरक पर्ने खालका कुनै सैद्धान्तिक र वैचारिक कारणहरु भने छैनन् । मतभेदभन्दा मनभेद नै बढी फुटका कारण बनेका छन् । ती घटनाक्रमहरुले पुष्टि गरिसकेका छन् ।

यहाँ राप्रपाको विगतलाई कोट्याइने छैन । ०६२/०६३ परिवर्तनपश्चात भने राप्रपा नेपाल र राप्रपाबीचमा सैद्धान्तिक र वैचारिक भिन्नता रह्यो । राप्रपा नेपाल र राप्रपाबीच एकता भई काठमाडौंमा सम्पन्न भएको ऐतिहासिक महाधिवेशनले त्यसको निदानसमेत गर्‍यो ।

देशभरका कार्यकर्ताहरुले पार्टीलाई सैद्धान्तिक र वैचारिक रुपमा स्पष्ट मार्गनिर्देशन गर्‍यो । दुर्भाग्य त्यो एकता लामो समयसम्म टिक्न सकेन । जुन विभाजनको पीडा नेता, कार्यकर्ता र सिंगो पार्टीले भोगिरहेको छ ।

पछिल्लो समयमा पुनः सबै राप्रपाबीच एकताको चर्चा परिचर्चा चलिरहेको छ । राप्रपा र राप्रपा (प्रजातान्त्रिक ) बीच औपचारिक अनौपचारिक छलफल, सम्वाद भैरहेको अवस्था छ भने दुवै पक्षका बीच प्रारम्भिक, छलफल, सम्पर्क र समन्वयका निमित्त शीर्षनेताहरुलाई जिम्मेवारी समेत प्रदान गरिएको छ । दुवै पक्षबीच एक चरण वार्ता भएको र वार्ता सकारात्मक भएको समाचार सार्वजनिकसमेत भैसकेको छ ।

पार्टी किन विभाजन भयो ? अहिले हामीले यसलाई धेरै उधिन्ने काम गर्‍यौं भने तिक्तताबाहेक केही प्राप्त हुनेवाला छैन । खाटा बसेको घाँउ कोट्याउनु बुद्धिमानी पनि ठहरिँदैन । फुटबाट शिक्षा लिँदै आगामी दिनमा कहिल्यै नफुट्ने वातावरण सिर्जना गरेर एकता गर्नु नै अहिलेको मूख्य कार्यभार हो । अब हुने राप्रपाबीचको एकतालाई दिगो र चिरस्थायी बनाउन अहिलेको प्रमुख चुनौती हो ।

पञ्चायती पृष्ठभूमिको राजनीतिबाट आएका नेताहरु नै राप्रपाको शीर्षतहमा हालसम्म क्रियाशील छन् । पञ्चायत सिद्धान्त, विचार र संगठन भन्दा पनि दरबारप्रतिको निष्ठा राजनीतिको प्रवल पक्ष रह्यो । पञ्चायतमा जनताबाट अनुमोदित हुने व्यवस्था पनि थियो सँगसँगै आर्शिवादबाट राजनीतिको केन्द्र रहिरहने परिपाटी निकै हाबी थियो । यसले गर्दा जनता र नेताका बीचमा निकै ठूलो खाडल हुन गयो । सैद्धान्तिक निष्ठा, वैचारिक इमान्दारिता र संगठनप्रतिको लगाव औंलामा गन्न सकिने नेताहरुमा मात्रै देखियो ।

यसलाई पञ्चायती पृष्ठभूमिका नेताहरु निकम्मा थिए भन्ने रुपमा नलिइयोस् । पार्टीगत राजनीतिक नगरेपछि यो एउटा असजिलो अभ्यास नै थियो राप्रपाका नेताहरुका निमित्त । पार्टी ठूलो बन्नुपर्छ, विचार स्थापित हुनु पर्छ भन्ने सोच सून्य प्राय देखियो । पार्टी खिइएर जतिसुकै सानो होस्, तर मचाँहि ठूलो हुनुपर्छ भन्ने सोच नै पार्टी निर्माणमा प्रमुख बाधक रहन गयो र हालसम्म यो रोग विद्यमान छ । यसले डरलाग्दो रुपमा जरो गाडेको छ ।

म सानो हुन तयार छु तर पार्टी ठूलो हुुनुपर्छ भन्ने त्यागको भावना कहीँ कतै रहेन । म मरे भने पनि विचार मर्न हुन्न, सिद्धान्त मर्न हुन्न भन्ने भावना एकरत्ति पनि देखिन सकेन । राप्रपाको विचार बोक्ने नयाँ पुस्ताको कसैले चिन्ता लिनेसम्म सोच राखेनन् । दुरर्दर्शिता, चट्टानी दृढता र क्रियाशीलता त रहेन रहेन, नेताहरु राजनैतिक इमानदारिता निर्वाह गर्नबाट पनि चुके ।

०६२/०६३ पश्चात स्याल हुइ्यामा कुद्ने, राप्रपाको मौलिक र विशिष्ट पहिचानलाई तिलाञ्जली दिँदै राजनीतिक भेलबाढी सँगै बगेर जाने गम्भीर भुल र त्रुटी पनि भए । राजनीति सधैं सजिलो र सरल मार्गमा हिँड्दैन । असहजता पनि व्यहोर्नुपर्छ, बाधा व्यवधान पनि सहनुपर्छ । तर, नेताहरुले असहजतालाई व्यहोर्दैं परिस्थितिलाई अनुकुल बनाउने जोखिम मोल्न चाहेनन् ।

अरुलाई परिवर्तन गर्नुको सट्टा आफै परिवर्तित भएर परिवर्तनको जामा भिर्दै सबै हिँडेको सजिलो बाटो हिँड्ने मार्ग अपनाए । जुन ऐतिहासिक भूल थियो । यस विषयमा छुट्टै चर्चा गर्नु सान्दर्भिक हुनेछ । यसको समीक्षा कुनै दिन इतिहासले गर्ला नै ।

पार्टीगत राजनीतिमा राप्रपा आएको २८ बर्ष भैसकेको छ । जुन पार्टी जीवनको निमित्त चानचुने समय होइन । यसबीचमा मुलुकमा र पार्टी जीवनमा धेरै उतार चढावहरु आए । धेरै दुःख र संघर्षका कथाहरु छन् यसमा । नेताहरुका पनि दुःख, पीडाहरु छन् । तर कार्यकर्ताहरुको पीडा पनि नेताहरुको भन्दा कम छैन । यही विचार र सिद्धान्त बोकेका आधारमा धेरै कार्यकर्ताहरुले जीवन गुमाएका छन् ।

घरवारविहीन भएका छन् । विदेशीन बाध्य भएका छन् । अभिभावक र परिवार गुमाएका छन् । जुन कुरालाई पार्टीले गम्भिरतापूर्वक लिन सकेन वा चाहेन ।

राप्रपामा कार्यकर्तामुखी राजनीतिको सर्वथा अभाव रह्यो । कार्यकर्तामुखी र जनमुखी हुनुपर्ने पार्टी नेतामुखी भयो । नीति प्रधान हुन सकेन, नेता प्रधान भयो । संस्कार, व्यवहार र प्रवृत्तिमा कुनै सकारात्मक परिवर्तन आउन सकेन । हठ, कुण्ठा र आत्मरतिको आहालमा नेताहरु चुर्लुम्म डुबे । सरल र सहज हुँदा आफू अपमानित भएको हीन मनोग्रन्थीले काम गर्न थाल्यो, जुन आज पर्यन्त कायम छ ।

असहमतिलाई नेताहरुले कहिल्यै बहसमा ल्याउन चाहेनन्/रुचाएनन् । तर्क, बहस र छलफल गर्नुभन्दा तुरुन्तै छुट्टै चुलोचौको बालेर बस्न रुचाउने प्रवृत्तिलाई मलजल गरियो । पार्टीभित्र आन्तरिक संघर्ष गर्ने विषय कहिल्यै प्राथमिकता परेन । असहमत भएर बस्न नचाहने अनि असहमत पक्षलाई समाप्तै पानुपर्ने किसिमका अतिवादले प्रश्रय पायो, जुन पार्टी निर्माण घातक सावित भयो ।

विसं. ०४६ र ०६२/०६३ पछि नेता, कार्यकर्ता र सिंगो पार्टीले भोगेको पीडाले शीर्ष नेताहरुलाई कहिल्यै छोएन । राप्रपाका नेताहरुमा “इख” भन्ने जिनिस नै रहेन । मुलुकको बलियो प्रजातान्त्रिक शक्ति निर्माण गर्ने दृढता, प्रतिवद्धता, इमान्दारिता र संकल्प प्रदर्शन गर्नबाट नेताहरु चुके । ०५१ को निर्वाचनपछि पार्टीले पाएको अवसर र जनताको विश्वासलाई कायम राख्न सकिएन ।

यी त्रुटी र भुलहरुबाट शिक्षा लिएर अगाडि बढ्नुपर्नेमा गल्तीमाथि गल्ती गर्दै पार्टीलाई संकटको दलदलमा फसाउने काम भयो । जुन काम दशकौं समय राजनीतिमा समर्पण गरेका र अनुभवी भनी मानिए नेताहरुका निमित्त सोभनीय थिएन ।

अबको बाटो

राप्रपाको टुटफुट र व्यक्तिवादी प्रवृत्तिका बारेमा लेख्दा धेरै लामो कथा बन्न सक्छ, जुन वियोगान्त हुनेछ । तर, जति हातको डोरीबाटे पनि गाँठो एउटै भनेझैं इतिहास र वर्तमान भन्दा पनि अबको बाटो के हुने भन्ने संक्षिप्त चर्चा मात्र आजको टिप्पणीमा उठान गर्न खोजिएको हो ।

राप्रपा, राप्रपा (प्रजातान्त्रिक), एकीकृत राप्रपा (राष्ट्रवादी) एक ठाउँमा आउने हो भने अब दुरगामी सोचाइ र फराकिलो छातीका साथ सकारात्मक कोणबाट छलफल र बहस हुन जरुरी छ । देश, जनता, विचार, समृद्धि र भावी पुस्ता केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेछ । लोभ, मोह, कुण्ठा र आत्मरतिले तत्काल भुलभुलैयामा राख्ला, अन्ततोगत्वा पश्चाताप शिवाय केही प्राप्त हुनेछैन ।

सबै एकै ठाउँमा बसेर सम्पन्न भएको ऐतिहासिक केन्द्रीय महाधिवेशन नै एकताको प्रस्थान विन्दु हुनेछ । महाधिवेशनको जगमा टेकेर एकता गर्दै राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने दृढ संकल्पले नै आम कार्यकर्ताको भावनाको सम्मान गर्नेछ ।

नश्वर शरीर एकदिन सबैको सकिन्छ । तर, सम्मानस्वरुप सधैं सम्झना गरिरहुन्, नेतालाई जनता र कार्यकर्ताले श्रद्धा गरुन्, लिएर भन्दा केही दिएर जान सकौं । आदर्श, निष्ठा र इमान्दारिता नेताको मानक बन्न सकोस् । यति त्याग र समर्पण गरेर आफ्नो जीवनकालपछि पनि यो पार्टी, शक्ति र विचार मुलुकको राष्ट्रिय राजनीतिमा सदैव जीवन्त रही रहोस् भन्ने सोच मात्रै राखे पनि राप्रपा बन्छ ।

आदर्शका कुराले मात्र पार्टी चल्न सक्दैन । पार्टी चल्नका निमित्त धेरै पक्षहरुको आवश्यकता पर्छ । तर, एउटा कुरा चाहिँ के निश्चित हो भने आदर्शसहितको राजनीतिले मात्रै आत्मसन्तुष्टि मिल्नेछ । हामीले गर्ने राजनीति निष्ठा, इमानदारीता र आदर्शको होस् ।

नयाँ पुस्ताको एउटा प्रतिनिधिको रुपमा राप्रपाका सबै विभाजित शक्तिहरु एकै ठाउँमा आउन् भन्ने पंक्तिकारको चाहना हो । कसैको भजन वा विरोध होइन । नयाँ पुस्ताको तन्नेरीलाई राप्रपाको विचार बाट नै सवल, समृद्ध र स्वाधिन नेपाल निर्माण गर्न सकिन्छ भन्ने आधार र विश्वास दिलाउने जिम्मेवारी राप्रपाका शीर्ष नेताहरुको हो । नत्र समयले कसैलाई पर्खंदैन ।

छल, कपट र जालझेलले सधैं “रिजल्ट” पनि दिँदैन । मूल्य चुकाउनुको पीडा फुर्सदमा बसेर पछुताउनु मात्र हुनेछ । जो कहलिएका र अनुभवी नेताहरुले नबुझेका पक्कै होवइनन् । आगे नेताहरुकै जो मर्जी ।

(बर्तौला राप्रपाका सहायक महामन्त्री हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment