Comments Add Comment

नेकपाभित्रै यसरी हुर्कियो ‘ओली अधिनायकवाद’

नेताविहीन प्रतिपक्ष, बेलगाम सत्ताको यात्रा


२४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अधिनायकवादी नभएको महिनौंदेखि स्पष्टीकरण दिइरहेका छन् । अधिनायकवाद हटाउन १४ वर्ष जेल बसेको र लोकतन्त्रकै लागि जीवनभर लडेको व्यक्ति अधिनायकवादी हुनै नसक्ने प्रधानमन्त्री ओलीको तर्क छ ।

अर्कोतर्फ, ओली नेतृत्वको सरकार अधिनायकवादी दिशामा अघि बढेको भन्दै विपक्षी कांग्रेस र नागरिक समाजका सदस्यसमेत आन्दोलित हुन थालेका छन् ।

सत्तापक्ष र विपक्षका तर्क-वितर्कले अधिनायकवादको बहसलाई सतकमा ल्याएको छ ।

अधिनायकवादको पक्ष-विपक्षमा वाद-प्रतिवाद भइरहँदा स्वयं ओलीले नेतृत्व गरेको नेकपाभित्रैको एउटा ठूलो समूह ओलीको बचाऊका लागि मैदानमा उत्रिएको छैन । आखिर किन ओलीकै पार्टीका नेताहरु उनको बचाउमा बोलिरहेका छैनन् ? यसो हुनुको कारण हो- पूर्वएमालेमा केपी ओलीले हुर्काएको आन्तरिक अधिनायकवाद ।

आलोचना नसहने, विपक्षीसँग असाध्यै असहिष्णु, घमण्ड गर्ने, अनि प्रशंसाको भोकमा डुबेका ओलीले अहिले सरकारमा त्यही अभ्यास गर्न खोजेेको विश्लेषण नेकपाभित्र हुन थालेको छ ।

नेकपाका केही नेताहरुको विश्लेषण के छ भने केपी ओली अधिनायकवादी बाटोमा अघि बढेको सरकारमा पुगेर मात्रै हैन । एमालेको अध्यक्ष हुँदादेखि नै ओलीले पार्टीभित्र अधिनायकवाद लादिरहेकै थिए । त्यसको मार झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुले भोग्दै आएका थिए/छन् ।

आलोचना नसहने, विपक्षीसँग असाध्यै असहिष्णु हुने, घमण्ड गर्ने, अनि प्रशंसाको भोकमा डुबेका केपी ओली पार्टी जीवनमा अलोकतान्त्रिक भएकाले अहिले सरकारमा उनले त्यही अभ्यास गर्न खोजेेको विश्लेषण नेकपाभित्र हुन थालेको छ ।

आखिर, नेकपाभित्र ‘ओली अधिनायकवाद’ कसरी हुर्कियो ? ओलीले पार्टीभित्र कसरी अधिनायकवादको अभ्यास गरे ?

‘आलोचनात्मक चेत’ को हत्या

तत्कालीन एमाले नेताहरुका अनुसार जतिबेला झलनाथ खनाल पार्टी अध्यक्ष थिए, नेतृत्वको आलोचना खुलेर गर्न पाइन्थ्यो । पार्टी अध्यक्षको आलोचना गर्दा आफ्नो राजनीतिक जीवनमा धक्का लाग्छ कि भनेर कुनै पार्टी सदस्यले डराउनुपर्दैनथ्यो ।

तत्कालीन उपाध्यक्ष एवं वर्तमान राष्ट्रपति विद्या भण्डारीले एउटा बैठकमा तत्कालीन अध्यक्ष खनाललाई ‘गधालाई धोएर गाई हुँदैन’ समेत भनिन् । केहीले ‘तपाईको नाम त झल्लु खनाल हुनुपर्ने हो, कसरी झलनाथ भएछ’ समेत भन्न भ्याए ।

तर, आफ्नो आलोचना भइरहँदा खनाल ती शब्दहरु डायरीमा टिपेर बसेका थिए । उनले न कुनै बैठकमा आफ्नो आलोचना गर्नेहरुको मुख बन्द गर्न खोजे, न त प्रतिशोध साँधेर आलोचकहरुलाई जिम्मेवारीविहीन नै बनाए ।

केही नेताहरुले त झलनाथलाई जिस्क्याउँदै त्यसबेला सोधेेका थिए, तपाईको नाम झल्लु खनाल हुनुपर्ने भनेको कुरा पनि डायरीमा टिप्नुभएको छ कामरेड ?’

खनालभन्दा अघि माधव नेपालको कार्यकालमा पनि केपी ओलीले बेग्लै गुट चलाएर बसेका थिए । त्यसबेला नेता नेपालले पनि अहिलेजसरी पार्टीभित्र निषेधको नीति नपनाएको नेपालनिकट नेताहरुको दाबी छ ।

तर, अहिले केपी ओलीको आलोचना गर्नासाथ पार्टीभित्रै किनारा लाग्नुपर्ने स्थिति भएकाले पार्टीभित्र आलोचनात्मक चेत मर्दै गएको पूर्वएमालेका नेताहरुको गुनासो छ । यो समस्या पार्टी एकता हुनुभन्दा अघि एमालेमा बलियोसँग जरा गाडेको ओलीका ‘प्रतिपक्षी’ कम्युनिष्ट नेता बताउँछन् ।

तर, के पार्टीभित्र आलोचनात्मक चेत मर्दै जानुमा केपी ओली र उनको समूहमात्रै जिम्मेवार छ त ? आखिर प्रश्न उठछ, किन मर्दैछ त नेकपाका नेताहरुमा आलोचनात्मक चेत ? कि प्रधानमन्त्री ओली विगतदेखि नै असहिष्णु एवं अलोकतान्त्रिक स्वाभावका नेता हुन् ?

यसको कारण जान्न ओलीको राजनीतिक ‘करियर’ तर्फ फर्किएर हेर्नुपर्ने हुन्छ ।

चुनावमा टिकट माग्न जाँदा पनि महाधिवेशनमा मलाई भोट दिएका थियौ र ! भन्ने बचन खाएका नेताहरु नेकपामा अझै जिउँदै छन् ।

विगतमा ओली स्वयं आफ्नै पार्टी नेतृत्वको खरो आलोचक थिए । उनको ‘प्रतिपक्षी’ टिमका धेरै नेताहरु पार्टी नेतृत्वमाथि व्यक्तिगत आरोप लगाउनसमेत पछि पर्दैनथे । झलनाथ र वामदेवलाई माओवादीपरस्त भनेर ओलीले सार्वजनिकरुपमै भन्ने गरेका थिए ।

तर, जब नवौं महाधिवेशनबाट उनी एमालेको अध्यक्षमा निर्वाचित भए, नेतृत्वको आलोचना नेताहरुकै लागि प्रत्युपादक हुन थाल्यो । ज-जसले ओलीसँग फरक मत राखे, उनीहरुले जिम्मेवारी पाउन छाडे । कतिसम्म भने ओलीजस्तै पार्टी कार्यकर्ताको भोट पाएर उपमहासचिव बनेका धनश्याम भुसाललाई समेत ठोस जिम्मेवारी दिइएन ।

चुनावमा टिकट माग्न जाँदा पनि महाधिवेशनमा मलाई भोट दिएका थियौ र ! भन्ने बचन खाएका नेताहरु नेकपामा अझै जिउँदै छन् । सिन्धुलीका सांसद गणेश पहाडीले केन्द्रीय सदस्य हुँदाहुँदै टिकट पाउन निकै पापड बेल्नुपर्यो । युवा नेताहरु ठाकुर गैरे, विजय पौडेल जस्ता नेताहरु उम्मेदवार बन्न सकेनन् । एक नेता भन्छन्, ‘असाध्यै बाध्यताबाहेक कसैलाई पनि राम्रो जिम्मेवारी दिइएन ।’

नेकपाका केही नेताहरुको दाबी के छ भने हिजो एमालेमा ओलीले अध्यास गरेको यही असहिष्णु शैली अहिले सत्तामा सरेको छ ।

नेताविहीन ‘प्रतिपक्ष’

कम्युनिष्ट नेताहरुले गुट चलाउँदा भन्छन्, ‘अभिव्यक्तिमा स्वतन्त्रता, काम कारवाहीमा एकरुपता’ अर्थात पार्टीभित्र आफ्नो विचार राख्न पाइन्छ तर, पार्टीले निर्णय गरेपछि त्यसलाई सबैले मान्नुपर्छ ।

तर, पछिल्लो समय नेकपाभित्र अभिव्यक्ति स्वतन्त्रतामा केपी ओली पक्षको ‘सेल्फ सेन्सर’ लागेको देखिन्छ । बन्द कोठामा नेताहरु सरकारको काम कारवाही अनि मन्त्री तथा प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गर्छन्, तर, सार्वजनिक फोरमहरुमा बोल्न सक्दैनन् ।

यसको कारण ओली असहिष्णु हुनु मात्र होइन, नेकपाभित्र ‘प्रतिपक्षी’ नेता नहुनु पनि हो ।

जतिबेला माधव नेपाल, झलनाथ खनालहरु नेतृत्वमा थिए, ओलीले विपक्षी गुट चलाए । उनी गुटको संरक्षण गर्थे, आफ्नाहरुको संरक्षणका लागि उनी नेतृत्वसँग लड्थे ।

तर, जब ओली पार्टीको नेतृत्वमा आए, उनीसँग चुनाव लडेका माधवकुमार नेपाल मात्र होइन, झलनाथ खनानल पनि विपक्षी नेता बन्न सकेनन् ।

माधव नेपाल पछिल्लो समय ‘फरक मतका नेता’ नभएर ‘ओलीका सहयोगी नेता’ जस्ता बनेका छन् । खनालको बरियता खोसेर आफूलाई दिएपछि उनमा ओलीसँगै मिलेर नेकपाको अध्यक्ष बन्ने मोह जागेको छ ।

प्रचण्ड पनि अहिले ओलीसँग लड्ने मुडमा देखिएका छैनन् । केपी ओलीविरोधी जनमत आफूसँग नजिक होस् भन्ने चाहन्छन् तर, भोलिको प्रधानमन्त्री र पार्टी अध्यक्ष पदका लागि प्रचण्ड ओलीलाई पनि चिढ्याउन चाहँदैनन् ।

झलनाथ क्रमशः शारीरिक रुपमा धेरै सक्रिय हुन नसक्ने अवस्थामा पुगेकाले उनीबाट प्रतिपक्षीको भूमिका अब सम्भव देखिँदैन । वामदेव गौतम संसदीय दलको नेतामा ओलीले दिएको घोका र चुनावमा भएको अन्तरघातबाट आहत भएर मौनब्रतमा बसेका छन् ।

पार्टी एकतापछि नेकपाका कतिपय नेताहरुले पुष्पकमल दाहाल प्रचण्डबाट ‘फरक मतका नेता’ को भूमिका निर्वाह हुने आश गरेका थिए । माओवादी अध्यक्ष रहँदा थुपै्र मुद्दाहरुमा ओलीलाई टक्कर दिएका प्रचण्डलाई एमालेको एउटा समूहको पनि भित्री साथ र आश थियो ।

तर, प्रचण्ड पनि अहिले ओलीसँग लड्ने मुडमा देखिएका छैनन् । केपी ओलीविरोधी जनमत आफूसँग नजिक होस् भन्ने चाहन्छन् तर, भोलिको प्रधानमन्त्री र पार्टी अध्यक्ष पदका लागि प्रचण्ड ओलीलाई पनि चिढ्याउन चाहँदैनन् । प्रचण्डको यही मध्यमार्गी नीतिले गर्दा नेकपाभित्र यतिबेला प्रतिपक्षी नेताको अभाव खड्किएको छ ।

जसरी देशमा लोकतन्त्रका लागि बलियो प्रतिपक्ष चाहिन्छ, त्यसैगरी अन्तरपार्टी जनवादका लागि पार्टीभित्र वैकल्पिक नेतृत्व र वैकल्पिक विचार शक्तिशाली हुन जरुरी छ ।

पार्टीमा जस्तै सरकारमा हालीमुहाली

ओलीले पार्टीलाई सामुहिक नेतृत्व प्रणालीअनुसार नचलाएको गुनासो माधव नेपाल पक्षका नेताहरुले चुनावअघिसम्म गर्दै आएका थिए । तर, ओलीले जब प्रधानमन्त्री बन्ने मौका पाए, उनले पार्टीलाई लोकतान्त्रिक ढंगले चलाउनु त परै जाओस्, सरकार सञ्चालनसमेत व्यक्तिवादी शैलीमा चलाउने अभ्यास सुरु गरे ।

जब ओली प्रधानमन्त्री भए, उनले देशभरको सूचना कहाँबाट आउँछ भनेर हेरे । त्यसरी सूचना आउने राष्ट्रिय अनुसन्धानलाई गृहमन्त्री बादलको क्षेत्रधिकारबाट तानेर आफ्नै मातहतमा ल्याए ।

त्यसैगरी सरकारलाई पैसा कहाँबाट आउँछ ? राजस्वबाट । त्यसपछि उनले राजश्व अनुसन्धानलाई आफ्नो मातहतमा ल्याए । आफ्ना मान्छेलाई जोगाउन र अरुलाई डाम्न मिल्ने संयन्त्र के छ भनेर उनले खोजे । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागलाई आफ्नो मातहतमा ल्याए ।

यसरी प्रधानमन्त्री ओलीले आफूकेन्द्रित व्यक्तिवादी कार्यशैलीलाई पार्टीबाट क्रमशः सरकार सञ्चालनमा भित्र्याए ।

प्रधानमन्त्री ओलीले सल्लाहकारहरु पनि प्रश्नै गर्न नसक्नेहरुलाई राखेका छन् । यसैले उनीहरु ओलीले कुनै गलत कदम चाल्दैछन् भन्ने थाहा भए पनि सच्याउने प्रयत्न गर्न सक्दैनन्, ओलीको बोलीमा लोली मात्र मिलाउँछन् ।

‘अब केपी ओली बेलगाम यात्राबाट फर्कनु अनिवार्य छ’ नेकपाका एक नेता भन्छन्, ‘तर, हाम्रो चिन्ता त्यो दिन पार्टी रहन्छ कि रहँदैन भन्ने हो ।’

फलतः प्रधानमन्त्री ओली विगत चार महिना यता क्रमशः अलोकपि्रय हुँदै जान थालेका छन् । पार्टी सञ्चालनमा समेत लोकतान्त्रिक हुन नसकेका उनी सरकार सञ्चालनमा असहिष्णु, दम्भी र अधिनायकवादी स्परुवमा देखा पर्न थालेका छन् ।

कहिले होला बेलगाम यात्राको अन्त्य ?

भारतीय नाकाबन्दीविरुद्ध लिएको अडानले केपी शर्मा ओलीले राष्ट्रवादी नेताको छवि बनाए । आम जनताले समकालीन नेताहरुमध्ये उनलाई नै रुचाए । त्यही बलमा एमाले र माओवादीको वाम गठबन्धनले आमचुनाव जित्यो र ओली शक्तिशाली प्रधानमन्त्री भए ।

नेकपाका एक नेताका अनुसार प्रधानमन्त्री केपी ओली अहिले आफ्नो बेलगाम यात्राको ‘क्लाइमेक्स’मा पुगेका छन्, जसको ‘फल डाउन’ अवश्यंभावी छ ।

ओलीको अधोयात्राका संकेतहरु पनि देखिन थालेका छन् । प्रधानमन्त्री ओलीको प्रशंसा गर्दागर्दै पनि सत्तारुढ दल नेकपाकै सांसदहरुले बजेटको चर्को आलोचना गर्न पुगे । नेकपाको पछिल्लो स्थायी कमिटीको बैठकमा पनि धेरै नेताहरुले सरकारको कामकारबाहीबारे खुलेर प्रश्न उठाए । यद्यपि पार्टीका अर्का अध्यक्ष प्रचण्डले यसबारे समीक्षाका लागि छुट्टै बैठक बोलाउन बताएपछि केही रोकिएको छ ।

माइतीघर मण्डला लगायतका स्थानमा जारी गरिएको निषेधाज्ञा, डा. गोविन्द केसीको आमरण अनसन र विवादास्पद चिकित्सा शिक्षा विधेयकलाई लिएर पार्टीभित्र मात्र होइन, बाहिर पनि सरकारविरोधी जनमत बन्न थालेको छ ।

‘अब केपी ओली बेलगाम यात्राबाट फर्कनु अनिवार्य छ’ नेकपाका एक नेता भन्छन्, ‘तर, हाम्रो चिन्ता त्यो दिन पार्टी रहन्छ कि रहँदैन भन्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment