Comments Add Comment

‘मेस्सीलाई त रोक्यौं, केनलाई किन नसक्नु ?’


काठमाडौं । क्रोएसियाका प्रशिक्षक लाट्को डालिक लिओजल मेस्सीलाई रोक्न सफल भएको आफ्नो टिमले ह्यारी केनको सामना गर्न सक्ने बताएका छन् ।

रुस विश्वकपको फाइनलमा स्थान बनाउन बुधबार मस्कोमा क्रोएसिया र इंग्ल्याण्ड भिड्दैछन् ।

डालिकले सर्वाधिक गोलकर्ता ह्यारी केन र राहम स्टर्लिङलाई आफ्नो टिमका लागि खतरा मानेका छन् ।

तर, आफ्नो क्षमतामा विश्वास गर्ने इंग्ल्याण्डसँग नडराउने उनले बताएका छन् । ‘उनी (केन) टप स्कोरर हुन् र उनलाई रोक्न सहज छैन’ डालिकले भने, ‘तर, हामीसँग उत्कृष्ट सेन्टर ब्याक छन् । हामी मेस्सी र क्रस्टियन एरिक्सनलाई रोक्न सफल भयौं । त्यसैले केनलाई पनि रोक्नमा आशावादी छौं ।’

केनले ६ गोल गर्दा स्टर्लिङले एक गोल पनि गरेका छैनन् । स्वीडेनविरुद्ध क्वार्टरफाइनल खेल्दा पनि वान भर्सेस वानको मौका गुमाएका उनको आलोचना भएको छ ।

इंग्ल्याण्डको बलियो र कमजोर पक्ष सोधिएको प्रश्नमा अक्टोबरबाट मात्र क्रोएसियाको टिम सम्हालेका ५१ वर्षीय डालिकले भने, ‘प्रष्ट कमजोरी म केही भन्दिनँ । उनीहरु सेमिफाइनलमा छन्, त्यति हो ।’

‘अहिलेसम्मको खेल हेर्दा उनीहरु सिधा फुटबल खेल्छन् र निकै तीव्र छन् ।’

इंग्ल्याण्डका धेरै खेलाडी कर्नरमा डरलाग्दो हुने भन्दै उनले भने, ‘राहम स्टर्लिङ महत्वपूर्ण खेलाडी हुन् किनकी उनी निकै छिटो छन् र ह्यारी केनसँग उनको तालमेल निकै डरलाग्दो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment