Comments Add Comment

फर्नान्डिन्होमाथि रंगभेदी दुव्र्यवहार नगर्न अपील

काठमाडौं । बेल्जियमसँग २–१ को हार बेहोर्दै ब्राजिल क्वाटरफाइनलबाट बाहिरिएपछि मिडफिल्डर फर्नान्डिन्होलाई समर्थकहरुले रंगभेदी गालीगलौज र धम्की दिन थालेपछि ब्राजिल फुटबल फेडेरेसनले त्यसको निन्दा गरेको छ ।

उसले समर्थकहरुलाई फर्नान्डिन्हो माथि अपमानजनक र रंगभेदी दुव्र्यवहार नगर्न आग्रह गरेको छ ।

म्यानचेस्टर सिटीका मिडफिल्डरल १३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यसपछि केभिन डि ब्रुयनले अर्को गोल गर्दै बेल्जियमलाई दुई गोलको अग्रता दिलाएका थिए ।

ब्राजिल विश्वकपबाट बाहिरिनुमा फर्नान्डिन्होको मुख्य दोष रहेको भन्दै समर्थकहरुले सामाजिक सञ्जालमा उनको आलोचना र रंगभेदी दुव्र्यवहार गरेका छन् ।

आइतबार ब्राजिलको फुटबलको माथिल्लो निकायले इन्स्टाग्राममा एक विज्ञप्ती पोस्ट गर्दै खेलाडीको बचाउ गरेको छ ।

फेडेरेसनले लेखेको छ, ‘सिबिएफले फर्नान्डिन्हो र उनको परिवारमाथि भएका रंगभेदी आक्रमणको निन्दा गर्छ । फुटबलले विभिन्न वर्ण, सम्प्रदाय, सँस्कृति र मानिसहरुको प्रतिनिधित्व गर्छ, हामी तिमीसँगै छौं । रंगभेद स्विकार्य छैन ।’

इन्टरनेटमा प्रिमियर लिगका स्टारलाई बाँदरसँग तुलना गर्दै उनको मजाक उडाइएको छ ।

कसैले उनीमाथि ज्यान मार्ने धम्की पनि दिएका छन् । यतिमात्रै होइन, उनको परिवारलाई पनि अपमानजनक गालिगलौज गरिएको छ । खेलाडीकी पत्नी रोसा ग्लाउसियाको इन्स्टाग्राममा यस्तै खालका धेरै सन्देशहरु पठाइएका छन् ।

यसैगरि फर्नान्डिन्होकी आमाले अपमानजनक प्रतिक्रियाहरुको बाढी आएपछि आफ्नो इन्स्टाग्राम नै बन्द गरेकी छिन् ।

तर, केहि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने फर्नान्डिन्होको बचाउ गरेका छन् । उनीहरुले यस्ता रंगभेदी सन्देशहरु नगर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment