Comments Add Comment

मेरो जटिल शल्यक्रियाः चौथो पटक सिजेरियन र पाठेघर वाहिरको गर्भ

सानो छँदा हामी भन्ने गथ्र्यौं, ‘म डाक्टर बन्छु ।’

कुनैपनि बच्चालाई ‘के बन्छौं’ भनेर सोधियो भने उनीहरुले दिने जवाफ हुन्छ, ‘डाक्टर ।’ कसैले ‘म पाइलट बन्छु’ भन्न सक्छन् । कसैले ‘म त इन्जिनियर बन्ने’ भन्न सक्छन् । यसको पछाडि हाम्रो सामाजिक मनोविज्ञान कस्तो छ भनेर थाहा पाउन सकिन्छ । हामी भविष्यको सुरक्षा खोज्छौं । र, सुरक्षित भविष्यका लागि ‘डाक्टर’ राम्रो विकल्प हो । संभवत मलाई पनि मनोविज्ञानले यो क्षेत्रतर्फ तान्यो ।

यद्यपी सानो छँदा हामी ‘म भविष्यमा डाक्टर बन्छु’ भनेर जति फुर्तिसाथ भन्ने गथ्र्यौं, यो पेशा अपनाइसकेपछिका जटिलता र चुनौति उत्तिनै गाह्रो रह्यो । मेरो यो भनाईको आशय डाक्टर बन्न चाहनेहरुलाई कुनै ठेस पुर्‍याउनु होइन । बरु, बाहिरबाट यो पेशा जति सुकिलो-मुकिलो, जति आकर्षक, जति लोभलाग्दो  देखिन्छ यसको अन्र्तकथा फरक छ भन्न मात्र खोजेको हुँ ।

म डाक्टर भएँ । थुप्रै अस्पतालमा काम गरें, गरिरहेकै छु । खासगरी महिला तथा प्रसूति रोग विशेषज्ञको रुपमा मैले देखें, भोगेका कुरा यहाँ साझेदार गरेको छु ।

विश्वासको दवाव

तेह्रथुम, जहाँ मैलें धेरै जटिल शल्यक्रिया गरेको छु । त्यो पनि सीमित स्रोत, साधनको भारमा ।

पहाडी र दुर्गम क्षेत्र भएकाले त्यहाँ भनेजस्तो सुविधा थिएन । न बल्डबैंक थियो, न आधुनिक शल्यकक्ष । आई.सि.यु वा राम्रो मोनिटरिङ -निगरानी) कक्ष केहीपनि थिएन ।

यस्तोमा शल्यक्रिया गरेर आमा र बच्चा दुबैलाई सकुशल राख्न सक्नु ठूलो चुनौती हो । मैले यस्ता थुप्रै चुनौती पार गर्नुपर्‍यो । एक, दुई होईन एक दर्जन भन्दा बढी शल्यक्रिया गरेको थिएँ ।

कहिले काहीँ त के भइदिने भने, शल्यक्रिया गर्दागर्दै बिजुली जाने । अब के गर्ने ? उपाय त खोज्नुपर्‍यो । टर्च लाइट बालेर शल्यक्रिया गरियो ।

एक पटक आङ खसेको शल्यक्रिया शिविरमा आमा र उनका दुई छोरीहरुको एउटै शल्यटेवलमा शल्यक्रिया गर्नुपर्ने भयो । छोरीहरुको आङ खसेर शल्यक्रिया गर्ने बेला सम्म पनि आमा पीडित भएकाले शल्यक्रिया गर्ने अवसर पाएकी थिईनन् । त्यस्तै एउटी आमाको पाठेघरमा ३ किलोको एजेरु ९फाईबराईड० शल्यक्रिया गरेर निकाल्नु परेको थियो । ३ किलोको एजेरु निकाल्नु सहज थिएन, तर सहजतापुर्वक ती कामहरु गर्यौ ।

अस्पताल आउने हरेक बिमारीका पिडा फरक फरक हुन्छन् अनि गम्भिर पनि हुन्छन् । अस्पताल पुर्‍याए पछि बिमारी बाच्छन् भन्ने विश्वास हुन्छ । तर सधै त्यो विश्वास पुरा गर्नु हाम्रा लागि चुनौतीपुर्ण हुन्छ । यस्ता चुनौतीहरु गनेर साध्य हुदैन ।

कहिले डेलिभरी गर्ने क्रममा पाठेघर फुटेर, कहिले अत्याधिक रक्तश्राव भएर, कहिले गर्भ नरहेर, कहिले नचाहिएको गर्भ रहेर जस्ता अनेक समस्याहरुको समाधान र उपचार गर्नु पर्ने हुन्छ । कहिले त अभावहरुको बिचमा पनि उपचार गर्नु पर्ने हुन्छ ।

अनिच्छित गर्भको पीडा

मधुमेहका कारण दोस्रो गर्भ गुमाएकी संगिता चौधरी अस्पताल आएकी थिइन्, व्यथाले च्यापेपछि । घटना दुई बर्षअघिको हो ।

अस्पताल पुगेपछि थाहा भो, उनको रगतमा ग्लुकोजको मात्रा अत्याधिक छ । रक्तचाप पनि उस्तै बढेको छ । गर्भमा रहेको बच्चाको धड्कन पनि तिब्र छ । उनको तत्काल शल्यक्रिया गर्नुपर्ने भयो । निकै मेहनतले आमालाई बचाइयो । गर्भको बच्चालाई बचाउन सकिएन ।

पछि के भइदियो भने, उनै सुत्केरीको घाउ पाकेर डरलाग्दो भयो । उनी लामो समय अस्पताल बसेर घर गइन् । तर त्यो पीडा आलो छँदै उनको अर्को गर्भ रह्यो ।

बच्चा जन्माउने रहर हरेक आमालाई हुँदो हो । आफ्नै गर्भमा हुर्किएको बच्चालाई काखमा राखेर खेलाउने चाहना सबैलाई हुँदो हो । तर, आफ्नो चाहनाले मात्र सबै कुरा हुँदैन । संगीताको हकमा त्यस्तै थियो वा थिएन ? केही भन्न सकिदैन । तर, दोस्रो पटक उनको जुन गर्भ रह्यो, त्यसले अघिल्लै दसा बल्झन्छ भन्ने कुराले उनलाई बढी डर थियो । किनभने दोस्रो पटकको गर्भमा पनि उनमा केही जटिलता थिए ।

तेह्रथुम, जहाँ न बल्डबैंक थियो, न आधुनिक शल्यकक्ष । आई.सि.यु वा राम्रो मोनिटरिङ -निगरानी) कक्ष केहीपनि थिएन । यस्तोमा शल्यक्रिया गरेर आमा र बच्चा दुबैलाई सकुशल राख्न सक्नु कति चुनौतीपूर्ण थियो ?

उनको शरीरमा ग्लूकोजको मात्रा अत्याधिक थियो । अर्थात जेष्टेसनल डाइबिटिजको समस्या । उनले गर्भपतन गराउन चाहिन् । करिब ७ महिनाअघि इटहरीको पशुपति मोडल अस्पतालमा उनीसँग भेट भयो ।

मैलें उनको सबै पुरानो रिपोर्ट हेरें । नयाँ परीक्षण पछि गर्भ राख्ने सल्लाह दिएँ । महिना पुगेपछि उनी मोरङ सहकारी अस्पतालमा आइन् । उनले छोरा जन्माइन् । सग्लो छोरो । आमालाई पनि केही भएन । त्यही दिन फेरी गर्भ नरहने गरी स्थायी बन्ध्याकरण पनि गरियो ।

यसका लागि संगिताले निकै धैर्य, मेहनत र नियमित परिक्षणमा रहिन् । बच्चा राम्रो नहुने हो कि भन्ने डर पालेर, बिहान-बेलुका ईन्सिुलिन सुई लिएर ७ महिना सम्म मेरो विश्वासमा यो दिनको प्रतिक्षा गर्नु सायद सजिलो काम थिएन । अन्ततः गर्भको अवधि ३९ हप्ता भए पछि सिजरियन गरेर अन्तिम सन्तानका रुपमा छोरा पाईन् ।

 गर्भ होइन ट्युमर पो रहेछ

सुनसरीको बराह नगरपालिका ३ की ३० बषिर्या ईन्दिरा राईको पेट क्रमस बढ्दै गयो । यसरी पेट बढ्दै गएपछि सुरुमा उनले गर्भ रहेको ठानिन् । तर, त्यसले गर्भ रहेको जस्तो संकेत देखिएन ।

उनी अस्पताल आइन् । परीक्षण गर्दा थाहा भयो, उनमा सिष्टोएडिनोमा’ अर्थात एक किसिमको अण्डासयको ट्युमर भएको रहेछ । ट्युमरको आकार निकै ठुलो भएकाले शल्यक्रियाका लागि उनी निकै अत्तालिएकी थिइन् । उनको पुस ६ गते २०७४ मा शल्यक्रिया गरियो । ७ केजी पाँच सय ग्रामको ट्युमरको सफल शल्यक्रिया भयो । भाग्यवस् त्यसमा क्यान्सर देखिएन । त्यसबेला उनको अनुहारमा जुन खुसी पोतियो, त्यसले मलाई पनि अपार आनन्द दिलायो ।

सातौ गर्भ, चौथोे सिजेरियन

सामान्यत के भनाई छ भने, सिजेरियन गर्नु त्यती राम्रो होइन । हाम्रो प्रयास पनि सकेसम्म प्राकृतिक रुपमै बच्चा जन्माउन सहयोग गर्नु हो । तर, कतिपय प्राविधिक जटिलताले गर्दा सिजेरियन गर्नुपर्ने हुन्छ ।

सिजेरियन एक वा दुई पटक मात्र गर्नुपर्छ भनिन्छ । तर, एक महिलाको हामीले चौथो पटक सिजेरियन गरायौं । ३२ बषिर्या रामबती यादव -नाम परिवर्तन) को सातौ गर्भ थियो त्यो ।

पहिलो पटक बच्चा ठूलो भएकाले सिजरियन गर्नुपरेको रहेछ । दोस्रो पटकको गर्भ बच्चा सानो रहेकोले गर्भपतन गरिन् । तेस्रो गर्भ फेरी सिजरियन गरिन् । चौथो र पाँचौ गर्भ गुमाएकी उनी छैठौं गर्भबाट भने बच्चा जन्माउन सफल भइन् । र, सातौं पटक पनि गर्भ रह्यो । यो पटक उनले सिजेरियन गर्नुपर्‍यो । यो कामको जिम्मा मेरै भागमा आइलाग्यो ।

उनको छैठौं गर्भ ४ बर्ष अघि सिजरियन गरेकी थिईन । त्यसकारण पनि उनको सातौ गर्भको चौथो सिजरियन त्यती सजिलो थिएन । पटक-पटकको शल्यक्रियाले भित्री तहहरु टासिएर पाठेघर चिर्न नै गार्‍हो हुने सम्भावना थियो । त्यसमाथि उनको मोटो शरीर मलाई डर लागिरहेको थियो ।

तर, यसपटक उनको छोरो भयो । शल्यक्रिया सफल भयो । फेरी गर्भ नरहोस् भनेर उनको परिवार नियोजन गरिदिएँ ।

पाटेघरबाहिर गर्भ रहेपछि

ईटहरी १० की ३२ बषिर्या बिना चौधरीलाई बिहान एक्कासी पेट दुख्न थाले पछि स्थानिय अस्पतालमा उपचारका लागि गईन् । परिक्षण गर्दा थाहा भो, उनको गर्भ रहेछ । समान्यत गर्भ रहँदा पेट दुख्दैन ।

उनलाई बिराटनगरको अस्पतालमा रिफर गरिएछ । हामीकहाँ आइपुग्दा उनी अचेत थिइन् । उनको नाडीको गति निकै मन्द थियो । रक्तचाप घटिसकेको थियो । पेट फुलेको थियो, रगतमा हेमोग्लाबिनको मात्रा ५ देखाए पनि आँखा सेतो भईसकेको थियो ।

अब के गर्ने ? धर्मसंकट थियो ।

शल्यक्रिया गरौं त अवस्था जटिल छ । नगरौं त पेशागत धर्मले मान्दैन । आँखै अगाडि कसैको लाचार मृत्यु कसरी हेर्ने ?

उनको आफन्तसँग सल्लाह गरेपछि हतार हतार शल्यक्रिया गरियो ।  उनको गर्भ अण्डबाहिनी नली -फलोपियन ट्युब) मा रहेको र सो फुटेर पेट भित्रै २ लिटर भन्दा बढि रगत जम्मा भएको थियो । शल्यक्रिया गर्दैगर्दा उनलाई एक पोका रगत चढायौ र जम्मा ७ पोका रगत दिनु पर्‍यो । अन्नतः पाँचौ दिन नै उनी राम्रो अवस्थामा घर र्फकन सक्ने भईन ।

मुटुको रोगीको गर्भ रहेपछि

केहि समय अगाडि मात्र मुटुको शल्यक्रिया गरेर वारफारिन नामक औषधि खाईरहेको एक ३० बषिर्या गृहणी, जसको गर्भ रहयो ।

मुटुको भल्भको शल्यक्रिया गरेको ३ महिना बल्ल पुगेको अवस्थामा बच्चा पाउन सल्लाह दिन पनि गार्‍हो अनि गर्भपतन गराउदा पनि वारफारिन भन्ने औषधिका कारण अत्याधिक रक्तश्राव हुने डर त्यसमा पनि मुटुका बिमारी । अवस्था सामान्य थिएन ।

दम्पति बच्चा राख्न राजी थिएनन् । अरु अस्पताल पनि जान मञ्जुर भएनन् । बाध्य भएर मैले गर्भपतन गराइदिए । यो निकै अप्ठ्यारो त छँदै थियो, म पनि निकै डराएको थिएँ । गर्भपतनपछि कपर टि राखिदिएँ । त्यसपछि मैले चैनको सास फेरें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment