Comments Add Comment

थिएरी हेनरीलाई गलत सावित गर्न चाहन्छु : जिरउड

२५ असार, काठमाडौं । जतिबेला फ्रान्सका फरवार्ड ओलिभर जिरउड आर्सनलमा तीव्र आलोचना खेपिरहेका थिए, थिएरी हेनरीको उपहासपूर्ण आवाज उनको कानमा ठोक्कियो ।

‘के तपाईले जिरउडलाई टिममा राखेर लिग जित्न सक्नुहुन्छ ?’ हेनरीले भन्दै थिए, ‘मलाई यस्तो लाग्दैन । उनले काम त गर्छन् र राम्रो खेल्छन् तर तपाईले लिग जित्न सक्नुहुन्न ।’

जिरउडले हेनरीको प्रतिक्रिया ‘क्रुर’ भन्दै यसले आफ्नो भावनामा गहिरो चोट पुर्‍याएको बताएका थिए । उनले भनेका थिए, ‘जब तपाईले दैनिक गर्ने कार्यमाथि कसैले प्रश्न गर्छ, त्यतिबेला अलिक असहज त लागिहाल्छ नि ।’

हेनरीले भनेका थिए, ‘तपाईले उनीसँग एफए कप चाहिा जित्न सक्नुहुन्छ ।’

हुन पनि त्यस्तै भइरहेको छ । जिरउडले आर्सनलमा बिताएका ६ वर्षमा तीन एफए कप जिते भने गत वर्ष चेल्सी गएर पनि एफए कपको उपाधि उचालेका छन् ।

अघिल्लो सिजन इमिरेट्सको बेञ्चमा राखिन थालेपछि उनी चेल्सी गएका थिए, जहाँ अल्भारो मोराटा आउनु अघिसम्म उनले पहिलो रोजाईको सेन्टर फरवार्डको रुपमा खेले ।

जिरउड विश्वकपमा फ्रान्सको राष्ट्रिय टिममा परे भने मोराटा स्पेनी टिममा परेनन् ।

आर्सनलका अलेक्जान्डर लाकाजेटेलाई छाड्दै डिडियर डेसच्याम्सले जिरउडलाई आफ्नो टिममा राखे ।

रुस विश्वकपमा अष्ट्रेलियासँगको पहिलो खेलमा उनी बेञ्चमा राखिएका थिए । त्यसपछिका खेलमा भने उनी आएपछि फ्रान्सले उत्कृष्ट खेलेको छ भने किलियन एम्बाप्पे र एन्टोनी गि्रजम्यानलाई पनि दबाव अलि कम भएको छ ।

डेसच्याम्सको टिमले उत्कृष्ट खेल्दै अर्जेन्टिना र उरुग्वेजस्ता बलिया टिमलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब उनीहरुले सेमिफाइनलमा बेल्जियमको सामना गर्दैछन्, जहाँ फ्रान्सका लेजेण्ड हेनरी प्रशिक्षण टिममा छन् । जिरउडको लागि भने केही उत्प्रेरणाको जरुरी छ । अब प्रश्न उठ्छ, ‘के तपाईले उनको साथमा विश्वकप जित्न सक्नुहुन्छ ?’

खासमा जिरउडलेे देशको लागि खेलेको ६ खेलमा एक गोल पनि गर्न सकेका छैनन् । उनले भने, ‘मलाई पनि गोल गर्न मनलाग्छ त, र अरुलाई अवसर बनाइदिन खुसी लाग्छ । म आफूले गोल गर्न भन्दा पनि टिमले राम्रो गरोस भन्ने सोच्छु ।’

‘यदि मैले कुनै गोल नगरे पनि हामी विश्वकप विजेता भयौं भने म धेरै खुसी हुन्छु । यसको अर्थ यदि म मैदानमा हुँदा प्रशिक्षकले मैले टिमको लागि कति दिएको छु भन्ने मुल्याङ्कन गरुन् भन्ने हो र यो नै मुख्य कुरा हो’ उनले भने ।

सन् १९९८ मा फ्रान्सले विश्वकप जितेको जतिबेला स्ट्राइकर क्रिस्टोफ डुगरेले एकमात्रै गोल गरेका थिए भने अर्का स्ट्राइकर स्टेफन गुइभार्कले गोल नै गरेनन् । जिरउडले यसलाई सम्झिँदै भने, ‘हेनरीलाई पनि थाहा छ ।’

हेेनरी त्यस टिममा युवा विङ्गर थिए भने डेसच्याम्स उक्त उत्कृष्ट टिमको क्याप्टेन थिए ।

जिरउडले गोल नगरे पनि टिमको लागि गरेको योगदानको भने डेसच्याम्स खुलेर प्रशंसा गर्छन् । उनी भन्छन्, ‘ओलिभरले अहिलेसम्म गोल त गरेका छैनन् तर, म भन्छु उनी हाम्रो खेल शैलीको लागि महत्वपूर्ण छन् र उनले गोलको लागि सहयोग गरेका छन् ।’

‘हामीलाई खेलमा यस्तो सहयोग आवश्यक पर्छ । उनले गोल गरेमा अझै राम्रो हुन्छ तर, उनी स्वार्थी छैनन् र उनी नजिकै भएका अरु खेलाडीलाई त्यसको फाइदा भएको छ’ डेसच्याम्सले भने, ‘उनको त्यस्तो आफ्नै गजबको शैली छैन तर, टिमलाई उनको खाँचो छ उनले गोल नै नगरेपनि अवसरहरु सिर्जना गर्छन् ।’

‘म थिएरी हेनरीलाई गलत सावित गर्न चाहन्छु र उनले गलत ठाउँ रोजे भन्ने देखाउन चाहन्छु’ जिरउड भन्छन्, ‘मलाई उनी हामीसँगै भएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ । उनले हामी र अन्य फ्रान्सेली खेलाडीलाई आफ्नो ज्ञान दिएको हुन्थ्यो तर, म इर्ष्यालु छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment