Comments Add Comment

सबै स्थानीय तहमा बैंक पुर्‍याउने सरकारी योजना असफल

अझै पुगेन २०३ स्थानीय तहमा बैंकिङ सेवा

२५ असार, काठमाडौं । संघीय संरचनाअनुसार गठन भएका ७५३ वटै स्थानीय तहमा चालु आर्थिक वर्षको असार मसान्तभित्रै वाणिज्य बैंकका शाखाहरु पुर्‍याउने राष्ट्र बैंकको योजना थियो । तर, चालु आर्थिक वर्षभित्रै बैंकिङ सेवा पुर्‍याउने राष्ट्र बैंकको योजना असफल भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । चालु आर्थिक वर्ष सकिनै लाग्दासमेत वाणिज्य बैंकहरुले अझै २ सय भन्दा बढी स्थानीय तहमा शाखा खोल्न सकेका छैनन् ।

वाणिज्य बैंकहरुले सबै स्थानीय तहमा असार मसान्तभित्रै शाखा खोल्न नसक्ने भएपछि राष्ट्र बैंकको योजना विफल भएको हो । चालु आर्थिक वर्ष सकिन केही दिनमात्रै बाँकी रहेकाले यस वर्ष योजना अनुसार सबै स्थानीय तहमा शाखा खोल्न असम्भव रहेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।

कुल ७५३ स्थानीय तहहरु मध्ये हालसम्म ५ सय ५० स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा पुगेको प्रवक्ता पौडेलले जानकारी दिए ।
राष्ट्र बैंकले असारमसान्तभित्रै सबै स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको भए पनि विभिन्न समस्याका कारण अझै २०३ वटा स्थानीय तहमा वाणिज्य बैंक पुग्न नसकेको उनको भनाइ छ ।

भौगोलिक विकटता प्रमुख समस्या

भौगोलिक विकटताका कारण सबै स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेको प्रवक्ता पौडेलको भनाइ छ । असार मसान्तभित्रै सबै स्थानीय तहमा शाखा खोल्न राष्ट्र बैंकले दिएको निर्देशनअनुसार वाणिज्य बैंकहरु राजी भए पनि भौगोलिक विकटताका कारण सम्भव नभएको प्रवक्ता पौडेलले बताए ।

‘हामीले दिएको निर्देशनअनुसार शाखा खोल्न बैंकहरु हौसिएका थिए, तर कतिपय स्थानीय तहमा बैंक शाखा खोल्न आवश्यक पर्ने न्युनतम् पूर्वाधारसमेत नभएका कारण सम्भव भएन ।’- उनले भने ।

शाखा खोल्नका लागि अध्ययनका क्रममा कतिपय स्थानीय तहमा प्रहरी चौकी, सडक सञ्जालको अभाव त कतिपय स्थानीय तहमा शाखा खोल्नका लागि उपयुक्त घरसमेत भेट्न नसकेका कारण राष्ट्र बैंकको योजना पूरा हुन नसकेको उनको भनाइ छ ।

कहिले पुग्छन् सबै स्थानीय तहमा वाणिज्य बैंक ?

सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा यसै आर्थिक वर्षमा पुर्‍याउने राष्ट्र बैंकको योजना यो आर्थिक वर्ष विफल भएपछि अब कहिले पुग्छ भनेर एकिन मिति तोक्न नसकिने प्रवक्ता पौडेलले बताए ।

‘बैंक शाखा खोल्न धेरै ठाउँमा न्युनतम् भौतिक पूर्वाधार नभएको गुनासो बैंकहरुको छ’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘समय थप गर्नुपर्‍यो भन्ने माग आएको छ, हामी समय थप्छौं ।’

बैंकका शाखाहरु खोल्नलाई घरसमेत नभेटेका कारण अहिलेको अहिले नै शाखा खोल भनेर राष्ट्र बैंकले दबाव दिन नसक्ने उनको बताए । सरकारले स्थानीय तहमा न्यूनतम मात्रै भौतिक पूर्वाधारको व्यवस्था गर्ने हो भने तत्कालै वाणिज्य बैंक पुग्न समस्या नरहेको पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment