Comments Add Comment

राजदूत हुन स्नातक पास अनिवार्य ! अंग्रेजी जान्नैपर्ने

पराराष्ट्रमन्त्री भन्छन्- अब राजदूत नियुक्ति प्रक्रिया अगाडि बढ्छ


२५ असार, काठमाडौं । मुलुकको प्रतिनिधित्व गर्दै राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक हुनैपर्ने गरी सरकारले निर्देशिका पारित गरेको छ ।

आइतबार पारित भएको निर्देशिका अनुसार राजदूत हुन कम्तिमा स्नातक गरेको र अंग्रेजी भाषामा दख्खल हुनुपर्नेछ ।

यसअघि परराष्ट्र मन्त्रालयका सह-सचिवबाट राजदूत हुने बाहेक बाहिरबाट नियुक्ति पाउनेको शैक्षिक योग्यता अनिवार्य थिएन । जति कक्षा पढेको व्यक्ति पनि राजदूत हुन पाउने यसअघिको प्रावधान अब खारेज भएको छ ।

सरकारले पारित गरेको निर्देशिकाले राजदूत हुने व्यक्तिको शैक्षिक योग्यता, आचरण लगायतका मापदण्ड तोकिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

राजदूत हुने व्यक्तिका लागि एक दर्जन मापदण्ड बनाइएको छ । जुन देशको राजदूत बनाइने हो, त्यहाँका बारेमा न्यूनतम जानकारी राख्ने र विज्ञता हासिल भएको हुनुपर्नेछ । यसका साथै सो देशसँग निजी स्वार्थ गाँसिएको हुन नहुने निर्देशिकामा उल्लेख छ ।

विगतमा जुन देशमा म्यानपावर एजेन्सी चलाएको व्यक्ति हो, उसैलाई त्यहाँको राजदूत बनाएर पठाउने कामसमेत भएको थियो । अब त्यस्तो स्वार्थसँग जोडिएको व्यक्ति त्यस देशमा राजदूत बन्न नपाउने भएको छ ।

राजदूत नियुक्ति गर्दा सामान्यतः ५० प्रतिशत परराष्ट्रका कर्मचरीबाट र ५० प्रतिशत बाहिरबाट पठाइने मापदण्ड तय भएको छ ।

सरकारले पारित गरेको निर्देशिकामा राजदूत हुने व्यक्तिको पृष्ठभूमि र ट्रयाक रेकर्ड पनि हेरिने उल्लेख छ । कुनै पनि मुलुक वा नियोगको राजदुत खाली हुनुभन्दा तीन महिनाअघिबाटै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइने प्रावधान निर्देशिकामा रहेको मन्त्री ज्ञवालीले बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार ३ महिनाअघि नै सम्बद्ध मुलुकमा राजदुत बनाउने व्यक्तिको सूची तयार गरी प्रक्रिया अघि बढाउने प्रावधानका कारण अब त्यहाँ राजदूत खाली हुने अवस्था आउने छैन ।

अब राजदूत नियुक्ति प्रक्रिया चाँडै अगाडि बढ्छः पराराष्ट्रमन्त्री

नेपाल सरकारले छिमेकी भारत गायत चारवटा देशमा राजदूतहरु नियुक्त गर्न सकेको छैन । अघिल्लो सरकारले कतिपय देशमा विवादास्पद म्यानवापर व्यवसायीसमेतलाई नियुक्त गरेको हुनाले तिनीहरु पनि फिर्ता हुन सक्ने अनुमान गरिँदै आएको छ ।

ओली सरकारले अघिल्लो सरकारबाट नियुक्त सबै राजदूत फिर्ता बोलाउन सक्ने चर्चासमेत चलिरहेको छ ।

हाल संयुक्त राष्ट्रसंघसहित चार नियोगमा राजदूतहरु खाली छन् । भारत, मलेसिया र संयुक्त अरब इमिरेट्समा समेत राजदूतहरु खाली छन् ।

राजदूतहरु खाली रहेका ठाउँमा अब नयाँ मापदण्डअनुसार चाँडै राजदूत नियुक्ति प्रक्रियाअघि बढ्ने मन्त्री ज्ञवालीले बताए । अब परराष्ट्र मन्त्रालयले राजदूतका लागि उपयुक्त व्यक्तिहरुको सूची बनाएर मन्त्रिपरिषदमा पेश गर्ने र मन्त्रिपरिषदले राजदूत छनोट गर्ने परराष्ट्रमन्त्री ज्ञवाली बताउँछन् ।

मन्त्री ज्ञवालीका अनुसार अब यो मापदण्डले कूटनीतिक नियोगहरुमा उपयुक्त व्यक्तिको छनोट हुने र मुलुकको सही प्रतिनिधित्व सुनिश्चित बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment